नेपालगञ्जकी एक १८ वर्षीया किशोरी ९जो नाम उल्लेख गर्न चाहन्ननले एक केटा साथीलाई मन पराउँथिन्, निकै माया गर्थिन् । चार–पाँच महिनाअघि त्यस केटा साथीसँग ब्रेकअप भयो । अहिले उनी मानसिक रूपमा विक्षिप्त छिन् । घरीघरी उनीमा बाँच्न मन नलाग्ने विचार आउँथ्यो । त्यस्तो बेला उनले चक्कुले हात समेत काट्थिन् ।
अर्की १९ वर्षीया किशोरीको समस्या केही फरक छ । सानो छँदा घरमा बाबुआमाको निकै झगडा परेका बेला उनी डराउँथिन् । जब बाउआमा झगडा गर्न थाल्थे, उनी घरबाहिर गइहाल्थिन् । एकदिन घरमा झगडा हुन थालेपछि उनी बाहिर निस्केर बाटो छेउमा बसेकी थिइन् । एकजना छिमेकीले फकाएर उनलाई काखमा लिए । त्यतिबेला उनी ८–९ वर्षकी थिइन् । ती छिमेकीले दिनदिनै फकाइफुलाई काखमा लिएर यौन दुव्यर्वहार गर्न थाले । त्यसबेला यौन दुव्यर्वहारबारे उनलाई थाहा थिएन । जतिबेला सबै कुरा बुझ्न सक्ने भइन्, पुराना घटना सम्झरे उनलाई गाह्रो हुन थाल्यो । अझै पनि उनलाई आत्मसम्मान गुमेको महसुस भइरहन्छ ।
अर्का २० वर्षीया किशोरको कथा पनि मानसिक स्वास्थ्यसँग सम्बन्धित छ । स्कुलमा उनले निकै राम्रो अंक ल्याउँथे । बिस्तारै पढाइ बिग्रँदै जान थाल्यो । चुरोट–गाँजा खान थाले । घरमा सधैँ झगडा हुन थाल्यो । परिवारले जागिर नखाने, पैसा नकमाउने भन्दै गाली गर्न थाले । यो कुराले उनलाई झनै कुलतमा फसाउन सघायो । उनले एउटी केटी साथीलाई मन पराउँथे । तर आफूले मन पराउने कुरा भन्न सकेनन्, निकै आत्तिन थाले । त्यसपछि उनलाई आफैँलाई नोक्सान पु¥याउन र मर्न मन लाग्न थाल्यो । ‘साथीहरू विदेश गइसके, पैसा कमाइसके । धेरैले पढाइमा प्रगति गरे भन्ने सोच्दा मलाई बाँच्न मन लाग्दैन,’ उनी भन्छन् । अहिले उनी काउन्सिलिङमा छन् ।
अर्की काठमाडौं चावहिलकी १९ वर्षीया किशोरीलाई आमाबुबाको दबाबले चिन्तित बनाउँछ । ‘अरुको छोराछोरी यस्ता छन्, तँ यस्तो’ भन्ने कुराले उनलाई सहनै नसक्ने गरी रिस उठ्छ । कहिलेकाहीँ उनलाई सासै फेर्न गाह्रो हुन्छ । उनी साथीहरूसँग पनि मिल्न सक्दिनन् । कसैसँग बोल्न मन लाग्दैन । मरे पनि हुन्थ्यो भन्ने विचार आउँछ । जति राम्रो कुरा सोच्छु भने पनि उनलाई दिक्क लाग्छ ।
०००
‘हाम्रो पालो’ र ‘पाइला अर्गनाइजेसन’को सहकार्यमा गरिएको मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभियानअन्तर्गत विद्युतीय कार्यक्रममा केही किशोरकिशोरीले आफ्ना समस्या सुनाए । कतिले त सानो जस्तो देखिने समस्यामा पनि डरलाग्दो कुरा गरे ।
वयस्कमा एक्लै बोल्ने, बर्बराउने, नभएको आवाज सुन्ने, नभएका चिज, व्यक्ति देख्ने, निराश र बेखुसी हुने, चाहिनेभन्दा बढी खुसी पनि मानसिक रोगका लक्षण हुन सक्छन् ।
‘पाइला अर्गनाइजेसन’की अभियानकर्ता शिक्षा रिसाल मानसिक स्वास्थ्य समस्यामा परामर्श नपाउँदा धेरै किशोरीकिशोर पीडामा बस्नुपरेको बताउँछिन् । किशोरावस्थामा मानसिक स्वास्थ्यको समस्या आउँदैन, आए पनि आफैँ लड्नुपर्छ भन्ने आमसोचाइ छ । मानसिक रोगी भनी हेलाहोँचो गर्ने भएकाले धेरैले यो समस्या पनि लुकाउने गर्छन् ।
