समाज

हलेसी मन्दिर १५ दिनका लागि बन्द

त्रि–धार्मिकस्थल हलेसी गुफा। तस्बिर: दमन राई/नागरिक

कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिरलाई १५ दिनका लागि बन्द गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको बैसाख १३ गते बसेको बैठकको निर्णय अनुसार बुधबारदेखि हलेसी मन्दिर गुफा बैसाख मसान्तसम्मका लागि बन्द गरिएको हो।  

दैनिकजसो दर्शनार्थीको भीड लाग्ने हलेसी गुफा प्रवेश गर्ने गेटमा हलेसी महादेवस्थान बिकास समिति र हलेसी मन्दिर व्यवस्थापन समितिले ताला हालेको छ। दैनिक बिहान र बेलुका हुँदैआएको नित्य-नैत्य पूजालाई भने निरन्तरता दिने गरी हलेसी मन्दिरको गेटमा ताला हालिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।  

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा उपस्थित हुने दर्शनार्थी एवं तिर्थयात्रीको भीडभाडका कारण एक अर्कामा कोभिड–१९ को संक्रमण फैलने खतरा बढेकाले हलेसी मन्दिर बन्द गरिएको हो। बिहान र बेलुकाको नित्य-नैत्य पूजाका क्रममा पुजारी र बाजा बजाउने नगर्ची मात्र हलेसी मन्दिर प्रवेश गर्न पाउने छन्। यसबिचमा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तिर्थयात्रीले गेट बाहिरबाटै दर्शन र पुजाआजा गर्नुपर्ने छ। 

कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पु¥याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो दोश्रो पल्ट हो। हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीलाई कोभिड–१९ कै महामारी रोकथाम तथा न्यूनीकरणका लागि २०७७ साल चैत ८ गतेदेखि २०७७ साल मंसिर १६ गतेसम्म बन्द गरिएको थियो। गत वर्ष पनि कोरोना कहरकाबिचमा हलेसीका गुफाको गेटमा ताला लगाएर बाहिरैबाट पुजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । कोभिड–१९ को महामारीका क्रममा बन्द गर्नु अगाडि हलेसी गुफा कहिल्यै बन्द गरिएको थिएन।  

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)का अनुसार हलेसी सँगै जिल्लाका सबै मठ, मन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चमा दैनिकरुपमा गरिने नित्य नैनित्य पूजा, प्रार्थना बाहेक भेला भएर गरिने पूजा, प्रार्थना, भजनकृतन, कलश यात्रा, बलिपुजा जस्ता धार्मिक कार्यहरु बैसाख मसान्तसम्म बन्द गरिएको छ।

प्रकाशित: १५ वैशाख २०७८ ०५:५७ बुधबार

हलेसी मन्दिर बन्द