सधैंझैं पछिल्लो एक साता पनि सरकारले दिनहुँ १० हजार हाराहारीमा पिसिआर परीक्षण गरेको छ । परीक्षणका नतिजाले कोरोना संक्रमितको संख्या घटेको देखिँदैन बरु बढेको बढ्यै छ । राजधानी काठमाडौं सबैभन्दा बढी संक्रमणको चपेटामा छ जहाँ दिनहुँ संक्रमितको संख्या बढ्दो छ । शुक्रबार यो संख्या बढेर १६ सय ३८ पुगेको छ । शुक्रबार पहिचान भएका कुल संक्रमितमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकाका छन् । यो क्रम कहिलेसम्म जाने र यसको अन्त्य कहिले हुने भन्ने चिन्ता बढिरहेको बेला दीर्घरोगी र वृद्धवृद्धाको सुुरक्षाका लागि विशेष रणनीति तयार गर्न विशेषज्ञले जोड दिएका छन् ।
‘जुनसुकै उमेर समूहका पनि रोगीहरू कोरोना संक्रमणको हिसाबले जोखिममा देखिएका छन्,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन भन्छन् । महामारी समुदाय स्तरमा फैलिँदा आम नागरिकको भूमिका सबैभन्दा बढी भएको बताउँदै डा. पुन थप्छन्, ‘अबका हाम्रा प्रयास र रणनीति कोरोनालाई दीर्घरोगीसम्म पुग्न नदिन केन्द्रित हुनुपर्छ । यसमा सरकारभन्दा पनि आमनागरिकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।’
महामारीका पछिल्ला ८–९ महिनाले सबैलाई कोरोना विज्ञ बनाएको चर्चा गर्दै उनी भन्छन्, ‘हामीले ६० वर्ष माथिकालाई घरबाहिर ननिस्कन भनेका छौं तर त्यही परिवारका युवा बाहिर निस्केका छन् । यसले घरका जोखिममा रहेका सदस्यलाई संक्रमण जोखिम बढाएको छ । हामीले अवलम्बन गर्ने भनेको जीवनशैलीमा परिवर्तन नै हो । आगामी केही साता महामारीको नियन्त्रणमा आम नागरिक सजक र सतर्क भए रोकथाम सम्भव छ ।’
राजधानी काठमाडौं सबैभन्दा बढी संक्रमणको चपेटामा छ जहाँ दिनहुँ संक्रमितको संख्या बढ्दो छ । शुक्रबार यो संख्या बढेर १६ सय ३८ पुगेको छ । शुक्रबार पहिचान भएका कुल संक्रमितमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकाका छन् ।
सामान्य लक्षण भएका पनि पिसिआर परीक्षण गर्न अनिच्छुक हुँदा महामारी नियन्त्रण कठिन बनेको छ । ‘यो भित्रभित्रै अणुवम जस्तो बनेको छ । सामाजिक रूपमा मानिसले के भन्लान् र के ठान्लान् भनेर मानिसले परीक्षण गर्न इच्छा देखाएका छैनन्,’ डा. पुन थप्छन्, ‘यसका लािग व्यापक अभियान सुरु गर्नुपर्ने भएको छ र कलाकार तथा लब्धप्रतिष्ठित व्यक्तिहरूलाई समेटेर आम नागरिकलाई सन्देश प्रवाह गर्नुपर्ने देखिएको छ ।’
राजधानी जस्तो घनाबस्तीमा महामारी फैलिँदो रहेकाले आमजनसमुदायले फेरि प्रतिबद्धता व्यक्त गर्न आवश्यक देखिएको भन्दै उनी थप्छन्, ‘त्यो हो, म नियमित रूपमा मास्क लगाउँछु, भीडभाडमा जान्नँ, साबुनपानीले नियमित हात धुन्छु र सामाजिक दूरी कामय गर्छु ।’
मानिसहरू कोरोनाका विषयमा निराशा बढेको र यसलाई लिएर ‘कोरोना केही होइन’ भन्ने भ्रम समेत सिर्जना गर्ने काम भएको तर्फ इंगित गर्दे डा. पुन थप्छन्, ‘यस्ता खाले गलत धारणा चिर्न व्यापक अभियान नै सुरु गर्न आवश्यक देखिएको छ ।’