‘एक त काठमाडौंमा मात्रै काउन्सिलिङ पाउन सकिन्छ । काठमाडौंबाहिर बस्नेलाई त्यो सुविधा छैन । त्यसैमाथि अनलाइन थेरापी एकदमै महँगो हुन्छ । विद्यार्थी, युवा अवस्थामै शुल्क तिर्न गाह्रो छ,’ मानसिक स्वास्थ्यकी अभियानकर्ता रिसालले भनिन्, ‘त्यसैले कतिले आत्महत्याको बाटो रोज्छन् । आत्महत्याका घटना बढेका छन् । काउन्सिलिङ सेवा बढाउनुपर्ने देखिन्छ ।’
कन्सल्टेन्ट न्युरोसाइकियाट्री डा। सुमनप्रसाद अधिकारी मानसिक रोगले सामान्यतः सोचाइ, व्यवहार र अनुभवमा असर पर्ने बताउँछन् । तर, प्रायः समाजमा मानसिक रोग भन्नेबित्तिकै बहुलापन, पागलपन भनेर बुझिन्छ । उनका अनुसार, कतिले त मानसिक स्वास्थ्य समस्यालाई दैवी श्राप, पापकर्मको फल लगायतको बिगार भनेर गलत रूपमा लिने गरेका छन् ।
चिकित्सा विज्ञान अनुसार, मानसिक रोगमा सामान्य टाउको दुखाइ वा माइग्रेन, मनोत्रास ९एन्जाइटी०, डिप्रेसन, उन्माद (मेनिया) देखि कडा खालका साइकोसिस र सिजोफ्रेनियाजस्ता रोग पर्छन् । मानसिक रोग जुनसुकै उमेर समूहका महिला पुरुषलाई लाग्न सक्छ ।
वयस्कमा एक्लै बोल्ने, बर्बराउने, नभएको आवाज सुन्ने, नभएका चिज, व्यक्ति देख्ने, निराश र बेखुसी हुने, चाहिनेभन्दा बढी खुसी पनि मानसिक रोगका लक्षण हुने डा। अधिकारी बताउँछन् ।
नेपालमा २० देखि २५ प्रतिशतमा कुनै न कुनै किसिमको मानसिक समस्या रहेको विश्व स्वास्थ्य संगठनले देखाएको छ । परिवारबाटै मानसिक स्वास्थ्य समस्या लुकाइने भएकाले यसको पहिचान र उपचारमा कठिनाइ छ । मानसिक समस्या कहिल्यै निको नहुने ‘दीर्घ रोग’ हो भनी समाजले त्यस्ता रोगीलाई घृणा गर्ने गर्छ ।
विद्यार्थीमा मानसिक स्वास्थ्य र रोगबारे जानकारीमूलक पाठ्यसामग्री राख्ने, सभा, सेमिनार, रेडियो–टिभीमा जनचेतनामूलक कार्यक्रम प्रसारण गर्ने गरेमा समाजको चेतनास्तर बढाउन सकिने डा। अधिकारीको सुझाव छ ।
चिकित्सा मनोवैज्ञानिक अर्चना पोखरेल रिमाल किशोर–किशोरीमा मानसिक स्वास्थ्यबारे शिक्षाको अभाव भएको र यसबारे अभिभावक, किशोरकिशोरी सबैलाई जानकारी हुनुपर्ने बताउँछिन् ।
‘आत्महत्याको सोच मानसिक स्वास्थ्य खराब भएपछि आउने कुरा हो । प्रायः डिप्रेसन भएपछि मात्र त्यस्तो सोच आउँछ,’ उनी भन्छिन्, ‘आत्महत्या रोक्नका लागि सबैको भूमिका छ । कसैले आत्महत्याका कुरा अभिव्यक्त ग¥यो भने उसलाई के भइरहेको छ भन्नेबारे बुझ्नुपर्छ । आफ्ना कुरा अरुलाई बाँड्यो भने पनि सहयोग पुग्न सक्छ ।’
डिप्रेसन मात्र नभई अन्य मानसिक स्वास्थ्य समस्या अर्थात् गलत कुराको विश्वासमा फसेर पनि आत्महत्याको बाटो रोज्ने गरेको चिकित्सा मनोवैज्ञानिक पोखरेल बताउँछिन् ।
नेपालमा आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष ०७४/७५ मा पाँच हजार १७ जना, ०७५/७६ मा पाँच हजार सात सय ५४ जना र गत ०७६/७७ मा ६ हजार दुई सय ४१ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित: १३ मंसिर २०७७ ०५:२७ शनिबार