समाज

तमू ल्होछार : फाँसो फाल्ने, स्यो कैँ खान

किंवदन्तीअनुसार गुरुङ जाति नौ महागुरु (पुरुष) र सात माङी (महिला अर्थात् आमा)का सन्तान हुन्। त्यसैले ल्होछारमा फाँसो फाल्ने काम सम्पन्न भएपछि तमू खेगीहरूले पुरुषलाई नौ र महिलालाई सातवटा गाँठो (सरा) भएको रखे डोरी (रिपा) लगाइदिन्छन्। रिपा बनाउन काँचो धागो प्रयोग गरिन्छ। तेल–बेसार दलेर रिपा बनाइन्छ। रिपा लगाइसकेपछि बल्ल ल्होछारको रमाइलो गर्ने परम्परा अर्थात् रमझम सुरु हुन्छ।

गुरुङ समुदायको मान्यतामा १४ पुसको रात सबैभन्दा लामो र चिसो हो। यस रात भँगेरो पनि तीनपटक मुर्छा पर्छ भनिन्छ। १५ पुससँगै दिन लामो हुँदै जान्छ। धर्तीमा नयाँ बोट–बिरुवा उम्रन थाल्छन्। वर्षको सबैभन्दा छोटो दिनको अन्त्य र लामो तथा न्यानो दिन आगमनको खुसियालीमा नयाँ वर्ष मनाउने परम्परा बस्यो। अन्ततः यही परम्परा नै ल्होछार अर्थात् नयाँ वर्ष हो। र, यो नै ल्होछारबारे अहिलेसम्मको सर्वस्वीकार्य मान्यता र परिभाषा हो।

काठमाडौंमा दुई दशकभन्दा लामो समयदेखि सार्वजनिक स्थानमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर ‘तमू ल्होछार’ मनाउने गरिएको छ। डेढ दशकदेखि त राजधानीको केन्द्रमा रहेको टुँडिखेलमै भव्य रूपमा तमू ल्होछार मनाइन्छ। प्रायः तमू ल्होछारमा प्रधानमन्त्रीलाई नै प्रमुख अतिथिका रूपमा निम्ता गरिएको छ। गत वर्ष भने काठमाडौंका तमू समुदायले ल्होछार पर्वको प्रमुख अतिथिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गरेका थिए।

अहिले विश्वव्यापी महामारीका रूपमा रहेको कोभिड–१९ को संक्रमण फैलन नदिन संसारभर ठूला भेला, सभा, सम्मेलन बन्द गरिएका छन्। नेपालमा पनि ठूलो संख्यामा भेला भएर गरिँदै, मनाइँदै आएका त्यस्ता चाडपर्व तथा कार्यक्रम प्रभावित बनेका छन्। त्यसैले यसपटक तमू ल्होछार औपचारिक तर सानो जमघटमा मनाइँदै छ। गुरुङ समुदायको केन्द्रीय तथा छाता संगठन ‘तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्’ले तीन दिनसम्म आ–आफ्नो घरमै दीपावली गरेर ठूलो जमघट नगरी ल्होछार मनाउन सर्कुलर जारी गरेको छ।

नेपालमा ल्होछार मान्ने फरक–फरक जातिले तीन फरक–फरक समय फरक नाममा ल्होछार मनाउँछन्। कतिले यसलाई ‘ल्होसार’ पनि भन्छन्। गुरुङ जातिले १५ पुसमा ल्होछार मनाउँछन्। यसलाई शास्त्रीय भाषामा ‘तोला ल्होछार’ भनिन्छ। ‘तमू’ पनि भनेर चिनिने गुरुङ जातिले मात्र मनाउने हुँदा १५ पुसको ल्होछारलाई केही वर्षयता तोला ल्होछारभन्दा पनि तमू ल्होछारकै नामले पुकारिन्छ र चिनिन्छ। तामाङ जातिले माघ शुक्लपक्ष प्रतिपदाका दिन ल्होछार मनाउँछन्। त्यसलाई सोनाम ल्होछार भनिन्छ भने फागुन शुक्लपक्ष प्रतिपदाका दिन शेर्पा जातिले मनाउने ल्होछारलाई ग्याल्बो ल्होछार भनिन्छ। यद्यपि नेपालमा ल्होछार मनाउने सबैले यसलाई नयाँ वर्षकै रूपमा मनाउँछन्।

