समाज

तोक्मेमा धाननाच प्रतिमाको अनावरण

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित तोक्मेमा निर्माण भएको धाननाच प्रतिमा (ताक्वाजङ याःसक्मादेन) को अनावरण गरिएको छ । किरात याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा निर्मित धाननाच प्रतिमाको बिहीबार याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम यक्तेनले अनावरण गरेका छन् ।  

लिम्बू जातिको ऐतिहासिक र सांस्कृतिक परम्परालाई जीवन्त बनाई राख्न धाननाच प्रतिमा निर्माण भएको निर्माण समितिले जनाएको छ । स्थानीय कीर्तिमान मादेनको संयोजत्वमा निर्माण समिति बनेको थियो । प्रतिमामा दुई महिला र दुई पुरुषले धाननाच नाचिरहेको संकेत देखाईएको छ ।  

काँसको धाननाच प्रतिमा बनाउन राष्ट्रिय तथा अनुभवी मूर्तिकार पूर्ण वनेमसहित ४ जना कालिगढ खटिएका थिए । ५ फिट उचाइको पिलरमा रहेको प्रतिमामा पुरुषको ६ दशमलव ५ फिट उचाई र महिलाको ६ फिट उचाइ राखिएको छ । धान नाचको प्रतिमाको पृष्ठभूमीमा कुम्भकर्ण हिमाल(फक्ताङलुङ) र पाथीभरा डाँडा (मुक्कुमलुङ) सहितको आकृति कोरिएको छ ।  

ताप्लेजुङ सदरमुकाम नजिक घुमफिरका लागि समेत रमणीय हुनेगरी उक्त धाननाच प्रतिमा निर्माण भएको हो । निर्माणका लागि सहयोग रकमको व्यवस्थापन गर्ने किरात याक्थुङ चुम्लुङ इजरायललाई निर्माण समितिले धन्यवाद समेत दिएको छ ।  

धाननाच नेपालको पूर्वी पहाडी जिल्लामा बसोबास गर्ने लिम्बू जातिले नाच्ने परम्परागत नाच हो । यो साँस्कृतिक पहिचान अर्थात् मौलिक सांस्कृतिक पहिचान बोकेको एक प्रकारको नाचको रुपमा परिचित रहेको छ । पालम गाउँदै धान नाच नाचिन्छ ।

प्रकाशित: २५ पुस २०८१ १७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App