समाज

एसईई परीक्षा कसरी गर्ने ? यस्ता छन् सरकारलाई सुझाव

काठमाडौं- सरकारले कोरोना भइरस नियन्त्रणको लागि गरेको लकडाउन खुल्नासाथ समाजिक दूरी कायम गर्दै घर पायक पर्ने स्कुलहरुमा एसईई परीक्षा केन्द्र तोक्न सुझाव दिइएको छ। सरकारले गठन गरेको  परीक्षा ब्यवस्थापन समितिले विहिबार शिक्षा मन्त्री गिरीराजमणी पोखरेललाई यस्तो सझाव सहितको प्रतिवेदन बुझाएको हो।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलको अध्यक्षतामा गठित समितिले दुई साताभित्र विज्ञहरुसँग छलफल गरी र अन्तराष्ट्रिय तथा राष्ट्रिय रुपमै परीक्षाका अभ्यासहरुको समेत अध्ययन गरी बुझाएको प्रतिवेदनमा सरकारले कोरोना भाइरसका कारण स्थगन गरेको कक्षा १०, ११ र १२ का सबै परीक्षाहरु बन्दाबन्दी खुलेको २१ दिन भित्र गर्न सक्ने र ४५ दिन भित्र नतिजाहरु प्रकाशन गर्न सके शैक्षिक सत्र जोगाउन सकिने समेत सुझाएको छ।  शिक्षा मन्त्रीका स्वकीय सचिव पुरन खड्काले परीक्षा बोर्डका अध्यक्ष पौडेलले शिक्षा मन्त्रीलाई बुझाएको प्रतिवेदनमा बैशाख २५ गतेभित्र कक्षा १ देखि ९ को सबै परीक्षाहरुको नतिजा प्रकाशन गर्न र बैशाख २५ गतेपति समाजिक दूरी कायम गर्दै भर्ना प्रकृया सबै स्कुलहरुले अघि बढाउन समेत सुझाव दिएको जनाए।  

उनले अबका परीक्षा केन्द्रहरु तोक्दा विद्यार्थीलाई कोठा भाडामा लिएर परीक्षा दिनु पर्ने अप्ठ्यारा ब्यवस्थाहरुको अन्त गर्न घर पायक पर्ने दुरीको विद्यालयहरुमा परीक्षा केन्द्र तोक्न समितिले सुझाएको समेत जनाए।  

परीक्षा बोर्डका अध्यक्ष पौडेलले हाल निजी विद्यालयहरुले भने जस्तै होम सेन्टरमा परीक्षा संचालन गर्न नसकिने तर घरबाट विद्यार्थीले खाना खाएर परीक्षा दिन जान सक्ने दूरी कायम गरी केन्द्र तोक्दा विद्यार्थीलाई कुनै समस्या तथा मानसिक तनाव नहुने भएकोले विज्ञहरुको छलफलबाटै यस्तो सुझाव दिएको बताए।  उनले बन्दा बन्दी खुलेको २१ दिन भित्र बोर्डले सबै परीक्षाहरुको तयारी गर्न सक्ने भएकोले २१ दिनको समय सुझाएको जनाए जेठदेखि असारसम्म परीक्षा सकाउँदा शैक्षिक सत्रमा कुनै नकरात्मक असर नपार्ने अध्ययनले देखाएको जनाए।  

‘शिक्षा मन्त्री ज्यूले एसइइ र कक्षा ११ र १२को परीक्षाहरु संचालन गर्न सम्पुर्ण स्रोत साधानको ब्यवस्थापन गरेर भएपनि परीक्षा केन्द्रहरु बढाउन सबै बोर्डलाई आजै निर्देशन दिइसक्नु भएको छ’, मन्त्रीका सोकिय सचिव पुरन खड्काले नागरिकसँग भने ‘मन्त्री ज्यूले हालको परिस्थितीमा विद्यार्थीहरुले परीक्षा दिन टाढा जान नपर्ने गरी सबै केन्द्रहरुको ब्यवस्थापन गर्न निर्देशन दिनु भएको छ। ’ उनले थपे ‘ विहिबार बुझाएको परीक्षा समितिको प्रतिवेदन मन्त्री ज्यूले अब बस्ने मन्त्री परिषदको बैठकमा स्वीकृतिकोलागि लाने तयारी गर्नु भएको छ।  केन्द्र ब्यवस्थापन गर्न नक्साँकन गरी मात्र केन्द्र तोक्न मन्त्री ज्यूले निर्देशन दिनु भएको छ। ’  उनले हाल विद्यार्थीहरु सबै आ आफनो घर फर्केकाले उनीहरुलाई समेत समेटेर परीक्षाको ब्यवस्थापन गरिने मन्त्रालयको तयारी रहेको जनाए।  

एसइइको परीक्षा मन्त्री परिक्षदलेनै स्थगीत गरेकोले पुनः संचालन गर्न मन्त्री परिषद र उच्च स्तरीय समितिको स्वीकृति चाहिन्छ।  नेपाली समाज परीक्षामुखि भएकोले परीक्षाको विकल्प नभएकोले परिस्थिति समान्य हुनसाथ परीक्षा लिनु पर्ने मन्त्रालयको ठहर छ।

 

प्रकाशित: १९ वैशाख २०७७ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App