समाज

अपहरित अढाई वर्षे बालकको भारतबाट उद्वार

उद्वारपछि आमा संगीताको काँखमा अढाई वर्षे बालक प्रियान्सु यादव । तस्बिरः मिथिलेश यादव/नागरिक

घरको आँगनमा खेलिरहेका बेला अपहरित अढाइ वर्षे बालकलाई आफन्तजनले भारतबाट उद्वार गरेका छन्। बालक प्रियान्सु यादवलाई आफन्तजनले बिहीबार भारत बिहारको खाजेडिहबाट उद्वार गरी घर ल्याएका छन्।

सिराहा नगरपालिका–१ निवासी प्रदीप यादवको अढाई वर्षीय छोरा ईशान्त भन्ने प्रियान्सु यादव मंगलबार साँझ घरबाटै अपहरित भएका थिए। अपहरणलगत्तै परिवारजनले नजिकको प्रहरीमा जानकारी गराई खोजीमा जुटेका थिए।  

बालकका काका कुलदीप यादवका अनुसार भारतको खाजेडीबाट उद्वार गरेर ल्याइएको हो। 'अपहरण भएदेखि नै हामी खोजीमा जुटेका थियौं उनले भने, खोजीकै क्रममा हामीले त्यहाँबाट फेला पार्यौ ।’ खाजेडिहबाट नेपाल भारत सीमा क्षेत्र आइपुगेपछि सिरहा प्रहरीलाई खबर गरेको उनले बताए। सिरहा प्रहरीले सिरहा नगरपालिका–२० लगड़ीगोठबाट हामीलाई जिल्ला प्रहरी कार्यालय सिरहासम्म ल्याएको कुलदीपले बताए।  

यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएपी शालीग्राम शर्मा पौडेलले सिरहा प्रहरीबाट खटि गएको टोलीले भारत मधुवनी जिल्लाको खाजेडिहबाट फेला पारी आमा संगीतालाई जिम्मा लगाएको दावी गरेका छन्। घटनाबारे उनले विस्तृत खुलाएनन्।

सुरक्षाको भरपर्दो बन्दोबस्त भैदिएको भए सिरहाका अढाई वर्षे बालकलाई घरबाटै अपहरण गर्ने आँट अपराधिमा पलाउँदैन्थ्यो। बालकका बुवा प्रदीप यादव सात वर्षदेखि रोजगारका लागि कतारमा छन्। पछिल्लो पटक उनी माघ २ गते कताार गएको परिवारजनले बताए। कोरोना महामारीका कारण उनी घर फर्केका थिए। घरमा बालकको हजुर आमा गुलाबदेवी, हजुरबुवा उतिमलाल आमा संगीता बस्दै आएका छन्। समान्य परिवारका उनीहरुको जीविका वैदेशिक रोजगारमा रहेका प्रदीपको कमाइमा अडिएको छ। कमाएर खाने यो परिवारले कसैसँग रिसिइवी नभएको बताउँछन्।  

अपराधमा अब्बल सिरहा

अपहरण अपराधमा मात्र नभई समग्र अपराधको तथ्यांक केलाउँदा सिरहा जिल्ला प्रदेश २ मै सबैभन्दा असुरक्षित छ। अपराधको तथ्यांकअनुसार प्रदेश २ मै सबैभन्दा बढी अपराध घट्ने जिल्लामा दर्ज छ, सिरहा।  

प्रदेश–२ को प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ४१ महिना (आव ०७४/७५ देखि मंसिर मसान्तसम्म) मा यस प्रदेशका आठ जिल्लामा तीन सय ७६ जनाको हत्या भएको छ। जसमा अधिकांश सीमान्तकृत समुदायका छन्। यही अवधिमा नौ सय २८ महिला तथा बालिका बलात्कृत भएका छन्। ४१ महिनाको अपराध तथ्यांकमा प्रदेश–२ का आठ जिल्लामध्ये सबैभन्दा असुरक्षित सिरहा देखिएको छ।

अपराधका घटनामा बढोत्तरी भएपछि प्रदेश प्रहरी कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्मले सादा पोसाकका प्रहरी ‘घुमुवा’ परिचालन गरेको छ। अपराधका घटना हुन पूर्वको सूचना संकलन तथा अपराधिक व्यतिmको गतिविधि निगरानी गर्न खटाइएका भनिएका ‘घुमुवाहरु’ सीमामा हुने तस्करीमा लिप्त भएको स्थानीयको गुनासो छ। सुरक्षा व्यवस्था दुरुस्त पार्नमा भएको कमजोरीको लाभ अपराधिक समूहले उठाइरहेको छ सिरहाका स्थानीयरु बताउँछन्। यद्यपी प्रहरी अधिकारीले सुरक्षा व्यवस्था मजबुत र चुस्त रहेको दाबी दोहर्‍याउँदै छन्।

प्रकाशित: २३ माघ २०७७ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App