समाज

उदयपुरका ७२ अव्यवस्थित परिवारले ४० वर्षपछि पाए लालपुर्जा

लालपुर्जा पाएपछि किसान जोडी । तस्बिरः महेश्वर नागरिक

उदयपुरमा गाउँ ब्लकको जग्गाको धनीपुर्जा (लालपुर्जा) वितरण सुरु भएको छ। स्थानीयले वर्षौंदेखि  चासभोग गर्दै आए पनि आधिकारिक कागजात नभएका गाउँ ब्लकका जमिनको लालपुर्जा वितरण गरिएको हो।  

सदरमुकाम गाईघाटमा शुक्रबार त्यस्ता ७२ परिवार किसानले लालपुर्जा पाएका छन्। त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित १ नं. नापी टोलीले पुर्जा वितरण त्रियुगा नगरपालिका ५ देउरीका ७२ घर परिवारलाई जग्गाको पुर्जा वितरण गरेको हो। राष्ट्रिय भूमि अधिकार मञ्चले गर्दै आएको लामो समयदेखिको संघर्षपछि वास्तविक किसानले जग्गाको लालपुर्जा पाएको जनाएको छ। मञ्चका उदयपुर संयोजक फुर्तिमान राईले विगत २०२८ सालदेखि बसोवास गर्दै आएका देउरीबासलाई पुर्जा वितरण गरिएको बताए।

चासभोग गर्दै आएको झण्डै ४० वर्षपछि पुर्जाविहीन किसानले जग्गाको आधिकारिक प्रमाण पाएकोमा उनले खुसी व्यक्त गरे। राईका अनुसार ०६५ सालदेखि गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण गर्नका लागि मञ्चले निरन्तर संघर्ष गर्दै आएको परिणाम स्वरुप किसानले पुर्जा पाएका हुन्। किसानलाई पुर्जा दिलाउने एक खालको उद्देश्य मञ्चले पुरा गरेको भन्दै संयोजक राईले थप उद्देश्य प्राप्तीका लागि किसानलाई एकीकृत गर्दै मञ्चले ठाउँठाउँमा अभियान चलाईरहेको बताए।  

वर्षौंदेखि भोगचास गर्दै आएको जमिनको लालपुर्जा पाएकोमा किसानहरु खुसी भएका छन्। ३–४ दशकदेखि घर बनाएर बस्दै आएका उनीहरुलाई अव्यवस्थित बसोवासी भन्दै राज्यले पुर्जाविहीन नागरिक बनाएर राखेको पीडा अन्त्य भएकोमा उनीहरु खुसी हुनु स्वभाविक भएको मञ्चका अध्यक्ष वीरबहादुर तामाङले बताए।  

हाल जिल्लाका त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा पुर्जा वितरण कार्यक्रम भईरहेको जनाइएको छ। यी नगरपालिकामा वितरण भईसकेपछि कटारी नगरपालिकामा पनि पुर्जा वितरण गर्ने कार्यक्रम रहेको संयोजक राईले बताए। पुरोनो बसोवासको रुपमा रहेको गाउँ ब्लक जग्गाको पुर्जा दिलाउन मञ्चले धेरै पटक चरणबद्ध संघर्ष गर्दै आएको छ। संघर्षकै परिणामस्वरुप किसानले पुर्जा पाएको उनले बताए।  

पुर्जा प्राप्त गरेपछि कानुनी रुपमा किनबेच, बैंकमा धितो राखेर उद्यम व्यवसाय र व्यापार गर्नलगायत धेरै कुरामा किसानलाई सहज हुने स्थानीयको भनाइ छ। घर, जग्गा छ तर, लालपुर्जा नहुँदा केही गर्न नपाउने समस्या अव सदाका लागि अन्त्य भएको भन्दै स्थानीयले मञ्चलाई धन्यवाद दिएका छन्।

प्रकाशित: २० मंसिर २०७७ ०८:४३ शनिबार

किसान जग्गाको धनीपुर्जा आधिकारिक प्रमाण