समाज

नवौं प्रधानन्यायाधीश सिंहको निधन

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको छ। सर्वोच्चका नवौं प्रधानन्यायाधीशको ८९ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको थियो। उनको निधनपछि बुधवार सर्वोच्च अदालतमा आकस्मिक वैठक बसेको थियो। वैठकले बिहिबार देशभरका अदालत बन्द गर्ने निर्णय गरेको छ।  

सर्लाहीमा जन्मेका सिंह सेवामा रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता स्थापित गर्न योगदान पुर्‍याएको सर्वोच्च अदालतले जनाएको छ। उनी १९८८ साल फागुन ३ मा जन्मेका थिए। संविधान र कानुनमा दख्खल राख्ने निर्भीक, सरल, विवेकशील, मृदुभाषी, न्यायिक व्यक्तित्व स्वर्गी सिंह आदर्श व्यक्ति रहेको सर्वोच्चले विज्ञप्तिमार्फत बताएको छ।  

उनले २०१० सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए। २०५२ असोज १० मा प्रधानन्यायाधीश नियुक्त भई २०५३ फागुन ३ सम्म काम गरेका थिए। सिंहको निधनमा शोक मनाउन फागुन २० मा देशभरका अदालतमा शोक बिदाको रूपमा बन्द रहने सर्वोच्चको बुधबार बसेको आकस्मिक बैठकले निर्णय गरेको छ।

प्रकाशित: २० फाल्गुन २०७७ ०२:१९ बिहीबार

नवौं प्रधानन्यायाधीश सिंह सर्वोच्च अदालत