समाज

राजधानीमा बाढीको कहर, दुई सय नाै जनाकाे उद्धार

काठमाडौं - तीनदेखि परेको अविरल वर्षाको कारण डुबानमा परेका  दुई सय नौ जनालाई सशस्त्र प्रहरीको  टोलीले काठमाडौंको विभिन्न ठाउँबाट उद्वार गरेको छ। बाढी तथा झरीको कारण डुबानमा परेका व्यक्तिहरुलाई सशस्त्र प्रहरी टोलीले उद्वार गरेको हो। काठमाडौँको विभिन्न स्थान बाढी तथा डुबानमा परेपछि सशस्त्र प्रहरीको टोली उद्वार कार्यमा जुटेको थियो।  सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण हेक्वा विपद उद्वार काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको टोलीले काठमाडौंको ढुङ्गेअड्डाबाट एक सय ७७ जनालाई उद्वार गरेको थियो।

यसैगरी काठमाडौं महानगरपालिका १४ कलंकीबाट  २४ जनाको उद्वार गरेको थियो।  झरीको कारण त्यहाँका घरहरु डुबानमा परेपछि घरभित्र रहेका ती व्यक्तिहरुलाई उद्वार गरेको हो।  सशस्त्र प्रहरी बल, नेपाल नम्बर १८ गण हेक्वा निलबाराहीबाट सशस्त्र प्रहरी निरीक्षक बालकृष्ण महर्जनको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो। यसैगरी ललितपुरको सुनकोशी स्थित नक्खु खोलामा बाढीको बीचमा परेका आठ जनालाई उद्वार गरेको थियो। ती व्यक्तिहरु बाढी आएको सो खोलाको बीचामा फसेका थिए।  दक्षिणकालीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो।

यसैगरी काठमाडौं जिल्लाको बागेश्वरी मनोहरा नगरपालिका ६ स्थित एक घरको पर्खाल भत्किएर पुरिएका तीन जनाको शव सशस्त्र प्रहरी बल, नेपाल नम्बर २२ गण हेक्वा गुहेश्वरीबाट सशस्त्र प्रहरी निरीक्षक यूकेश उप्रेतीको कमाण्डमा खटिएको एपीएफ टोलीले झिकेको छ।

प्रकाशित: २८ असार २०७६ ०३:१२ शनिबार

वर्षा बाढी डुबान उद्धार