समाज

‘पोहोरको दोसल्ला त फाटी सक्यो छोरी आँसु पुछेर’

दोलखा-

                 ‘आज पनि त्यो माथी स्कुलमा कार्यक्रम छ,

                म बुढी मान्छे, लौरोको साहरामा स्कुल नपुगी भा छैन’

                ‘स्कुलमा आज हाम्री छोरीका फोटो राख्छन

                ठुला ठुला मान्छे, ठूलो ठूलो स्वरमा भाषण गर्छन

                ‘र मलाई दोसल्ला ओढाउछन’,

                हो त्यही दोसल्ला लिन त्यहीं: माथी स्कुलमा पुग्नुछ’

 

                युवा कवि समेत रहेका भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले खबरदारी डाँडोमा उभिएर आफ्नो रचना बाचन शुरु गर्दा उपस्थित केही साहित्य अनुरागी र कविहरु मन्त्रमुग्ध भए।

                एउटी सहिद छोरीकी आमाको मनोभावनालाई कवितामा उतारेका खड्काको रचनाले केही बेर माहोल स्तब्ध नै पारिदियो। युद्धमा छोरी गुमाएकी आमाको दुखान्तलाई कवि खड्काले उतार्दै अघि बढ्न थाले :

                ‘आँगनभरी उज्यालो लिन भनेर छोरी किताबको झोला बाटैमा फ्याकेर बन्दुक बोकेर बन्दुक थाप्न गई’

                ‘उज्यालो लिएर आउछु भन्थी बिहान भएको छ, तर न उज्यालो आयो, न छोरी आई’

                ‘भन त छोरी अब यो मुलुक कहिले बन्छ’

                ‘पोहोरको दोसल्ला त फाटी सक्यो छोरी आँसु पुछेर’

                कवि खड्काले एउटी शहिद छोरीकी आमाको दुख कवितामा उतार्दा चरिकोट बजार भन्दा केही तल खबरदारी डाँडोमा उपस्थित केही कवि र स्रोताहरु साँच्चै सबै स्तब्ध बने। राज्य र नेतृत्वले शहिद दिवस भुलिरहँदा दोलखाका केही लेखक र साहित्य प्रेमीहरु नेपाली लेखक संघ दोलखाको ब्यानरमा चरिकोट भन्दा तल्लो डाँडोमा रहेको यो स्थानमा शहिदहरुलाई कविताका माध्यमबाट सम्झीन भेला भएका थिए।

                लेखक संघका जिल्ला अध्यक्ष समेत रहेका कवि डम्बर चौलागाईले शहिदको रगतले लत्पतीएको स्थान पनि सरकारले पखाल्न नसकेको आक्रोश व्यंग्यात्मक शैलीमा कविता मार्फत प्रस्तुत गरेका थिए।

साहित्यकार एवं कांग्रेस नेता केशबराज चौलागाईले शहिदहरुलाई गितका माध्यमबाट सम्झीएका थिए भने कवियत्री मेनुका चौलागाई पोखरेलले पैसा शिर्षकको कविता बाचन गरेर बेरोजगार युवाको जिवन कविता मार्फत उतारेकी थिईन्।

                मुलुकका लागी आफ्नो जिवन आहुती दिएका सहिदहरुको सम्झनामा यो सुन्दर डाँडोमा कविहरुले बाचन गरेका मिठा शब्दहरुले साच्चै राष्ट्रप्रेम झल्काएको भन्दै कवि मुरारी दुलालले प्रशंसा गरे।

                कविहरुले शहिदलाई सम्झीरहँदा खबरदारी डाँडोबाट देखिने सिङगो चरिकोट बजार, दोलखा र वरपरका डाँडाकाडाँले सुनिरहेको अनुभुती हुन्थ्यो।

 

               

               

प्रकाशित: १६ माघ २०७६ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App