समाज

यसरी बाहिरिएको थियो प्रश्नपत्र

लहान– एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएपछि परीक्षार्थीलाई फर्काइएको छ। बिहान ७ बजेबाट नै परिक्षा केन्द्रमा उपस्थित परीक्षार्थीहरूलाई बिहान ८ बजे प्रश्नपत्र आउट भएको भन्दै घर फर्काइएको हो। 

प्रदेश २ को अस्थायी राजधानी जनकपुरबाट बिहीबार रातिदेखि नै सामाजिक सञ्जालमा सामाजिक विषयको प्रश्नपत्र ‘भाइरल’ भएको थियो।  यो प्रश्न फेसबुकको म्यासेन्जरमार्फत बाहिरिएको बताइएको छ। त्यसपछि सामाजिक सञ्जालमा प्रश्नपत्रलाई भाइरल भनाइएको थियो। यद्यपि परीक्षा नियन्त्रण कार्यालयले कसरी प्रश्नपत्र बाहिरिएको भन्ने पुष्टि गरिसकेको छैन।

सामाजिक सञ्जालमा भाइरल भएको प्रश्नपत्र सक्कली हो वा नक्कली पुष्टि परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि परीक्षा नियन्त्रण कार्यालयले गरेपछि प्रदेश २ भरका जिल्लाहरूमा सामाजिक विषयको परीक्षा स्थगीत भएको शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख डोलराज पाण्डेले बताए। 

राष्ट्रिय परिक्षा बोर्डको आकस्मिक बैठकले प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्न पत्र आउट भएको पुष्टि भएको हो।
‘बोर्डले परीक्षार्थीलाई घर फर्काइदिन गरेको सर्कुलर परीक्षा केन्द्रहरूमा प्रवाह गरेका हौं।’ सामाजि विषयको परिक्षा कहिले हुने मिति तय नभएको उनले बताए। 

परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि केन्द्रीय परीक्षा समन्वय समिति र १५ मिनेट अगाडि केन्द्राध्यक्षले प्रश्नपत्र खोलेर हेर्न पाउने प्रावधान छ। त्यो बेलासम्म प्रश्नपत्र सुरक्षा घेराभित्र रहन्छ। सुरक्षा घेराबाट कसरी प्रश्नपत्र बाहिरएर सामाजिक सञ्जालमा भाइरल भयो? शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको दोस्रो घटना हो। बिहिबार प्रदेश २ को विज्ञान विषयको प्रश्नपत्र पनि परीक्षा सुरु हुनु अगावै बाहिरिएको थियो।

 बिहिबार सप्तरी जिल्लाबाट विज्ञान विषयको प्रश्नपत्र सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ को उक्त विषयको परीक्षा रद्द गरी यो परिक्षा चैत २२ गते तोकिएको छ। विज्ञान विषयको प्रश्नपत्र कहाँबाट कसरी बाहिरियो भन्नेबारे बोर्ड र प्रदेश सरकारले छानविनका लागि छुट्टाछुट्टै समिति बनाएका छन्।

 

प्रकाशित: १५ चैत्र २०७५ ०५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App