समाज

विवाह गर्ने उमेर नपुग्दै आमा

रामेछाप - उत्तरी रामेछापको लिखुतामाकोसी गाउँपालिका–४ की २० वर्षीया किशोरीले २० वर्ष नपुग्दै बिहे गरिन् । कक्षा ७ मा पढ्दापढ्दै स्कुल छोडेकी उनले विवाह गरेको ४ वर्ष पुग्यो । उनको ३ वर्षको छोरा छ । अहिले पढाइ छोडेकोमा पछुताइरहेकी किशोरीका पति वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । ‘घरमा पढ भन्दाभन्दै नमानेर १६ वर्षको उमेरमै बिहे गरियो । हाम्रो गाउँतिर पढेर राम्रो गरेको पनि कोही छैन । सबै उस्तै त हो जस्तो लाग्ने ।’ उनले थपिन्, ‘पढेर के पो होलाजस्तो लाग्थ्यो । गाउँमा हामी जस्ता पढाइ छोडेर बिहे गरेका धेरै छन् ।’

घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइ छोडेर सानैमा बिहे गरेकी सोही गाउँकी अर्की किशोरी पनि आउँदो फागुनमा २० वर्ष पुग्दै छिन् । १६ वर्ष नपुग्दै बिहे गरेकी उनका पति पनि साउदी गएका छन् । कक्षा ५ पढेर विद्यालय छोडेकी उनी पनि पढ्न नपाएकोमा पिरोल्लिइरहेकी छिन् । ‘पढेको भए राम्रो हुन्थ्यो होला । अहिले त बिहानै काम भन्यो हिँड्यो । हिजोआज त आफैसँग दिक्क लाग्छ,’ उनले सुनाइन्, ‘हाम्रो गाउँघरमा उहिलेदेखि नै सानैमा बिहे गर्ने चलन छ । हामीलाई सानोमा बिहे गर्नु हुँदैन भनेर कसैले सिकाएन ।’

स्थानीय भन्छन्, ‘विगतदेखि आफ्नो गाउँलाई ‘चेतना स्तर उठेको समाज हो’ भनेर दर्जनौं भाषण गर्दै हिँड्ने नेताले कहिल्यै बालविवाह नगर्नू भनेर सिकाएनन् । बालविवाहजस्तो कुरीतिबारे राजनीतिक नेतृत्व सधैं मौन रह्यो । राजनीतिले जनताको आधारभूत कुरामा ध्यान दिन नसक्दा शिक्षा, स्वास्थ्यजस्ता विषय ओझेलमा परेका छन् । मौलिक हकका रूपमा संविधानमै लेखिए पनि जनप्रतिनिधिसमेत सामाजिक कुरीतिबारे खुलेर बोल्दैनन् ।

रामेछापमा विवाह गर्ने उमेर नपुग्दै आमा बन्ने किशोरीको संख्या ठूलो रहेको एक तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गर्भजाँच गराउन आएका ६ सय ७३ मध्ये १ सय १२ जना २० वर्ष मुनिका रहेका थिए । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा कार्यरत स्वास्थ्यकर्मी किशोरीहरू आमा बनेको देखेर दिक्क बनेका छन् । ‘रामेछापमा बालविवाहको चलन घटेको छैन । सामाजिक र सांस्कृतिक चालचलन नफेरिएर पनि यस्तो भएको हुन सक्छ,’ प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका डा. अशोक खनाल भन्छन्, ‘सानैमा बच्चा जन्माउँदा पाठेघर परिपक्व भएको हुँदैन । सुत्केरी हुन गाह्रो हुन्छ । पछि उमेर बढ्दै जाँदा पाठेघरको समस्या देखिने सम्भावना बढी रहन्छ ।’

ढिलो विवाह गरे पछिको फाइदाबारे जानकारी नै नपाएका यहाँका किशोरी सानैमा बिहे गर्ने र बच्चा जन्माउनु सहज मान्छन् । परम्परागत चलन, जनचेतनाको कमी र बालविवाहबारे छलफल नचलाउनु बालविवाहको मुख्य कारण देखिएको छ । उमेर नपुग्दै समान उमेर समूहका किशोरकिशोरीले भागेर विवाह गर्ने पुरानो चलन आज पनि रामेछापका गाउँगाउँमा यथावत् छ । बालविवाह पछिको दुष्परिणामबारे पर्याप्त जानकारी प्रवाह हुन नसक्दा समस्या झनै बल्झिरहेको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रकी नर्सिङ इन्चार्ज कमला श्रेष्ठका अनुसार स्वास्थ्य केन्द्रले आफ्नै भवन बनाएर मन्थली नगरपालिका–१ आकाशे सरेपछि सेवाको प्रभावकारिता भने बढेको छ । यो वर्षबाट शल्यक्रिया सेवा सुचारु भए पछि साउन र भदौमा भएका ८१ जना सुत्केरीमध्ये १३ जनाको सफल शल्यक्रिया गरिएको थियो । तर अझै पनि बालविवाह र त्यसपछि सानैमा गर्भधारण गर्ने चलनले हैरान बनाएको उनीहरू बताउँछन् ।

प्रकाशित: ६ आश्विन २०७६ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App