समाज

तनहुँमा मात्रै एक वर्षमा सडक दुर्घटनामा परी ६१ को मृत्यु

दुलेगौँडा(तनहुँ)- सडक दुर्घटनामा कमी ल्याउन विभिन्न कार्यक्रमहरु चलाइएपनि दुर्घटनामा कमी आउन सकेको छैन्। गत आर्थिक बर्ष २०७५/०७६ मा जिल्लामा भएका सडक दुर्घटनामा ६१ जनाले ज्यान गुमाएका छन्।  राजमार्ग तथा ग्रामीण रुटका कच्ची सडकखण्डमा भएका एक सय छ दुर्घटना परी उक्त संख्यामा ज्यान गुमाएका हुन्।

ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा एक सय ८९ जना घाईतेका भएका थिए। जसमध्ये एक सय १८ गम्भिर घाईते तथा ७१ जना सामान्य घाईते भए।

दुर्घटनामा पर्ने सवारीमा मोटरसाईकल अग्रस्थानमा छ। ६६ मोटरसाईकल दुर्घटनामा परेका थिए। ३७ बस, १९ जीप तथा कार, ११ ट्रक, ट्रिपर र ९ वटा माईक्रो दुर्घटनामा परेका हुन्।  अघिल्लो बर्ष भएका सडक दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो।

केही दुर्घटना ग्रामीण क्षेत्रको कच्ची सडकमा भएपनि अधिकांश दुर्घटना पृथ्वीराजमार्गको विभिन्न स्थानमा भएका छन्।  कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाल, बिमलनगर, पावरहाउस, एक्लेफाँट पृथ्वीराजमार्गमा बढी दुर्घटना हुने स्थान हुन्। 

बढी दुर्घटना हुने स्थानहरुमा सचेतना बोर्ड, कनभेक्स मिरर राखिएको छ भने राडर गनमार्फत सवारीको गति मापन गरिन्छ। तर, दुर्घटनाको संख्यामा भने कुनै कमी आएको देखिदैन्। 

दुर्घटना रोक्ने प्रयास भईरहदा कमी नआउनुको प्रमुख कारण सडकको जिर्ण अवस्था रहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक पुर्णबहादुर अधिकारी बताउँछन्। ‘पचास बर्ष पुरानो सडकमा गुड्ने सवारीको चाप ह्वात्तै बढेको छ’, उनले भने, ‘सडक विस्तार तथा स्तरोन्नतीमा सरोकारवालाको ध्यान जादैन्। भत्किएर जिर्ण हुदाँ मर्मत हुदैन्। यी कारणले दुर्घटनामा कमी नआएको हो।’ उनले सडक विस्तार र मर्मतमा ध्यान दिए जिल्लामा भइरहेका दुर्घटनामा उल्लेख्य कमी हुने दाबी गरे। सडक दुर्घटना न्युनिकरण गर्न बर्षेनी विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन भईरहेको उनी बताउँछन्।

एक करोड ६७ लाख राजस्व संकलन

एक बर्षको अवधिमा सवारी कारवाहीबाट जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक करोड ६६ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। ट्राफिक नियम विपरीत चलाउने सवारी साधन तथा मालवाहक ढुवानीका साधन कारवाहीमा परेका हुन्।

नियम विपरित चलाइएका २६ हजार ६ सय ४६ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको थियो। कारवाहीमा पर्ने सवारीमा दुईपांग्रे मोटरसाईकल तथा स्कुटर धेरै छन्। सात हजार ७९ मोटरसाईकल स्कुटरलाई कारबाही गरिदा ४८ लाख ३१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

दशैँ तिहार जस्ता ठुला चाडपर्वका बेला सवारी साधनले लापरवाही गर्ने तथ्याङकले देखाउछ। गत बर्ष कात्तिकमा एउटै महिनामा दशैँ र तिहार परेको थियो। सो महिनामा २ हजार ८ सय ४९ सवारी कारबाहीमा परे।

ट्राफिक प्रमुख अधिकारीका अनुसार १७ लाख ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो। उनी भन्छन्, ‘चाडपर्वका समय चालकले मापसे गर्ने, छतमा यात्रु राखेर ओभर लोड बनाएर सवारी चलाउने प्रवृत्ति हुन्छ। हामीले त्यस्ता चालकलाई जरिवाना गर्ने भएकाले राजस्वल संकलन बढी भएको हो।’

आर्थिक बर्ष २०७४/७५ मा सवारी साधनलाई  कारबाही गर्दा १ करोड ६९ लाख २६ हजार ५ सय रुपैयाँ  र  २०७३/७४ मा ८४ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। 

राजमार्गमा ओभरटेक गर्ने, लेन मिचेर चलाउने, जथाभावी पार्किङ गर्ने, मापसे गरी सवारी चलाउने, ओभरलोड, ओभरस्पिड, मापदण्ड विपरीत कार्य गरेका सवारी कारबाहीमा पर्ने गरेका छन्।

प्रकाशित: १ श्रावण २०७६ ०८:२१ बुधबार

तनहुँ सडक_दुर्घटना मृत्यु