समाज

सुकुटे क्षेत्रका ११ रेष्टुराँलाई क्वारेन्टिन बनाइदै

सुनकोसी नदी बगरको पर्यटकीय हब सुकुटे क्षेत्रका ११ होटल, रेष्टुँरालाई क्वारेन्टिन बनाइने भएको छ । पछिल्लो समय मुलुकमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्नुका साथै सरकारले तेस्रो मुलुकमा रहेका नेपाली फर्काउने तयारी गरेपछि जिल्लामा क्वारेन्टिनको क्षमता बिस्तार गर्न लागिएको हो । रेष्टुराँलाई क्वारेन्टिन बनाउन व्यवसायीसँग सैद्धान्तिक सहमति जुटिसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।  

‘जिल्ला कोभिड–१९ बिपद् व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र व्यवसायीबीच रेष्टुराँलाई क्वारेन्टिन बनाउने विषयमा सहमति जुटेको छ,’ प्रजिअ ढकालले नागरिकसँग भने, ‘त्यसै अनुरुप तयारी अघि बढाएका छौँ ।’ सरकारले तेस्रो मुलुकमा रहेका नेपाली स्वदेश फर्काउँने तयारी थालेसँगै क्वारेन्टिनको क्षमता विस्तार गर्न लागिएको उनले जानकारी दिए । उनका अनुसार पछिल्लो सातायता  भारतमा रहेका जिल्लावासीसमेत दिनहुँ घर फर्किरहेका छन् ।  

‘दोस्रो र तेस्रो मुलुकबाट आउने सबैलाई क्वारेन्टिनमा राख्नुपर्ने भएकाले बेलैमा तयारी थालिएको हो,’ प्रजिअ ढकालले भने । डिसिसिएमसीले तेस्रो मुलुकमा झण्डै २० देखि २२ हजार जिल्लावासी रहेको आँकडा निकालेको समेत उनले जानकारी दिए । तीमध्ये धेरै स्वदेश फर्कँन सक्ने डिसिसिएमसीको अनुमान छ ।  

साहसिक खेल र्‍याफ्टिङ र कायाकिङलाई लक्षित गरेर खुलेका ११ रेष्टुराँमा सामाजिक दुरी कायम गर्दा पाँच सय शैया क्षमताको क्वारेन्टिन बन्ने देखिएको प्रजिअ ढकालले जानकारी दिए । हाल जिल्लाका विभिन्न स्थानमा पाँच सय ७३ शैया क्षमताका क्वारेन्टिन सञ्चालनमा ल्याइएको छ । चौतारा, सुनकोसी र मेलम्चीमा ठूला क्षमताका तीन सुविधा सम्पन्न क्वारेन्टिन छन् । त्यहाँ पछिल्लो साता भारतबाट फर्केका ५७ सहित ९५ जना राखिएका छन् ।  

तेस्रो मुलुकबाट स्वदेश फर्कँन सक्ने सम्भावित आँकडा तयार पारेर थप क्वारेन्टिन र आइसोलेसन बिस्तार गर्ने प्रजिअ ढकालले बताए । आइसोलेसनको क्षमता भने ३६ शैया मात्र छ । २२ जनाको अझै आइसोलेसनमा उपचार भइरहेको छ । स्वेदश फर्कँन चाहनेको तथ्यांक वडास्तरबाट संकलन थालिसकिएको छ ।  

‘ठूलो संख्यामा स्वदेश फर्किए हालको क्वारेन्टिन क्षमताले भ्याउँदैन । त्यस्तो बेलामा सामुदायिक भवन, विद्यालय र क्याम्पसलाई समेत क्वारेन्टिन बनाउने तयारी साथ काम गरिरहेका छौँ,’ ढकालले भने । डिसिसिएमसीले मेलम्ची क्षेत्रीय क्वारेन्टिनलाई थप तीन क्वारेन्टिन बिस्तार गर्ने जिम्मेवारी दिएको छ ।  

एक सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको बाहेक जिल्लामा हालसम्म दोस्रो संक्रमित फेला परेका छैनन् । मुलुकमा कोरोनाबाट पहिलो पटक मृत्यु भएकी ती महिला सिन्धुपाल्चोककै थिइन् । काठमाडौं बस्ने उनी गत चैत २३ गते सुत्केरी भएपछि मात्र गाउँ फर्केकी थिइन् । वैशाख १ गते उनको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । उनको सम्पर्कमा रहेका एक सय ९८ मा कोरोना भेटिएन ।  

मृतक महिला छोडेर हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिँदा सिन्धुपाल्चोक भने सुरक्षित छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा तीन सय ३५ को पिसिआर र एक हजार एक सय ३७ को आरडिटी बिधिबाट कोरोना परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ । २७ जनाको भने पिसिआर रिपोर्ट आउन बाँकी छ । 

प्रकाशित: २० जेष्ठ २०७७ ०८:२५ मंगलबार

कोरोना भाइरस क्वारेन्टिन सुकुटे क्षेत्र