समाज

उदयपुरगढीमा ‘राष्ट्रपति रनिङ शिल्ड’ सुरु

प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष मानबहादुर केप्छाकी र उपाध्यक्ष जितबहादुर खड्का। तस्बिर: महेश्वर/नागरिक

उदयपुरगढी गाउँपालिकामा तेस्रो गाउँपालिकास्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु भएको छ। तावाश्रीस्थित बाहुनीटारमा आयोजना गरिएको यस प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले गरे।

गाउँपालिकाका विभिन्न १६ विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागितामा सञ्चालन भएको प्रतियोगिताको आयोजना स्थानीय धुवाजन माविले गरेको हो। प्रतियोगितालाई गाउँपालिकाले प्रायोजन गरेको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास समितिले जनाएको छ।

प्रतियोगितामा पुरुष र महिला भलिबलसहित एथलेटिक्सका विभिन्न विधाहरूमा प्रतिस्पर्धा हुनेछ। शिक्षा शाखाका कर्मचारी बविन राईका अनुसार, एथलेटिक्सतर्फ छोटो तथा लामो दूरीको दौड, हाईजम्प, लङजम्प, ज्याभलिन थ्रो, छेलो हान्ने जस्ता विधाहरू समावेश छन्।

प्रतियोगिताका विजेतालाई सिल्ड, नगद पुरस्कार, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, प्रथम स्थान प्राप्त गर्ने विद्यालयका खेलाडीहरूले जिल्ला, प्रदेश, र सङ्घीयस्तरीय प्रतियोगितामा सहभागी हुने अवसर पाउने व्यवस्था रहेको शिक्षा शाखाले जनाएको छ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न आयोजना गरिने यो प्रतियोगिता खेलकुदमैत्री वातावरण निर्माणमा सहयोगी हुने विश्वास गरिएको छ।

प्रकाशित: २४ पुस २०८१ २०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App