समाज

बलात्कारबाट गर्भवती बालिका न्याय खोज्दै सदरमुकाम

इलाम– जिल्लामा महिला हिंसा र बालिका बलात्कारको ग्राफ उचाईमा पुगेका बेला एक बालिका बलात्कृत भएर न्याय खोज्दै सदरमुकाम आएकी छिन्। सूर्याेदय नगरपालिकाकी १५ वर्षीया बालिका बलात्कारपछि पेटमा ६ महिनाको गर्भ लिएर न्याय खोज्न भौंतारिएकी हुन्। 

पीडित बालिका र उनकी आमाले आइतबार महिला तथा बालबालिका कार्यालयसम्म आएर आफ्ना पीडा पोखे। पीडित बालिकाकी ३४ वर्षीया आमाले परिवारकै ५ आफन्तले पटक–पटक बलात्कार गरेको छोरीले आफूलाई बताएको सुनाइन्। ‘छोरीलाई छारे रोग लागेर जँचाउन अस्पताल गएका बेला उनको पिसाबको रिपोर्टमा चाहिँ पेटमा गर्भ रहेको थाहा भयो,’ बालिकाकी आमाले भनिन्, ‘१ महिनाअघि मात्रै छोरीको पेटमा बच्चा रहेको थाहा पाएर छाँगाबाट खसें, सोधीखोजी गर्दा सबै आफन्तकै नाम छोरीले भनेकाले अझ तीनछक्क परेकी छु।’ 

कहिले ‘पैसा दिन्छु’ भन्दै फकाएर र कहिले ‘कसैलाई सुनाए मारिदिन्छु’ भन्दै धम्क्याएर एक आफन्तले नै छोरीलाई ९ वर्षकी हुँदादेखि नै पटक–पटक बलात्कार गरिरहेकोसमेत पीडित बालिकाकी आमाले सुनाइन्। ‘छोरी पहिला त निकै बाठी थिइन्, पछि एकोहोरिइरहने, टोलाउने गर्न थालेकी थिइन्,’ बालिकाकी आमाले भनिन्, ‘यत्रो घटना भइसकेछ, हामीलाई भर्खरै मात्र थाहा भयो।’ पीडकहरूले सधैं धम्क्याउने गरेकाले छोरीले कसैलाई केही भन्न नसकेको उनकी आमाले बताइन्। 

पीडित बालिका कक्षा ६ बाट दोस्रो स्थान ल्याएर ७ कक्षामा पुगेको पोहोर नै हो। तर, उनी बलात्कारकै पीडाले १ वर्षदेखि विद्यालय जान नसकेको उनकी आमाले सुनाइन्। ‘छोरी डराएजस्तो गरेर स्कुल जान छाडिन्, हामीलाई त सबै थाहा थिएन,’ उनले भनिन्, ‘अहिले पो के गरौं र कसो गरौं भइसक्यो। हामीलाई कसरी न्याय हुन्छ होला?’ बालिकाको परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय छ। मजदुरी गरेर पेट पाल्ने उनका बाबु दीर्घरोगले लामो समयदेखि ओछ्यान परेका छन्। आमा मजदुरी गर्न दिनहुँ अर्काकोमा जानुपर्दा घरमा बस्न भ्याउँदिनन्। परिवारको घरजग्गा छैन, उनीहरू अर्काको घरमा आश्रय लिएर बसेका छन्।

महिला विकास अधिकृत राजकुमारी राईले पीडितहरू कार्यालयमा आएको र आफूले कानुनी प्रक्रियाका लागि वकिलसँग सम्पर्क गराइदिएको बताइन्। ‘पीडितहरूले निकै गम्भीर घटना लिएर आउनुभएको थियो,’ उनले भनिन्, ‘अब न्यायका लागि प्रक्रियामा जानुहुन्छ होला।’ 

पीडित बालिका र उनकी आमाले आफूहरूमाथि अन्याय भएको भन्दै पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयमा पनि मौखिक उजुरी दिएका थिए। प्रहरीले ५ आरोपीमध्ये ४ जनालाई गत शुक्रबार कार्यालयमा उपस्थितसमेत गराएको थियो। ‘बालिका गर्भवती भएको ६ महिनाको हदम्याद नाघेपछि पीडित सोझै अदालत जानुपर्ने भएकाले उहाँहरू सदरमुकाम जानुभएको छ,’ पशुपतिनगर प्रहरीका इन्स्पेक्टर शिवबहादुर बुढाथोकीले भने, ‘आरोपीहरू पनि यहाँबाट फर्किइसकेका छन्।’

प्रकाशित: १३ जेष्ठ २०७५ १२:०२ आइतबार

बलात्कारबाट गर्भवती बालिका न्याय खोज्दै सदरमुकाम