समाज

‘आमा बिहेपछि सुख हुन्छ भन्थ्यो तर छोराकै काल भित्र्याएकी रहिछु’

हत्या गरिएका दाजुका शोकमा वेहोस भएकी वहिनीलाई सम्हाल्दै आफन्त। तस्बिर : दिलबहादुर/नागरिक

धनगढी – सँगै बाच्ने, सँगै मर्ने बाचा सहित विवाह बन्धनमा बाधिएका जोडीका लागी सुरुका दिन र महिना छुट्टै रमाइला हुन्छन्। भारतको चेन्नईमा होटलमा मजदुरी गर्ने कंचनपुर पुनर्वास–२ का २५ वर्षीया तेज बहादुर बिष्टका लागी यीनै रमाइला दिन कालमा परिणत भएका छन्।

आफ्नो सुन्दर नयाँ जीवन र भविश्यको सपना बुनिरहेका बेला डेढ महिना अघि विहे गरेर भित्र्याएकी श्रीमती उनका लागी काल बनिन्। ‘जेठो छोराकै भरमा पुरै परिवार थियो, बिहे भएपछि आमा तपाइलाई सुख हुन्छ भन्थ्यो,’ उनकी बृद्ध आमा हिरा बिष्टले भक्कानिदै भनिन्, ‘सुखका दिन आउलान भनेको त छोराको कालका रुपमा बुहारी भित्र्याएकी रहिछु।’

गोदावरी नगरपालिका–११ ओलानी वस्ने २२ वर्षीया लक्ष्मी बडेलाले आफ्ना प्रेमी गोदावरी–१२ वस्ने २४ वर्षीया दिपक खत्रीसँग मिलेर नाटकिय रुपमा तेज बहादुरलाई भासुको भिरमा खसालेर हत्या गरेकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक बिनोद घिमिरेका अनुसार लक्ष्मी र दिपकले हत्या गरेको स्विकारेका छन्।

अमाको सक्रियताले हत्यारा पक्राउ
भारतको चेन्नईको होटलमा तेज बहादुर काम गर्थे। उनका लागी  गोदावरी नगरपालिका – ११ वस्ने लक्ष्मी बडेलाको हात उनका परिवारले दुई बर्ष अघि मागेका थिए। युवती कक्षा १० मा पढीरहेको र  भारतमा मजदुरी गर्ने युवकले पनि बिहेका लागी केही पैसा जम्मा गर्नुपर्ने भएकाले ढिलो बिहे गर्ने सहमती भयो। दुई वर्षसम्म दुजै जना बिच फोनमा कुरा भइरह्यो। गत बैशाख १६ गते दुवै जना विवाह बन्धनमा बाधिए।
 
बिहेभएपछि केही दिनमात्र श्रीमानसँग बसेर कक्षा ११ को परिक्षा दिन्छु भन्दै लक्ष्मी माइतीमै बस्न थालिन। कक्षा ११ को परिक्षा सिध्याएर उनी घरमा फर्किन। श्रीमानसँग दुई तीन साता बसेर जेठको तेश्रो साताको सुुरुतिर उनी माइत गइन्। ‘माइत गएको २१ दिन भएको थियो, फोन गरेर बोलाएकोले असार ८ गते छोरो लिन गएको हो,’ मृतककी आमाले भनिन्, ‘असार ८ गते साँझ ८ बजे छोरोले भोली बिहान आउन्छु भनेर फोन गरेको थियो।’ बिहान ८ बजे बुहारी लक्ष्मीले फोन गरेर हिजो साँझ गएका अहिलेसम्म फर्केका छैनन् भनेर जानकारी दिएपछि उजुरी लेखेर मालाखेती प्रहरी चौकीमा दिएको उनले बताइन्।

९ गते नै छोरो हराएको उजुरी दिएपनि मालाखेती प्रहरीले असार ११ गतेमात्र हराएको सूचना सार्वजनिक गरेको उनले गुनासो गरिन् । छोराको सम्पर्क नभएपछि उनी शंका लागेर लक्ष्मीको माइती घरमा पुगिन्। छोराका जुत्ता र टोपी त्याहा देखेपछि छोरोको हत्या भएको उनलाई शंका लाग्या । उनले प्रहरीलाई छोराको हत्या भएको हुनसक्ने भन्दै जुत्ता र टोपी फेला भएको जानकारी दिइन्।