ल्होछारसम्बन्धी किंवदन्ती

नेपालमा ल्होछार मान्ने वा मनाउने समुदाय प्रायः बौद्ध धर्मावलम्बी वा बौद्ध धर्मप्रति आस्था राख्छन्। त्यसैले ल्होछारबारे बौद्ध धर्मसँग सम्बन्धित किंवदन्ती पनि जोडिएको छ। जसअनुसार भगवान् गौतम बुद्धले आफू महापरिनिर्वाण हुने बेला विभिन्न पशुपन्छीलाई बोलाए। बुद्धलाई भेट्न १२ वटा विभिन्न पशु तथा पन्छी पुगे। त्यसरी बुद्धलाई भेट्न गएका सबै पशुपन्छीलाई एक–एक वर्ष सम्मान गर्ने परम्पराको थालनी भयो। ल्होछारको वर्गचक्रमा रहेका १२ विभिन्न पशुपन्छी नै महापरिनिर्वाणको समयमा बुद्धलाई भेट्न पुगेका पशुपन्छी हुन्।

बौद्ध धर्मसँग जोडिएको यो किंवदन्ती तामाङ समुदायमा बढी प्रचलित छ। १४ पुसको रात सबैभन्दा लामो हो भन्ने मान्यता गुरुङ समुदायको हो। जुन वैज्ञानिक तथ्य (वर्षकै सबैभन्दा लामो रात २२ डिसेम्बर)सँग धेरै नजिक छ। त्यस्तै, तामाङ जातिले मनाउने ‘सोनाम ल्होछार’लाई कृषकको ल्होछार र शेर्पाले मनाउने ‘ग्याल्बो ल्होछार’लाई राजाको ल्होछार पनि भनिन्छ। सोनाम ल्होछार र ग्याल्बो ल्होछार चाहिँ अधिक वर्षको समयमा सँगै पर्छ। ग्याल्बो ल्होछार पनि सोनाम ल्होछारकै दिन मनाइन्छ।

ल्होछार र खगोलशास्त्र

ल्होछारमा विभिन्न १२ वटा ल्हो (वर्ग) हुन्छन्– मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग। यी पशुपन्छी तमू ल्होको वर्गचक्रमा हुन्छ। तामाङ र शेर्पाको वर्गचक्रमा गाईको सट्टा गोरु, गरुडको सट्टा गिद्ध वा ड्रागन तथा मृगको सट्टा सुँगुर हुन्छ। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डा. जगमान गुरुङको भनाइअनुसार वर्ग चक्रमा रहेका पशुपन्छीमा थोरै भिन्नता देखिनु गुरुङ जातिमा हिन्दुकरणको प्रभाव हो। हिन्दुले गाईलाई माता मानेका छन् भने गुरुङ जातिमा सँुगुर छुन वा सुँगुरको मासु खान वर्जित छ।

पूर्वीय दर्शन तथा हिन्दु परम्परामा राशिफल हुन्छ भने पश्चिमा परम्परामा पनि ‘जोडियक साइन’ (राशिफल) हुन्छ। हिन्दु परम्परामा नामको पहिलो अक्षरका आधारमा राशिफल निर्धारण हुन्छ भने पश्चिमा परम्परामा जन्मेको महिनाका आधारमा ‘जोडियक साइन’ निर्धारण हुन्छ। हिन्दु परम्पराको राशिफल र पश्चिमा परम्पराको ‘जोडियक साइन’ दुवै १२ वटै हुन्छन्। त्यसमा उल्लेख हुने चित्र पनि करिब मिल्दोजुल्दो छ। यता ल्होछारको वर्गचक्रका चित्र पनि करिब–करिब मिल्दोजुल्दो नै हुन्छ। संस्कृतिविद् गुरुङको भनाइअनुसार राशिफल, ‘जोडियक साइन’ वा ल्होछारको वर्गचक्रका चित्र आकाशमा देखिने ताराहरूको विशेष समूह (नक्षत्र) हुन्। जसको पृथ्वीमा कुनै न कुनै प्रकारको प्रभाव परेको हुन्छ।

वर्ष गणना र वर्ग चरित्र

ल्होछार मनाउने सबै समुदायले यस वर्ष मुसा ल्होलाई बिदाइ गरेर गाई/गोरु ल्होलाई स्वागत गर्दै छन्। ल्हो मान्ने समुदायको वर्ष गणना पनि ल्होअनुसार नै हुन्छ। हरेक १२ वर्षमा ल्होको एक चक्र पूरा हुन्छ र दोहोरिन्छ। आगामी १४ पुससम्म जन्मिएकाहरूको ल्हो मुसा हुन्छ भने त्यसपछि अर्को एक वर्षभर जन्मिएकाको ल्हो गाई हुन्छ। हिन्दु परम्परामा मेष राशिलाई पहिलो राशि मानिएजस्तै ल्होछारको वर्गचक्रमा सुरुवाती वर्ग मुसालाई मानिएको छ। त्यसैले सामान्यतः ल्हो गणना गर्दा सुरुमा मुसा ल्होबाट गन्ने चलन छ।  

