समाज

लागूऔषधको भयावह रुप: हत्या, लुटपाट र चोरी बढ्दै

धनगढी- कंचनपुर महाकाली नगरपालिका वडा नं ३ का २२ वर्षिय दिपक पन्त बिहीबार बुबासँगै मोटरसाइकलमा महेन्द्रनगर आईरहेका थिए। महेन्द्रनगर नजिकै भीमदत्तपन्त नगरपालिका वडा नं १८ गौबरैयामा ओभरटेक गरेको भन्दै ४,५ जनाको समूहमा रहेका युवाले दिपकमाथि कुटपिट गर्न थाले। वरिपरि बस्ती र मान्छेको चहलपहलको कुनै बेवास्था नगरि कुटपिट गरिरहेका युवालाई रोक्न उनका बुबा बिसनले अनेक बिन्ती र कोशिस गरे। कुटपिट रोक्नु त काहाँ कुटपिटबाट मरणासन्न भइसकेका युवकमाथि मनिष नाथले चक्कु प्रहार गरियो निर्दोष युवकको अनाहकमा ज्यान गयो।

प्रहरीले उनलाई कुटपिट गरी हत्या गरेको अरोप लागेका नाथ, गणेश लोहार, नविन सिंह र बिनोद गरि ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। दिनदहाडै पूर्व रिसिईवी, विवाद वा अन्य कुनै खास कारण बिनै समान्य मानवीय संवेदना पनि गुमाएर छोराको लागि बुबाले मागिरहेको गुहारसमेत नसुनेर युवकको हत्या गर्ने ४ जना युवा लागूऔषधको दुव्र्यसनी भएको कंचानपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र बहादुर चन्दले बताए।

यि मध्य केही यसअघि पनि लागूऔषध दुव्र्यसन गरेकोमा समातिएर जमानतमा छुटेको उनले बताएका थिए भने नाथ यसअघि पनि चक्कु प्रहार गरेर एक युवकको हत्या गरेको अभियागमा फरार सूचिमा रहेका थिए। ओभरटेक गर्‍यो भनेर मोटरसाइकल रोकी कुटपिट गरेर हत्या गर्ने जस्तो अमानवीय र दानव रुप हुनुमा मुख्य कारण लागूऔषधको दुव्र्यसनी भएको प्रहरी बताउँछन्। ‘मुख्य कारण लागूऔषध दुव्र्यसनी नै हो। दुव्र्यसनीमा फसेका युवा नसामा लठ्ठ भएर जे गर्न पनि तयार हुन्छन्’ प्रहरी नायव उपरीक्षक चन्दले भने, ‘यि पक्राउ परेका ४ जना पनि लागूऔषध क्यारिङ गर्ने, प्रयोग गर्ने समूहका हुन्।’

गत माघ पहिलो साता सुदूरपश्चिमको स्थाई राजधानी घोषणा गरिएको अत्तरियामा मान्छेको चहलपहलका बिच बाटोमा हिडिरहेका ४ युवाहरुलाई बिनोद ऐर लगायतको समूहले चक्कु प्रहार गरर्‍यो। चक्कु प्रहारबाट गोदावरी नगरपालिका वडा नं १ का १९ बर्षिय अरुण भट्टको ज्यान गयो। भने ३ जना घाइते भएका थिए। सुदूरपश्चिम प्रादेशिक महोत्सवबाट घर फर्किरहेका बेला साँझ ६ बजेतिर शसस्त्र प्रहरीको बाहिनी नजिकै हिडिरहेका बेला उनीहरुमाथि अन्धाधुन्द चक्कु प्रहार गरिएको थियो।

सडकमा मान्छेको भिडबिच चक्कु हानेर हत्या गर्ने ऐर लगायतका युवाको समूह पनि लागूऔषध सेवा गर्ने गरेको तत्कालिन कैलाली जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताए। ‘लागूऔषध सेवन गरेर लुटपाट, गुण्डागर्दी, चक्कुप्रहार गर्ने समूहले नै घटना घटाएको थियो’ उनले भने।

घरबाट बाहिर निस्कनै पनि डराउनु पर्ने गरि भएका यस्ता घटना लागूऔषधको दुव्र्यसनीमा युवाहरु फस्नाले बढ्न थालेका छन्। लागूऔषध दुव्र्यसनमा लागेका युवाका पैसाका लागी लुटपाट, चोरी, डकैट लगायतका घटनामा संलग्न हुने गरेको प्रहरीकाने भनाइ छ। प्रहरी नायव उपरीक्षक चन्द भन्छन्, ‘यिनीहरु लागेको लत पुरा गर्न लागूऔषध किन्ने पैसाको व्यवस्था गर्न जस्तोसुकै अपराध गर्न पनि तयार हुन्छन्।’

लागूपदार्थले किशोर किशोरी बर्बाद हुँदै
कैलाली र कंचनपुरमा खुला सीमानाका कारण सीमावर्ती भारतीय बजारबाट ब्राउन सुगर लगायतका लागूपदार्थ ल्याएर बिक्री गर्ने गरिएको छ। विद्यालय पढ्ने उमेर देखिकै किशोर किशोरीलाई लागूऔषधका कारोबारीहरुले दुव्र्यसनीको जालोमा फसाउने गरेका छन्।

