समाज

विप्लवका इलाम इन्चार्जसहित तीन पक्राउ

पक्राउ नेता–कार्यकर्ता सार्वजनिक गर्दै प्रहरी । तस्बिर : भीम/नागरिक

इलाम- प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्जसहित ३ जनालाई विष्फोटक पदार्थसहित पक्रेको छ । मंगलबार बिहानको राति उनीहरूलाई माई नगरपालिका–९, बोरुङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पार्टीका इलाम जिल्ला इन्चार्ज ‘हिमाल’ भनिने पुष्पबहादुर कोइराला र कार्याकर्ताद्वय ‘जलन’ भनिने पासाङदण्डु शेर्पा तथा ‘सौरभ’ भनिने पासाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूलाई पक्राउ गर्न प्रहरीले ७ राउन्ड हवाई फायरसमेत गरेको थियो । कोइराला संखुवासभाको चैनपुर वडा ६ का हुन् भने शेर्पा ताप्लेजुङको मिक्वाखोला–८ र तामाङ उदयपुरको ताप्ली गाउँपालिका ६ का बासिन्दा हुन् ।     

‘विष्फोटक पदार्थ लिएर आएका उनीहरूले कहाँ केका लागि ती वस्तु प्रयोग गर्न लागेका थिए भन्ने खुलेको छैन,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले भने, ‘तर, लकडाउनभरि कतै विष्फोट र अन्य गतिविधि नगर्ने योजनामा आफ्नो पार्टी रहेको उनीहरूले बयान दिए ।’

प्रहरीले उनीहरूको साथमा रहेको प्रेसर कुकर बम, सकेट बम, कुपी बम, पाइपमा फिट गरेको बम, नाइन चक्कू, बाइनाकुलर र तार काट्ने कैंची १/१ थान बरामद गरेको छ । यस्तै, इलेक्ट्रोनिक डेटोनेटर १९ थान, डेटकट वायर ६७ फिट, बम विष्फोट गराउन प्रयोग गरिने उपकरण, एमसिल र रिमोट कन्ट्रोल ४/४ थान, ब्याट्री २ थान, तार ६ गुच्छा बरामद गरेको उनले बताए । उनीहरूको साथबाट प्रहरीले  नगद ३३ हजार ७ सय ८० रुपैयाँसमेत बरामद गरेको छ ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र उनीहरूविरुद्ध विष्फोटक पदार्थ तथा संगठित अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: २३ वैशाख २०७७ १५:१९ मंगलबार

विप्लव इलाम_इन्चार्ज पक्राउ