समाज

स्याङजाका १८ जना प्रहरीमा कोरोना संक्रमण

स्याङजामा एकैदिन १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।  जिल्ला प्रहरी कार्यालयमा कार्यरत ती प्रहरीको पोखरामा गरिएको नमूना परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको प्रहरी कार्यालयले बताएको छ।  

स्याङजा प्रहरी कार्यालयका डिएसपी राजेन्द्र अधिकारीका अनुसार संक्रमितमध्ये एकजना महिला र बाँकी पुरुष प्रहरी कर्मचारी छन्।  तीनदिन अघि पनि तीनजना प्रहरीमा संक्रमण पुष्टि भएपछि जिप्रकाभित्रका ९८ जनाको नमूना संकलन गरिएको अधिकारीले बताए।  ‘९८ जनाको नमूना संकलन गरिएको हो।  ती सबैको रिपोर्ट आएको छैन।  तर १८ जनाको संक्रमण पुष्टि भएको विवरण मात्र पाइएको छ,’ अधिकारीले भने, ‘कतिजनाको परीक्षण गर्दा यो रिपोर्ट आयो भन्न अझै खुलिसकेको छैन। ’

अधिकारीका अनुसार तीनदिन अघि तीनजनामा संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका अरु प्रहरीलाई भिन्दै ठाउँमा राखिएको थियो।  अघिल्ला संक्रमितसँग सम्पर्क भएको आधारमा अहिले संक्रमित पुष्टि भएका प्रहरीलाई सुरक्षित ठाउँमा राखिएको अधिकारीले बताए।  प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयलाई विशेष सुरक्षित बनाइएको डिएसपी अधिकारीले बताए।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदबिन्दु शर्माले १८ जनाको रिपोर्ट पोजेटिभ आएको बताए।  शर्माले भने ती सबै प्रहरी भए नभएको अझै पुष्टि नभईसकेको जानकारी दिए।  ‘धेरै संख्यामा स्याम्पल संकलन भएको थियो।  अहिलेलाई १८ जनाको मात्र पोजेटिभ आएको छ।  ती प्रहरी कर्मचारी भएको आशंका छ,’ उनले भने, ‘तर, अझै सबै विवरण आईसकेको छैन। ’  

अघिल्लो पटक तीनजना प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा अरु प्रहरी कर्मचारीको पनि स्याम्पल संकलन गरेको शर्माले बताए।  २६ देखि ४६ वर्ष उमेर समुह भएकोले प्रहरीको संख्या अधिक भएको आशंका रहेको उनले बताए।  संक्रमण पुष्टि भएका ती सबै प्रहरीलाई आइसोलेसनमा राख्ने तयारी भएको डिएसपी अधिकारीले जानकारी दिए।  

 

 

प्रकाशित: १२ श्रावण २०७७ ११:१७ सोमबार

कोरोनाभाइरस