हिन्दु परम्परा र आस्थाअनुसार राशिको प्रभाव मानिसको स्वभावमा पर्ने बताइन्छ। ल्होको वर्ग र वर्ग चरित्रको पनि यसरी नै विश्लेषण गरिएको हुन्छ। कुनै पनि व्यक्तिको स्वभाव तथा आनीबानीमा वर्गको प्रभाव हुने बताइन्छ। त्यसैले बाघ र बिरालो, कुकुर र बिरालो, गरुड र सर्प वर्ग भएकाहरूका बीचमा सकेसम्म वैवाहिक सम्बन्ध कायम गरिँदैन।

ल्होछार भोटेको चाड

ल्होछार नेपालमा गुरुङ, तामाङ, शेर्पा, ह्याल्मो, थकाली लगायत जातिले मनाउँछन्। ल्होछार चीनको स्वशासित क्षेत्र तिब्बतमा अझ बढी धुमधामका साथ मनाइन्छ। त्यस्तै, चीन र चिनियाँहरू पुगेको संसारका विभिन्न मुलुकमा पनि चिनियाँ नयाँ वर्षका रूपमा ल्होछार भव्य रूपमा मनाइन्छ।  

त्यसैगरी मंगोलिया, भियतनाम, कोरिया, भुटान, थाइल्यान्ड, बर्मालगायत देशमा पनि ल्होछार पर्व मनाइन्छ। ल्होछारलाई पुकार्ने नाममा भने विविधता भेटिन्छ।

गुरुङ जातिको पुख्र्यौली इतिहास तथा बसाइँ–सराइमा विद्यावारिधि गरेका डा. टेक गुरुङका अनुसार, गुरुङ जातिको पुर्खा हजारौँ वर्षअघि चीनको नासि–यि करिडोर हुँदै तिब्बतबाट नेपालको भूमिमा प्रवेश गरेका हुन्। गुरुङ जातिको वेद अर्थात् शास्त्र ‘प्ये’मा पनि गुरुङ जाति उत्तरबाट आएको उल्लेख छ। नेपालमा ल्होछार मान्ने सबै जातिको बसाइँ–सराइ नेपालको भूमिमा उत्तरबाटै भएको करिब–करिब स्पष्ट छ। हाम्रो सामान्य बुझाइमा तिब्बत अर्थात् उत्तर हिमालपारि भनेको भोट हो। त्यसैले ल्होछारलाई कहीँ–कहीँ भोटेको चाड भनेर पनि उल्लेख गरेको पाइन्छ।

फाँसो फाल्ने विधि

१५ पुस नयाँ वर्षको पहिलो दिन हो। त्यसैले १५ पुसको दिन आपसमा शुभकामना साटासाट गर्ने, आफन्तजनसँग भेटघाट गर्ने, मीठो–मसिनो खाने गरिन्छ। यो सामान्य परम्परा र प्रक्रिया हो। १४ पुसको रातलाई अघिल्लो र पछिल्लो कुनै पनि दिनमा गणना गरिँदैन। त्यसैले १४ पुसको राति जन्मिएका बच्चाको ल्हो चमेरो राख्ने पनि चलन छ। चमेरो अर्थात् न पशु, न पन्छी। आजकल भने मध्यरातअघि र पछिको समयअनुसार ल्हो राख्ने चलन छ।

ल्होछारको मौलिक परम्पराको कुरा गर्दा शास्त्रीय कार्य अर्थात् गुरुङ पुरोहित (तमू खेगी)हरूले गर्ने मुख्य कार्य १४ पुुसको राति हुन्छ। १४ पुसको मध्यरातमा फाँसो फाल्ने (दोष मन्साउने वा पन्छाउने) काम हुन्छ। यो कार्य तमू खेगीले गर्छन्। यसका लागि कोदोको पिठो ठिक्क तातो पानी हालेर मुछिन्छ। कहीँ कहीँ ढिँडो पकाएकै रूपमा पकाउने चलन छ। त्यो ढिँडोको डल्लोबाट १२ वटै ल्होको प्रतिमूर्ति अर्थात् कैँदु बनाइन्छ। ती कैँदुलाई मान्द्रो वा भकारीको टुक्रामा राखिन्छ। यसलाई फा अर्थात् दोष भनिन्छ। नजिकै एउटा पाथीमा कोदो भरेर त्यसमाथि पनि अर्को कैँदु राखिन्छ, जसलाई रक्षक कैँदु भनिन्छ।

