समाज

उपत्यकामा ह्वात्तै बढे संक्रमित

एकैदिन २ सय ३५ जनामा संक्रमण

काठमाडौं उपत्यकामा एकैदिन २ सय ३५ जनामा कोरोना पुष्टि भएको छ। एकैदिन संक्रमितको यो संख्या हालसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा १ सय ६८ जना संक्रमित भएको जानकारी दिएको थियो। साँझ थप ६७ जनामा संक्रमण पुष्टि भयो। योसँगै उपत्यकामा मात्रै कुल संक्रमित संख्या २ हजार २ सय १ पुगेको छ।  

संक्रमण पुष्टि भएकाहरू कुनै एक ठाउँको र कुनै बाहिरी क्षेत्रबाट आएका नभई काठमाडौं उपत्यकाकाभित्रै छरिएर रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। तथ्यांकअनुसार उपत्यकामा दुई साताअघि औसत संक्रमण दर दैनिक १ सय जनाभित्र थियो भने अघिल्लो साता १ सयदेखि २  सयसम्म थियो।

महाशाखाका प्रमुख वासुदेव पाण्डेका अनुसार सोमबार संक्रमण पुष्टि भएका बाहिरबाट आएका मात्र नभई काठमडौं उपत्यकाभित्रका समेत छन्। पछिल्लोपटक सरकारले अस्पताल–अस्पताल पुगेर स्वास्थ्यकर्मी, उपचार गर्न पुगेका बिरामी र सुरक्षाकर्मी, भारत तथा तराईबाट आएकाको नमुना संकलन गरेको थियो। उपत्यकामा पछिल्लो साता संक्रमण सबैतिर फैलिइसकेको र लकडाउन खुल्नु, भारत तथा तराईबाट आएका निर्माण तथा अन्य व्यवसायी गर्नेहरूबाट परिवार हुँदै समुदायमा कोरोना फैलिएको महाशाखा प्रमुख डा.पाण्डेले बताए। ‘कोही घरमा रंग लगाउने, कोही मिस्त्री काम गर्ने आए, उनीहरू काम गर्न ठाउँ–ठाउँमा पुगे। उनीहरूबाटै फैलियो,’ डा. पाण्डेले भने।  

महाशाखाकै केस म्यानेजमेन्ट शाखाका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले एक सातायताको संक्रमण हेर्दा संक्रमण कुनै समूहमा सीमित नभएर समुदायमै पुगिसकेको बताए। ‘संक्रमणको बीउ समुदायमै छ, अब बाहिरबाट आएकाले सार्नुपर्दैन,’ उनले भने।  

यो संक्रमणको दर थप बढ्ने सम्भावना रहेको महाशाखा प्रमुख पाण्डे र जनस्वास्थ्य अधिकृत कोइरालाले बताए। उपत्यकामा बढ्दो संक्रमण दीर्घरोगी र वृद्वामा फैलिएपछि गम्भीर बिरामीको संख्या पनि बढ्ने भएकाले थप हानिबाट बचाउन सरकारले तीव्र रूपमा व्यवस्थापनमा ध्यान दिनुपर्ने र हरेक नागरिक आफैं सचेत हुनुपर्ने बेला आएको अधिकृत कोइरालाले बताए। महाशाखाका अनुसार उपत्यकामा हाल ६० देखि ७० प्रतिशत होम आइसोलेसनमा छन्।

स्वास्थ्यकर्मीको निगरानीमा लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने, सामान्य लक्षण भएका र नभएकालाई स्थानीय निकायले आइसोलेसन सेन्टर बनाएर राख्ने र लक्षण भएकालाई अस्पतालको आइसोलेसनमा राख्ने व्यवस्था गर्नुपर्छ। यसको साथै कोभिड अस्पतालमा अहिले क्षमता रहेका आइसियु र भेन्टिलेटरको संख्यासमेत बढाउनुपर्ने कोइरालाको सुझाव छ।  

सरकारले पूरा गर्नुपर्ने यी तयारीका साथै हरेक नागरिक आफैं सचेत भएर व्यक्तिगत सुरक्षा मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। समुदायमा जोसँग पनि कोरोना संक्रमण हुनसक्ने स्थिति रहेकाले यो अवधिमा सभा, सम्मेलन, साथीभाइ भेटघाट बन्द गर्ने र कामै नपरेसम्म घरबाहिर ननिस्कन मन्त्रालयले आम नागरिकलाई अनुरोध गर्दै आएको छ। दुई व्यक्तिबीच कम्तीमा ३ मिटरको भौतिक दूरी कायम गर्ने, माक्स लगाउने, नियमित साबुनपानी वा सेनिटाइजरले हात धुने र अनुहारमा हात नलगाउने गरी संक्रमणबाट बच्न सकिने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सुझाए।  

कुल संक्रमित २७ हजार ३ सय ८  

कुल देशका विभिन्न भागमा दैनिक वृद्धि भइरहेको कोरोना संक्रमण सोमबार एकैदिन ६ सय ४८ जनामा पुष्टि भएको छ। यीसहित नेपालमा कुल संक्रमित संख्या २७ हजार ३ सय ८ पुगेको छ। काठमाडौं उपत्यकामा २ सय ३७ तथा उपत्यकाबाहिर सबैभन्दा बढी पर्सामा ६६, बारामा ५७, मोरङमा ४०, प्युठानमा २८, बाँकेमा २४ र कैलालीमा १६ जना छन्।  

कुल संक्रमितमध्ये हालसम्म १ सय ७ जनाको मृत्यु भएको छ। पछिल्लो चौबिस घण्टामा थप दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीय महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

कुल संक्रमितमध्येमा १७ हजार ४ सय ९५ जना निको भई घर फर्किसकेका छन्। यो संख्या कुल संक्रमितमध्येमा ६४.२ प्रतिशत कुल निको हुनेको संख्यामा पर्छ। हाल देशभरिमा ९ हजार ६ सय ३९ जना सक्रिय संक्रमित छन्। ७ हजार ३८ जना संस्थागत आइसोलेसनमा छन् भने २६ सय १ जना होम आइसोलेसनमा छन्। हाल आइसियुमा १ सय १३ जना र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ। पछिल्लो चौबिस घण्टामा जम्मा ११ हजार ५ सय २० वटा पिसिआर नमुना परीक्षण गरिएको थियो। हालसम्म नेपालमा ५ लाख २९ हजार ४ सय २७ नमुना पिसिआर विधिबाट परीक्षण भइसकेको छ।

प्रकाशित: २ भाद्र २०७७ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App