‘उनकी आमाले माइतीमा जुत्ता र टोपी छ भनेपछि हामीलाई अनुसन्धान गर्न सहयोग पुग्यो,’  प्रहरी उपरिक्षक घिमिरेले भने, ‘हामीले उनकी श्रीमती लक्ष्मी र लक्ष्मीसँग लामो समयदेखि प्रेममा रहेका दिपक खत्रीलाई पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरुले हत्या गरेको स्विकारे।’ उनले दिएको बयानकै आधार मंगलबार भासुको भिरको खोल्सामा बिभत्स रुपमा हत्या गरिएको सड्न लागेको अवस्थामा तेजबहादुरको शव फेला पर्यो।

यसरी गरियो हत्या
लक्ष्मी र दिपक बीच लामो समयदेखि प्रेम सम्बन्ध थियो। दिपक आफ्नै बस चलाउथे। लक्ष्मी र दिपकको परिवारले बिहे गर्न अस्विकार गरे। लक्ष्मीले दिपकलाई भगाएर लैजान भन्दा उनले आँट गर्न सकेनन्। बिहेभएपछि भेटमा र फोनमा लक्ष्मीले श्रीमानसँग जीवन बिताउन नसक्ने भन्दै हत्या गर्ने योजना बनाइन् र त्यसका लागि प्रेमी दिपकलाई दवाव दिन थालिन। उनका प्रेमीले दिएको बयान अनुसार कि मलाई मार कि मेरो श्रीमानलाई मार भनेर दवाव दिने गरेकाले लक्ष्मीको योजना अनुसारनै विष्टको हत्या गरेको सुइकारे।

लक्ष्मीले आफ्नो बहिनीको श्रीमान भन्दै दिपकसँग आफ्नो श्रीमानको चिनजान गराइन्। असार ८ गते साँझ दिपकले साढु भाई भन्दै बिष्टलाई फोन गरेर अत्तरिया वोलाए।

अत्तरियामा दुईजनाले मदिरा सेवन गरे। उनीहरुले मदिरा सेवन गर्दै गर्दा लक्ष्मीको फोन आयो। उनले म गोदावरी माथी छु भन्दै श्रीमानलाई झुक्याएर बोलाइन। लक्ष्मीले प्रहरीलाई दिएको बयान अनुसार दिपकले बिष्टलाई मोटरसाइकलमा राखेर भासुको भिरमा पुगाए। भासुको भीरमा मोटरसाइकल रोकेर किन श्रीमतीलाई कुटपिट गर्छस भनेर भन्दै दिपकले बिष्टको टाउँकोमा टाठी प्रहार गरे। बिष्ट बेहोस भएर ढलेपछि मोटरसाइकल सहित बिष्टलाई दिपकले भासुको भिरबाट खसाले।

असार ८ गते राति २ बजे त्याहाबाट फाले उनीहरुले प्रहरीमा बयान दिएका छन्। त्यसपछि त्यहाँबाट हिडेका उनी बिहान उज्यालो भएपछि खानी डाडा पुगे र  लक्ष्मीलाई तिम्रो काम भयो भन्दै फोन गरे। तर बिष्टका परिवार भने हत्यामा अरुको पनि संलग्ना हुन सक्ने बताउँछन्। मृतकका भाई बिरबहादुर बिष्टले दाजुको हत्या योजनावद्ध ढंगले गरिएको हुनाले अरुको पनि संलग्नता हुन सक्ने बताए।

मृतकका बुवा भरातमा मजदुरी गर्छन्। उनका भाई र दुई बहिनी अबिवाहित छन्। उनमै आश्रीत दुई परिवार बुधबार सेती अञ्चल अस्पताल शवगृह अगाढी शोकमा बिलौना गर्दै छटपटाई रहेको थियो। परिवारका सदस्य पटक पटक मुर्छा परिरहेको दृष्य कहालीलाग्दो थियो।

प्रकाशित: १३ असार २०७५ ०३:४९ बुधबार

आमा बिहेपछि सुख हुन्छ भन्थ्यो छोराकै काल भित्र्याएकी रहिछु