मोटरसाइकलको साइलेन्सर पाइप परिवर्तन गरी अस्वाभाविक र चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने कार्यमा संलग्न एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ।
जनगुनासोका आधारमा चितवन जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भरतपुर महानगरपालिका वडा नं-९ स्थित ग्यासोलिन इनफिल्ड मोटरसाइकल ग्यारेजमा छापा मारेको थियो।
सो क्रममा मोटरसाइकलको स्वरूप परिवर्तन गर्दै अस्वाभाविक आवाज निकाल्ने पाटपुर्जा जडान गरिरहेको अवस्थामा २५ वर्षीय अफसर आलमलाई नियन्त्रणमा लिइएको हो।
भारत, मोतिहारीका स्थायी बासिन्दा आलम सोही ग्यारेजमा कार्यरत थिए। उनलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
चितवन जिल्लामा मोटरसाइकलबाट चर्को आवाज निकालेर हुने ध्वनि प्रदूषणबारे स्थानीयले दिएको गुनासोलाई आधार मानी प्रहरीले यो कारबाही थालेको हो।
यसरी हुने ध्वनि प्रदूषणले जनजीवनमा नकारात्मक प्रभाव पार्ने भएकाले प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिरहेको छ।
प्रहरीका अनुसार मोटरसाइकलका साइलेंसर पाइप परिवर्तन गरी चर्को आवाज निकाल्ने कार्यले नागरिकको दैनिकीमा समस्या सिर्जना गरेको छ। यसलाई रोक्न आगामी दिनमा पनि कडा निगरानी र कारबाही गरिने बताइएको छ।
प्रकाशित: २४ पुस २०८१ २१:०७ बुधबार