समाज

आँगनमै असुरक्षित सर्वसाधारण

बौनियामा बसले ठक्कर दिएर दुई बालकको मृत्यु भएपछि आक्रोशित बासिन्दा सडकमा आएर विरोध गर्दै। तस्बिर : योगेश रावल

धनगढी – कञ्चनपुर कृष्णपुर नगरपालिका–२ वाणीमा ३२ वर्षीय रामबहादुर रोकाय र रामबहादुर ठगुन्ना गत शुक्रबार घरनजिकै पैदल हिँडिरहेका थिए। तीव्र आएको एक गाडीले दुवैजनालाई ठक्कर दियो। गम्भीर घाइते भएका रोकायको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। उनीहरूलाई ठक्कर दिने गाडी अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन।

एक साताअघि कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा साँझ घरनजिकै पैदल हिँडिरहेका देवराम टमटाको से१ज ७३९ नम्बरको जिपले ठक्कर दिँदा मृत्यु भयो।

कात्तिक १४ गते साँझ कैलालीको बौनियाँमा तीव्र गतिमा रहेको यात्रुबाहक बसले ठक्कर दिँदा दुई बालकको मृत्यु भयोे। महेन्द्रनगरबाट काठमाडौं गैरहेको ना७ख ६०४६ नम्बरको यात्रुबाहक बसले साँझ ५ बजे बर्दगोरिया गाउँपालिका–१ साझाचोकमा बर्दगोरिया–१ का आठ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका–८ का १२ वर्षीय लक्ष्मण चौधरीलाई ठक्कर दिएको थियो। दुर्घटनामा परी घाइते भएका अंशुलाई उपचारका लागि भारतको लखनउ र लक्ष्मणलाई नेपालगन्ज मोडिकल कलेज कोहलपुर लगिएकोमा दुवैको उपचारकै क्रममा मृत्यु भयो।

कात्तिक ९ गते साँझ धनगढी उपमहानगरपालिका–१२ जुगेडामा बस्तीनजिकै अटोले ठक्कर दिँदा रामबहादुर लोप्चनको मृत्यु भयो। कात्तिक ११ गते कञ्चनपुरको महाकाली नगरपालिका–६ मा मोटरसाइकलले ठक्कर दिँदा स्थानीय धनादेवी भण्डारीको र कात्तिक २८ गते साँझ कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा मोटरसाइकलले ठक्कर दिँदा घरनजिकै तिलुदेवी कुँवरको मृत्यु भयो।

‘घरबाट बाहिर निस्कनै प-यो, घरबाट बाहिर निस्कँदा आफ्नै घरअगाडिसमेत हावाजस्तै हुइँकिएर आउने गाडीले ठोकिदिन्छन्, ’ मोटरसाइकलको ठक्करले घाइते भएकी गौरीगंगा नगरपालिका–२ की लक्ष्मी विकले भनिन्, ‘आफ्नै घरको आँगनमा पनि गाडीले ठक्कर दिएर ज्यान जाला भन्ने त्रास छ।’ कात्तिक १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएर घाइते बनाएको थियो।

यी केही प्रतिनिधि घटनामात्र हुन्। बस्तीको छेउछाउ तीव्र गतिमा सवारीसाधन कुदाइँदा आफ्नै बस्ती र घर–आँगनमा निस्केका सर्वसाधारणको अकालमै ज्यान जाने क्रम बढेको छ। सर्वसाधारण आफ्नै घरको आँगनमा असुरक्षित बनेका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका अनुसार कात्तिक महिनायता मात्र सुदूरपश्चिममा पैदल हिँडिरहेका बेला ठक्कर दिएर, आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।

कैलालीमा अत्तरियादेखि कर्णाली पुल, चिसापानीसम्म सडक किनारमा एक दर्जनभन्दा बढी बजार र बस्ती छन्। अत्तरियादेखि महेन्द्रनगरसम्म पनि आधा दर्जनभन्दा बढी बजार र बस्ती छन्। ती बजार र बस्तीमा बालबालिकादेखि वृद्धवृद्धासम्म घरबाहिर निस्कँदा तीव्र गतिमा आउने सवारीसाधनको जोखिममा पर्छन्। ‘बस्ती भएको र मान्छेको आवादी भएको ठाउँमा बिस्तारै गतिमा सवारीसाधन नगुडाएर तीव्र गतिमा गुडाउँदा हामी घर–आँगनमै असुरक्षित भएका छौं,’ गौरीगंगाका मानबहादुर धामीले भने, ‘दिनका दिन गाडीले ठक्कर दिएर घर–आँगनमै सर्वसाधारणको मृत्यु हुँदा पनि कसैको ध्यान गएको छैन।’

