समाज

बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

बुटवलमा उपचारत २ जना कोरोना संक्रमितको आज मृत्यु भएको छ। बुटवलको कोरोना विशेष अस्पतालमा एक पुरुष र बुटवलकै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत एक जना महिलाको आज बिहान मृत्यु भएको हो। मृतक पुरुष बुटवल र महिला भैरहवाकी हुन्।  

बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ बर्षे पुरुषको आज (शुक्रबार) बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा बिष्णु गौतमले बताए।

ज्वरो,खोकी र स्वासप्रस्वासको समस्या लिएर उनी भदौ ४ गते अस्पताल आएका थिए। पिसिआर टेष्ट गर्दा रिर्पोट पोजेटिभ आएपछि उनलाई धागो कारखानाको कोरोना अस्पतालमा लगिएको थियो। उनको बिगत ९ दिन देखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको डा. गौतमले बताए। ती व्यक्तिलाई प्लाज्मा थेरापी दिइए पनि स्वास्थ्यमा सुधार नभएको अस्पतालका चिकित्सकले बताएका छन्।  

बुटवलकै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ७ की ६४ वर्षे महिलाको पनि आज बिहान मृत्यु भएको छ। भैरहवाकी ती महिला भदौ ४ गते उपचारकालागि मुटु अस्पताल आएकी थिइन। मिर्गौलाको रोगबाट पीडित ती महिलालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको अस्पतालले जनाएको छ।  

उपचारकै क्रममा निमोनियासमेत देखिएपछि उनको स्वाब टेष्ट गरिएको थियो। भदौ १५ गते रिर्पोट पोजेटिभ आयो।  सुरुदेखि नै सघन उपचार कक्षमा राखेर उपचार गरिएकी ती महिला पछिल्लो समय भेन्टिलेटरमा रहेको अस्पतालका अध्यक्ष एजाज आलमले बताए। यस अघि पनि मंगलबार राती यो अस्पतालमा उपचारत एक जना संक्रमितको मृत्यु भएको थियो।

 

प्रकाशित: १९ भाद्र २०७७ ०६:४८ शुक्रबार

कोरोना भाइरस