विद्यालय तथा कलेज पढ्ने उमेरमा पनि युवाहरु लागूपदार्थको लतमा फसेको र यसको कारोबार गर्नेलाई पनि प्रहरीले पक्राउ गर्न नसकेको स्थानीयको गुनासो छ। ‘प्रहरीले लागूऔषध सहित पक्राउ गर्ने गरेको सुनिन्छ, लागूपदार्थ प्रयोग गर्ने, क्यारिङ गर्नेलाई प्रहरीले पक्राउ गरेपनि मुख्य कारोबार गर्ने व्यक्तीसम्म प्रहरी पुग्न सक्तैन’ लागुऔषधको कारोबार सम्बन्धी जानकार एक युवाले भने, ‘भुसको आगो जस्तै डरलाग्दो गरि लागूऔषधको समस्या सबै किशोर किशोरी र युवाहरुमा फैलिरहेको छ।’

कैलाली प्रहरीले बिहीबार धनगढी उपमहानगरपालिका ५ मा बस्ने २८ वर्षिय इन्द्रजित धामी, वडा नं ८ बस्ने १८ वर्षिया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका ३ बस्ने १९ वर्षिय मोनिका थापा भन्ने मोनिका बुढालाई ३ ग्राम ७ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।

३५ जना प्रहरी हिरासतमा
लागूऔषध सहित पक्राउ परेका ३५ जना कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतका अनुसार लागूपदार्थ बोक्ने र कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई ३ महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी प्रावधान छ। पक्राउ परेका मध्य अधिकाशंसँग ब्राउन सुगर फेला पर्ने गरेको उनले बताए।

२०७४/०७५ मा १ सय ८ जना पक्राउ परेकामा ७१ जनामाथि मुद्धा परेको थियो। यसैगरि २०७५/०७६ मा १ सय २७ पक्राउ परेकामा ८७ जना बिरुद्ध मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ। यहीं आर्थिक वर्षमा अहिलेसम्म ६९ जना पक्राउ परेकामा ४७ जनामाथि मुद्धा दर्ता भएको छ। सबैभन्दा बढी ब्राउन सुगर, त्यसपछि नाइट्रोभेट, चरेस, कोरेक्स, स्पास्मी लगायतका लागुपदार्थ सहित पक्राउ परेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।

‘आभिभावकले पनि छोराछोरीलाई निगरानी नगर्ने र खुला छोडिदिँदा पनि लागूऔषधको दुव्र्यसन बढ्दै गएको छ’ उनी भन्छन्, ‘एक पटक पक्राउ परेर छुटेकाहरु पनि सुध्रिनुको साटो लागुऔषधको दुव्र्यसनमै लागेको पाइएको छ।’ रिह्याव सेन्टरमा राखेर सुधार गर्न पनि प्रयास नभएको उनको भनाइ छ।

यसैगरि प्रत्येक अभिभावकले आफ्ना छोराछोरी प्रति निगरानी नराख्नाले उनीहरु लहलहीमा लागेर लागुऔषध दुव्र्यसनको दलदलमा फस्ने गरेको पाइएको उनले बताए। एकिन तथ्यांक नभएपनि लागूऔषध दुव्र्यसनका कारण धेरैको अकालमै ज्यान गइसकेको छ। भने कयौंको जीवन बर्बाद पनि भएको छ।

इन्सेकका क्षेत्रीय संयोजक खडक राज जोशी लागु पदार्थको दुव्र्यसनी भयाभह रुपमा बढ्दै गएको बताउँछन्। ‘लागूऔषधले युवा पुस्ता बर्बाद भैरहेको छन्, कयौंको अकालमै ज्यान गैरहेको अवस्था छ। हत्या, लुटपाट र चोरीका घटना बढीरहेका छन्’ उनले भने, ‘लागूऔषधको यो भयाभह रुप राज्यका लागि पनि चुनौती भएको छ, हामी समाजका लागि दुर्भाग्य भएको छ।’ विद्यालयमा र परिवारमा पनि जनचेतनाका कार्यक्रम गर्नुपर्ने र प्रहरीले सीमामा निगरानी राख्नु पर्ने उनको भनाइ छ।

गत वर्षको कात्तिकको अन्तिममा धनागढीमा प्रदेश प्रमुखको कार्यालय अगाडि कलश होटेल रहेको घरमा ब्राउन सुगरको डोज नपुगेपछि आपसमा विवाद हुदाँ दिपक थापाको ज्यान गएको थियो। टाउकोमा चोट लागेर रक्ताम्य अवस्थामा रहेका थापालाई मुल सडकमा रहेको उक्त घरबाट घिसार्दै सडकमा लगिरहेका बेला उत्तरबेहडीकै आशिष सेठी पक्राउ परेका थिए। उनी अहिले पुर्पक्षका लागी थुनामा छन्।

लागूपदार्थको कारोबार गर्ने कतिपय व्यक्तिले पहुँचका आधारमा छुट समेत पाएको स्थानीय बताउँछन्।

 

प्रकाशित: १९ मंसिर २०७६ ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App