समाज

भारतबाट फर्केकाहरू परीक्षण नगरि गाउँ-गाउँमा

गौरिफन्टा नाकामा आफ्नो घर जाने तयारीमा रहेका भारतबाट आएका नेपालीहरुः। तस्बिर: दिलबहादुर छत्याल

कोराेना संक्रमणको दोश्रो लहर व्यापक रुपमा फैलिएपछि भारतका बिभिन्न ठाउँबाट नेपालीहरु घर फर्किरहेका छन् । प्रत्येक दिन एक हजार भन्दा बढी जना सुदूरपश्चिमका कैलालीको गौरिफन्टा, कंचनपुरको गड्डाचौकी लगायतका नाकावाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन् । दोश्रो लहरको कोराेना संक्रमणले ताण्डव मच्चाईरहेको भारतका हटस्पोटबाट फर्केका नेपालीहरुको परीक्षण नगरि गाउँ-गाउँमा पठाउने गरिएको छ । 

भारतबाट फर्कनेहरुको नाकामा एन्टिजेन जाँच गरेर कोरोनाको संक्रमण पत्ता लगाउने भनिएपनि किटको अभावमा अधिकाशंको एन्टिजेन जाँच हुने गरेको छैन । बिहीबार भारतबाट सुदूरपश्चिममा १ हजार ६ सय जना फर्के । ती मध्य २ सय ३८ जनाको मात्र एन्टिजेन परीक्षण गरियो । अन्य १ हजार ३ सय ६२ जना कुनै परीक्षण नगरि घर गएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा सुदूरपश्चिमका कैलालीको गौरिफन्टा, कंचनपुृरको गड्डाचौकी लगायतका नाकाबाट  ८ हजार ९ सय २७ जना भारतका बिभिन्न ठाउँबाट सुदूरपश्चिम फर्केका छन् । ती मध्य आधाभन्दा बढी परीक्षण नगरि गाउँ-गाउँ पुगेका छन् । एक सातामा फर्केका मध्य ४ हजार ४ सय ३२ जनाको मात्र एन्टिजेन परीक्षण गरिएको छ । यिनिहरुको परीक्षण गर्दा ६ सय ४ जनामा कोरोना संक्रमण देखिएको थियो । कोराेना संक्रमण देखिएकालाई पनि होम आईसोलेसनमा बस्ने भन्दै घर पठाइएको छ ।

किट र जनशक्तिको अभाव

एन्टिजेन परीक्षण गर्ने किटको अभावले भारतबाट फर्केका सवैको एन्टिजेन परीक्षण हुन नसकेको बुझिएको छ । नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी गणेश साउँदले किट र जनशक्तिको अभावले भारतबाट फर्केका सवैको परीक्षण गर्न सम्भव नभएको बताएका छन् । एउटा समूहमा रहेका मध्य एक जनाको परीक्षण गर्ने गरेको उनले बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले किटको अभावले भारतबाट फर्केका सवैको एन्टिजेन परीक्षण नभईरहेको बताए । 

‘लक्षण भएका र हट स्पष्टबाट आएकाहरुको परीक्षण गर्ने गरिएको छ’, उनले भने,‘किटको अभावले सवैको परीक्षण हुन सकेको छैन ।’ निषेधाज्ञाका कारण सवारीसाधन नचलेकाले भारतबाट फर्केकाहरुलाई यातायात व्यवसायीसँग समन्वय गरेर बस लगायतका सवारीसाधनमा गाउँ गाउँ पुगाउने व्यवस्था गरिएको उनले बताए । यातायातको भाडा भने उनीहरुले आफैले दिनुपर्ने छ । निषेधाज्ञाको फाईदा उठाउदै दुई गुणा बढीसम्म भाडा यातायात व्यवसायीले लिने गरेको भारतबाट  फर्केकाहरुको गुनासो रहेको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाका प्रमुख नरेन्द्र सिंह कार्कीले किटको अभावले भारतबाट फर्केका सवैको एन्टिजेन परीक्षण गर्न समस्या भएको बताए । एन्टिजेन किट खरिदका लागि प्रक्रिया अघि बढाइएको उनको भनाई छ ।

बिभिन्न नयाँ प्रजातीका कोराेनाको संक्रमण फैलिरहेको भारतबाट फर्केकाहरु बिना परीक्षण गाउँ गाउँ जानाले संक्रमण समुदायमा फैलिने खतरा बढेको बिज्ञहरुले चिन्ता गरेका छन् । सेती प्रादेशिक अस्पातलका कोराेना उपचार बिभागका प्रमुख शेरबहादुर कमर भारतबाट फर्केकाहरुको परीक्षण गरेर संक्रमितलाई समुदायबाट अलग्याउन नसकेमा अवस्था जटिल बन्ने बताउँछन् । ‘कोराेना व्यापक रुपमा फैलिएको भारतबाट फर्केकाहरुको परीक्षण गरेर आईसोलेसनमा राख्न जरुरी छ’, उनले भने,‘भारतबाट फर्केकालाई सवारीसाधनमा समेत दूरी कायम हुने गरि व्यवस्था गरेर घर पठाईनु पर्छ ।’ भारतबाट ठूलो संख्यामा घर फर्किरहेकाहरुलाई परीक्षण बिनै श्वास्थ्यका मापडण्ड समेत नअपनाएर घर घर पठाउनुले जोखिम बढेको छ । 

जाँच गरेकामध्य कयौमा संक्रमण देखिएकाले परीक्षण नगरि घर गएकाहरुमा समेत कोराेनाको संक्रमण हुन सक्ने भएकाले समुदायमा भारतमा देखिएका नयाँ भेरियन्टको कोराेनाको संक्रमण फैलिने खतरा रहेको भन्दै बिज्ञहरुले चिन्ता गरेका छन् । बिज्ञ तथा वरिष्ठ फिजिसियन डा.शुभेस कायस्थ धेरै लापरबाही भएकाले कोराेना संक्रमण फैलिएर थेग्न नै नसक्ने गरि जटिल अवस्था उत्पन्न हुने खतरा बढेको बताउँछन् । भारतबाट फर्केकाहरुलाई परीक्षण गर्न नसकेमा सवैलाई १४ दिन क्वारेन्टाईनमा राखिनुपर्ने उनको भनाई छ । भित्र भित्रै फैलिरहेकाले कन्ट्रयाक्ट ट्रेसिङ, परीक्षण र आईसोलेसनमा ध्यान नदिइएकोले दुई सातामै ४ गुणा भन्दा बढी अस्पातलमा भर्ना गरेर उपचार गर्नुपर्ने संक्रमितको संख्या बढ्ने उनी बताउँछन् ।

पछिल्लो दुईसाता यता सुदूरपश्चिममा संक्रमण र मृत्युदर एक्कासी बढेको छ । पछिल्लो दुई दिनमा मात्र १७ जनाको कोराेना संक्रमणले ज्यान गएको छ । कोराेनाको संक्रमण भुसको आगो जस्तै भित्र भित्रै फैलिरहेपनि परीक्षण भने न्युन हुने गरेको छ । दिनमा ५, ६ सय जनाको मात्र पिसिआर परीक्षण हुने गरेको तथ्यांक छ । परीक्षण भएकामा आधाभन्दा बढी संक्रमित देखिने गरेका छन् । सुदूरपश्चिममा शुक्रबारसम्म १४ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।  

प्रकाशित: १७ वैशाख २०७८ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App