समाज

रसुवागढी नाकालाई प्रविधिमैत्री बनाउन चीनद्वारा सहयोग

चीनले अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीलाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक पर्ने सामग्री सहयोग स्वरूप उपलब्ध गराएको छ । सीमामा हुन सक्ने अवैध क्रियाकलाप रोक्नका लागि आवश्यक पर्ने सामग्री बिहीबार प्रदान गरेको हो ।  विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामको लागि यसअघि रसुवा जिल्लालाई तीन पटकसम्म सामग्री उपलब्ध गराइसकेको छ । यो पटक पनि कोरोनाको परीक्षणका लागि आवश्यक पर्ने १ हजार ५ सय आरडिटी किट सहित सामग्री उपलब्ध गराएको हो ।  

चीनको जिलोङ काउन्टीले बिहीबार एक करोड रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । चीनले ब्यागेज स्क्यानर मेसिन, वाक थ्रु गेट र ५ वटा मेटल डिरेक्टर उपलब्ध गराएको हो ।  प्रविधि जडान भएपछि सीमामा अवैध गतिविधि रोक्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले आएका सामग्री तत्काल इन्स्टल नहुने बताए । ‘अहिले नाका सञ्चालन पनि भएको छैन’, उनले भने, ‘लकडाउन खुलेपछि इन्स्टल प्रक्रिया अघि बढ्छ ।’

यसअघि पटकपटक योजना बनेको भएपनि योजना कागजमा नै सीमित बन्न पुगेको थियो । नाकामा चिनियाँ तथा विदेशी पर्यटकको चाँप बढ्दै गएको र प्रविधिको अभावमा झोला खोतल्ने र स्वास्थ्य जाँच गर्दा समस्या रहँदै आएको थियो ।चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ ।  

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्न गएको माघ १५ गतेदेखि नाका पूर्ण रूपमा बन्द गरिएको छ ।चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

प्रकाशित: ८ जेष्ठ २०७७ ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App