समाज

ग्रामीण महिलालाई पाठेघर क्यान्सर परीक्षणमा असहज

चिकित्सकसँग पाठेघरको मुखको क्यान्सरबारे परामर्श लिँदै महिला तस्बिर: नागरिक

रामेछाप - पछिल्लो समय पाठेघरको मुखको क्यान्सरबारे चर्चा व्यापक बढेको छ। तापनि ग्रामीण भेगका महिला अझै सो क्यान्सरबारे अनभिज्ञ छन्। जो महिला यसबारे जानकार छन्, तिनीहरू पनि परीक्षण गर्न सहज सुविधा नभएकाले समस्यामा परेका छन्। साथै उनीहरू सो क्यान्सरबारे खर्च गरेर सहरसम्म गई परीक्षण गर्नसक्ने अवस्थामा छैनन्।

प्रारम्भिक चरणको अवस्थामा पाठेघरको मुखको क्यान्सर पहिचान गरी उपचार गर्न सकिने भए पनि ग्रामीण भेगका महिलाका लागि उपचार त परै जाओस् परीक्षणको समेत व्यवस्था हुन नसक्दा महिलाको पाठेघरमा संक्रमण बढ्दो छ। क्यान्सरको मारमा पर्ने महिलाको संख्या बढिरहेको तथ्यांकले देखाउँछ। पछिल्लो समय ग्रामीण भेगका महिलाका लागि छिटफुट संस्थाहरूले विशेष स्थानमा क्यान्सर पहिचान शिविर सञ्चालन गरे पनि ती शिविरले सबै महिलालाई समेट्न सकेका छैनन्।

जिल्ला अस्पताल रामेछापले पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न सकिने व्यवस्था हालै मात्र मिलाएको भए पनि ग्रामीण भेगका स्वास्थ्य चौकीमा भने सो सेवा उपलब्ध छैन।

दोरम्बा गाउँपालिका–५ की बुदली बसेलले आफ्नै गाउँ टोकरपुरमा पुण्यप्रसाद स्मृति प्रतिष्ठान कपनको आयोजना र नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा हालै सञ्चालित एकदिने स्वास्थ्य शिविरमा पाठेघरको मुखमा क्यान्सर भए÷नभएको परीक्षण गराइन्। उनले परीक्षण गराए पनि त्यसको ल्याब रिपोर्ट आउन समय लाग्ने भएकाले उनले तुरुन्तै जानकारी पाउन सकिनन्। बसेलले पाठेघरको मुखमा क्यान्सर हुन्छ भन्ने थाहा पाए पनि अहिलेसम्म कतै गएर परीक्षण नगराएको सुनाइन्।

दोरम्बा गाउँपालिकाको केन्द्र टोरकपुरमा सञ्चालित सो शिविरमा एक सयभन्दा बढी महिलाले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको परीक्षण गराएका थिए। परीक्षणमा आएका महिलाले गाउँमै सहज तथा सरल तरिकाले क्यान्सरजस्तो प्राणघातक रोगको परीक्षण गर्न पाएकोमा खुसी व्यक्त गरे। शिविरमा आउने महिलाले रोगको जोखिम थाहा हुँदाहुँदै पनि लाजका कारण परीक्षण गराउन गाह्रो मान्ने गरेको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी चिकित्सक अनुषा शर्माले बताइन्। उनले कतिपय महिलालाई त पाठेघरको मुखमा क्यान्सर हुने र यसको उपचार गर्न सकिन्छ भन्ने कुराको अझै जानकारीसम्म हुन नसकेको बताइन्।

जिल्ला अस्पताल रामेछापले पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न सकिने व्यवस्था हालै मात्र मिलाएको भए पनि ग्रामीण भेगका स्वास्थ्य चौकीमा भने सो सेवा उपलब्ध छैन। सो क्यान्सर परीक्षणका लागि जिल्ला अस्पताल रामेछापमा जनशक्ति तयार गरी परीक्षणको व्यवस्था मिलाएको भए पनि वडास्तरका स्वास्थ्य संस्थामा भने परीक्षण गर्न जनशक्ति र उपकरणको अभाव हुने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका चिकित्सक मविन अर्यालले जानकारी दिए।

प्रकाशित: ६ असार २०७६ ०२:४७ शुक्रबार

पाठेघर_क्यान्सर परीक्षण क्यान्सर