मध्यरात हुनै लाग्दा तमू खेगीहरू पच्यु, क्लेब्री लगायतले फाँसो फाल्ने मन्त्र भन्न थाल्छन्, यो मन्त्र मुखाग्र हुन्छ। त्यसैले गुरुङ जातिको वेद (प्ये)लाई थुतरी अर्थात् थुतुना (मुखमै कण्ठ भएको) वेद पनि भन्ने गरिन्छ। यद्यपि आजकल लेख्य रूपमा पाइन थालेको छ। फाँसो मन्त्र पढिसकेपछि कैँदु राखिएको मान्द्रो वा भकारीको टुक्रालाई धकेलिन्छ। त्यस क्रममा कैँदुहरू दायाँ–बाँया ढल्छन्। कैँदु त्यसरी ढल्दा कुन दिशातिर वा कुन कैँदु भएकोतिर ढलेको छ, सोही आधारमा आउने वर्ष कुन वर्गलाई शुभ वा अशुभ छ हेर्ने गरिन्छ।

गुरुङ जातिको उत्पत्तिको किंवदन्तीअनुसार गुरुङ जाति नौ महागुरु (पुरुष) र सात माङी (महिला अर्थात् आमा)का सन्तान हुन्। त्यसैले ल्होछारमा फाँसो फाल्ने काम सम्पन्न भएपछि तमू खेगीहरूले पुरुषलाई नौ र महिलालाई सातवटा गाँठो (सरा) भएको रखे डोरी (रिपा) लगाइदिन्छन्। रिपा बनाउन काँचो धागो प्रयोग गरिन्छ। तेल–बेसार दलेर रिपा बनाइन्छ। रिपा लगाइसकेपछि बल्ल ल्होछारको रमाइलो गर्ने परम्परा अर्थात् रमझम सुरु हुन्छ।

ल्होछारको अर्को महत्वपूर्ण परम्परा स्यो कैँ (उठाएको भात) खानु हो। ल्होछारको दिन घर–घरबाट चामल, दाल संकलन गरेर युवायुवतीले घरबाहिर वननजिकै गएर वनभोज खान्छन्। सामान्यतः स्यो कैँ खाँदा घरबाट संकलन सामग्री केटीहरूले र बजारबाट किन्नुपर्ने सामान केटाहरूले ल्याउने चलन छ। यस्तो खालको वनभोज अन्य समयमा पनि खाने चलन छ। तर ल्होछारमा खानेलाई मात्र स्यो कैँ भनिन्छ, जुन मौलिक परम्परा हो। आजकल स्यो कैँ खाने चलन यदाकदा मात्र पाइन्छ।

ल्होछार र अधिकार प्राप्तिको आन्दोलन  

पछिल्लो समय विश्वभर नै चाडपर्व वा यस्ता विशेष समारोहलाई अधिकार प्राप्तिको आन्दोलन वा सचेतनासँग जोड्ने गरेको पाइन्छ। नेपालमा पनि खासगरी ०४६ सालमा आएको राजनीतिक परिवर्तनपछि ल्होछारलाई गुरुङ समुदायले कहीँ न कहीँ अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको पाइन्छ। प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका नेतालाई निम्ता गरेर सामूहिक ल्होछार मनाउनुको पछाडि पनि यही उद्देश्य लुकेको छ। अधिकार प्राप्तिका लागि दबाब दिँदै सामूहिक ल्होछार मनाउँदै जाँदा ०५८ सालमा तत्कालीन सरकारले १५ पुसमा गुरुङ जातिलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

०६२/६३ को जनआन्दोलनपछि नेपालका सबैजसो प्रमुख जातिको चाडपर्वमा सरकारले सार्वजनिक बिदा दिन थाल्यो। तर, देश संघीयतामा गएर प्रदेश सरकार गठन भएसँगै सरकारले अधिकांश जातिको पर्वमा दिँदै आएको त्यस्तो सार्वजनिक बिदा कटौती गरेको छ। जसका कारण ती जाति आन्दोलित छन्। गुरुङ जाति पनि आन्दोलित छ। गत वर्ष विभिन्न जिल्लाका प्रशासन कार्यालय घेराऊदेखि राजधानीमा माइतीघर मण्डलामा धर्नासमेत गरिएको थियो, यस वर्ष भने कोभिड–१९ का कारण औपचारिक रूपमा आन्दोलनका कुनै पनि कार्यक्रम घोषणा गरिएको छैन। स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएसँगै गत वर्षदेखि केही स्थानीय तहले सम्बन्धित पालिका क्षेत्रमा स्थानीय पर्वको सार्वजनिक बिदा दिन थालेका छन्। यसरी ल्होछारमा पनि तीन दिनसम्म सार्वजनिक बिदा दिइएको पाइएको थियो।

प्रकाशित: ११ पुस २०७७ ०२:५४ शनिबार

संस्कृति तमू ल्होछार