विज्ञ चाडबाड र हिउँद याममा यो महामारी झन् फैलन सक्ने ठान्छन् । ‘यसपटकको दसैंमा टीका लगाउने तथा आफन्तकहाँ जाने योजना सकेसम्म नगरे हुन्छ,’ ह्याम्स अस्पतालका चिकित्सक तथा जनस्वास्थविद् डा. किरणराज पाण्डे भन्छन् । उनी कुल परीक्षण गरिएको जनसंख्यामा कोरोना पोजेटिभ देखिने दर अर्थात् ‘पोजेटिभिटी’ बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै थप्छन्, ‘अहिलेसम्म कतिलाई संक्रमण भएको छ भनेर हामीलाई थाहा छैन र यो संक्रमण कहिलेसम्म यही हिसाबले जाला भनेर गणितीय हिसाबकिताब हुन पनि सकेको छैन ।’
‘हामीले ६० वर्षमाथिकालाई बाहिर ननिस्कन भनेका छौं तर त्यही परिवारका युवा बाहिर निस्केका छन् । यसबाट घरका जोखिममा रहेका सदस्यमा संक्रमणको जोखिम बढेको छ । हामीले अवलम्बन गर्ने भनेको जीवनशैलीमा परिवर्तन नै हो ।’
–डा. शेरबहादुर पुन
गत बुुधबार कुल १२ हजार २ सय ५ नमुना परीक्षण गर्दा १ हजार ५४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ जुन पोजेटिभिटी दरका हिसाबले १२ दशमलब ६९ प्रतिशत हो । यसैगरी बिहीबार १२ हजार ४४४ को पिसिआर परीक्षणमा १ हजार ९११ अर्थात् १५ दशमलब ३५ प्रतिशतमा संक्रमण भेटिएको छ । बिहीबार पहिचान भएका कुल संक्रमितमध्ये ४९ दशमलब ३४ प्रतिशत काठमाडौं उपत्यकाका छन् । यसैगरी शुक्रबार एकै दिनमा २ हजार ७२२ मा कोरोना पुष्टि भएको छ भने पोजेटिभिटी दर बढेर १८ दशमलब ४६ प्रतिशत पुगेको छ ।
‘बढ्दो पोजेटिभिटीको दरले हामीले महामारी रोकथाममा सही कार्य गर्न नसकेको देखाएको छ,’ डा. पाण्डे थप्छन्, ‘परीक्षणलाई व्यापक बढाउन सके पोजेटिभिटी दर घट्न सक्छ ।’ वैज्ञानिक समुदाय युरोप तथा अमेरिकामा आगामी हिउँदमा बढ्ने चिसोसँगै महामारी बढ्न सक्ने आकलन गरिरहेका छन् । नेपालमा पनि त्यस्तो भए चुनौती थपिने डा. पुन बताउँछन् । ‘चीनको वुहानमा पनि हिउँदमा महामारी बढेको थियो, त्यो हिसाबले नेपालमा पनि जाडोमा महामारीले तीव्रता लिन सक्छ,’ उनी भन्छन्, ‘यसको सबैभन्दा ठूलो समाधान तयारी नै हो । परीक्षण र ट्रेसिङलाई प्रभावकारी पार्नैपर्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अन्य देशको तुलनमा नेपालको स्थिति भयावह नभएको दाबी गर्छन् । ‘कुनै बेला भयावह मानिएको वीरगन्ज, उदयपुर र तराई क्षेत्रमा अहिले स्थिति नियन्त्रणमा आएको छ,’ उनी भन्छन्, ‘नेपालका कुल ७ सय ५३ स्थानीय तहमध्ये ५ सय २० वटामा संक्रमण छैन ।’
नेपालमा देखिएको पोजेटिभिटी दर १० देखि १३ प्रतिशत रहेको चर्चा गर्दै डा. गौतम भन्छन्, ‘हामीले जहाँ र जसलाई परीक्षण आवश्यक छ, त्यही गरेका छौं । त्यो हिसाबले पनि हाम्रो परीक्षण रणनीति सही छ ।’ प्रवक्ता गौतम यसपटकको दसैं आफ्नै घरभित्रमात्रै मनाउन जोड दिन्छन् । ‘दसैं अर्काे वर्ष पनि आउँछ, त्यही बेला मनाऔंला,’ उनी भन्छन् ।
प्रकाशित: १७ आश्विन २०७७ ०१:२८ शनिबार