इलाममा माघ ५ देखि १२ सम्म हुने भनिएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको मिति एक महिनापछि धकेलिएको छ।
इलामको ठूलो टुँडिखेलमा आउँदो फागुन १७ देखि २४ सम्म प्रतियोगिता हुनेगरी मिति परिवर्तन भएको आयोजकले जानकारी दिएको छ।
आयोजक क्लब ओएसिसले बुधबार पत्रकार सम्मेलन गरी महिला लिग, यु–२० महिला साफ च्याम्पियन र फोर–नेसन कपसमेत यही मितिमा परेकाले माघको प्रतियोगिता स्थगित गर्नुपरेको जानकारी दिएको छ।
क्लब सचिव रोशन राईले खेलाडीको समय मिलाउन प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेको बताए। ‘हाम्रो प्रतियोगितामा भाग लिने टिममा राष्ट्रिय खेलाडी धेरै हुनेछन्,’ उनले भने, ‘उनीहरूको समय मिलाउन पनि हामीले प्रतियोगिता पछि सारेका छौं।’
प्रतियोगितामा भाग लिने टिमको भने टुंगो लागेको आयोजकले जनाएको छ। आयोजक समिति अध्यक्ष च्याङ मुखियाका अनुसार तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ क्लब, डिफेन्डिङ च्याम्पियन भारतीय पाहुना टोली मानेभञ्ज्याङ, भारत उत्तर प्रदेशको मदर टेरेसा क्लब, ओखलढुंगाको पद्मा स्पोर्टिङ, बाग्मती युथ क्लब र आयोजकले प्रतियोगितामा भाग लिनेछन्।
विजेता टिमले नगद चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पाउने छन्। ५१ लाख रुपैयाँको आय–व्यय अनुमान गरिएको प्रतियोगिता सञ्चालन गर्न विभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलनको काम भइरहेको आयोजकले जनाएको छ। इलाम राँके बसोबास गर्ने ठालुमान श्रेष्ठका परिवारजनले दोस्रो पुरस्कार राशि सहयोग गर्ने भएको राईले जनाए।
राष्ट्रिय टिमका धेरै खेलाडी सहभागी हुने आशा गरिएको प्रयिोगितामा दर्शक प्रवेश शुल्क प्रतिव्यक्ति सय रुपैयाँ तोकिएको छ। सेमिफाइनलका लागि दुई सय र फाइलनको टिकटदर तीन सय रुपैयाँ हुने आयोजकले जनाएको छ।
७० वर्षभन्दा माथिका, बालबालिका, अपांगता भएका व्यक्तिलाई प्रवेश निःशुल्क गरिनेछ भने विद्यार्थीलाई फाइनलबाहेकका खेलमा आधा छुट गरिने उनको भनाइ छ।
प्रकाशित: २ माघ २०८१ २०:५५ बुधबार