समाज

धुमधामका साथ मनाइयो ‘मोहम्मद डे’

बाँकेका मुस्लिम धर्मावलम्बीहरुले शुक्रबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४३८औं जन्म जयन्ती मनाएका छन्।  

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो अनुसार हिजरी सम्बतको रब्बीअव्ल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको उल्लेख छ। मुस्लिम समुदायको बाहुल्यता भएको नेपालगन्जमा पनि धुमधामका साथ हजरत मोहम्मद पैगम्बरको जन्मदिवस मनाइएको छ। नेपालगन्जका विभिन्न चोकमा झन्डा, बेलुन, सिँगारिएका रिक्सा, गाडी, ट्याक्टरमा बाजा बजाएर नगर परिक्रमा गरेर मोहम्मदको जन्मोत्सव मनाइएको छ।  

बाँकेका इस्लाम धर्मगुरु तथा अगुवाहरुले सामाजिक दूरी कामय गरेर मोहम्मद डे मनाउन आग्रह गरेका थिए। तर त्यसको पालना भएको भने देखिएन।  

हजरत मोहम्मदको जन्मदिनको अवसरमा विभिन्न नाअत सरिफ वाचन गर्ने र उनका उपदेश, वाणीहरुको चर्चा गर्ने गरिन्छ। उनको जन्म जयन्तीको अवसरमा मुस्लिम समुदायका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्ने गर्दछन्।  

जन्मजयन्तीको अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाले सार्वजनक विदा समेत दिएको थियो।

प्रकाशित: १४ कार्तिक २०७७ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App