बर्दिया राष्ट्रिय निकुन्ज वन्यजन्तुको सुरक्षाका लागि पूर्व–पश्चिम राजमार्गमा प्रतिघण्टा ४० किलोमिटर गतिमा मात्र सवारीसाधन कुदाउन पाइने बाध्यकारी नियम छ। प्रायः सवारीचालकले त्यो नियम पालना गरेका पनि छन्। ‘जंगलमा वन्यजन्तुको सुरक्षाका लागि सीमित गति तोकिन्छ, बालबालिका, महिला, वृद्धवृद्धाहरू हुने बस्ती र बजार क्षेत्रमा जति कुदाए पनि कसैलाई वास्ता छैन,’ स्थानीय राम चौधरी भन्छन्, ‘हामी सर्वसाधारणको सुरक्षामा जनावरको जति पनि ध्यान नदिइँदा कयौंले घर–आँगनमै अकालमै ज्यान गुमाइरहेका छन्।’

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बजार र बस्तीमा तीव्र गतिमा सवारीसाधन चलाउने समस्या रहेको र तीव्र गतिलाई न्यूनीकरण गर्ने प्रयास सुरु गरिसकेको बताए। ‘बजारमा पोस्टरिङ, चालकलाई सचेत गर्नेलगायत काम गरेर तीव्र गति न्युनीकरणको प्रयास भइरहेको छ,’ उनले भने। चालकले तीव्र गतिमा चलाउनु, बजार, बस्तीनजिक हिँड्ने पैदलयात्री तथा सर्वसाधारण पनि सचेत नहुनुले दुर्घटना बढेको उनको भनाइ छ। बजार क्षेत्रमा जथाभावी पार्किङ गर्नाले पनि दुर्घटना हुने गरेको उनले बताए।

सुदूरपश्चिममा सवारीसाधन दुर्घटनामा ज्यान गुमाउने संख्या चिन्ताजनक ढंगले बढ्दै गइरहेको छ। प्रदेश ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा सवारी दुर्घटनामा एक सय २१ जनाको मृत्यु भएकोमा २०७३/०७४ मा एक सय ३२ र २०७४/०७५ मा एक सय ६६ जनाको मृत्यु भएको छ भने २०७५/०७६ मा दुई सय २३ जनाको मृत्यु भएको छ। यसैगरी चालु आर्थिक वर्षमा अहिले सम्म ३५ जनाको मृत्यु भएको छ।

तराईका जिल्लामा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेका छन् भने पहाडी जिल्लामा साँघृुरा सडक, बिग्रेका सडक, क्षमताभन्दा बढी यात्रु राख्ने जस्ता कारण दुर्घटना बढेको जानकार बताउँछन्। सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा स्टिमेट र सर्भेबिना नै जताततै साँघुरा सडक खनिएका छन्। मापदण्डविपरीतका यी सडकमा दुर्घटना हुने गरेका छन्।

पहाडी जिल्लाका ग्रामीण क्षेत्रमा नियम र कानुन कुनैको मतलब नगरी मापदण्डबिनाका सडक बनेका छन्। यी साँघुरा, भिराला, साइड दिन नमिल्ने सडकमा चालक तथा सवारीसाधनका सञ्चालकले पैसाको लोभमा क्षमताभन्दा बढी यात्रु बोक्नाले पनि दुर्घटना बढेको स्थानीय बताउँछन्।

‘सडकमा हिँडिरहेका व्यक्तिदेखि सवारीसाधनमा यात्रा गर्ने यात्रु बढ्दो दुर्घटनाले आकलमै ज्यान गुमाउने क्रम चिन्ताजनक रूपमा बढेको छ,’ नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्, ‘दुर्घटना न्यूनीकरण गर्न राज्यका निकायले विशेष ध्यान दिनुपर्छ।’ ट्राफिक प्रहरीले पनि आफ्नो काम गर्ने तरिका सुधार्नुपर्ने उनको सुझाव छ। उनका अनुसार ठाउँठाउँमा जाँच गर्ने ट्राफिक प्रहरीले दुर्घटना बढ्नुको कारण कम गर्नतिर ध्यान दिएको छैन।

प्रकाशित: १३ मंसिर २०७६ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App