समाज

आजदेखि भित्रिंदै दोस्रो हिउँदे वर्षा प्रणाली

मौसमविद्हरूले यस वर्षको दोस्रो हिउँदे वर्षा प्रणाली शुक्रबार सुदूरपश्चिम क्षेत्रबाट मुलुकमा भित्रिने जनाएका छन्। पहिलो हिउँदे वर्षा प्रणाली गत सोमबार मुलुकमा प्रवेश गरेको थियो। त्यसैका कारण मंगलबार अपराह्न काठमाडौंमा फाट्टफुट्ट वर्षा भएको थियो। मौसम बुधाबार र बिहीबार भने सफा रह्यो। वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली भई ठाउँठाउँमा हल्का वर्षा हुने सम्भावना छ।

‘काठमाडौं उपत्यकामा भने शनिबार हल्का वर्षा हुने सम्भावना छ’, अर्यालले भने, ‘यसबाट उपत्यका र उपत्यकाका पूर्वी क्षेत्र प्रभावित हुने अवस्था छ।’

जल तथा मौसम विज्ञान विभागले बिहीबार मौसमसम्बन्धी निकालेको विशेष बुलेटिनअनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण शुक्रबार साँझबाट नेपालका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना छ।

उक्त प्रणालीको प्रभावका कारण शुक्रबार अपरान्हदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा, गण्डकी, बागमती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार मौसममा आउने परिवर्तनले तापक्रमसमेत घट्न गई चिसो बढ्न सक्ने छ।

वर्षा, हिमपात र चिसोका कारण शुक्रबार र शनिबार दैनिक जनजीवन, पर्वतारोहण, हवाई यातायात लगायतमा असर पर्न सक्ने भन्दै विभागले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। अघिल्लो वर्ष हिउँदमा खासै वर्षा भएको थिएन।

गत वर्षको हिउँदमा सुदूरपश्चिम र पश्चिम क्षेत्रमा फाट्टफुट्ट वर्षा भए पनि काठमाडौं उपत्यका र पूर्वी क्षेत्रमा वर्षा गराउने प्रणाली सक्रिय भएन। यस वर्ष भने वर्षायाममा पनि अघिल्लो सालको भन्दा बढी वर्षा भयो। काठमाडौंलगायत केही ठाउँमा वर्षाको नयाँ रेकर्ड बनेको थियो।

यस वर्ष हिउँदयाम सुरुसँगै क्रमिक रूपमा देशभर तापक्रम घट्दा चिसो बढ्दै गएको छ। चिसो बढेसँगै प्रदूषणको पनि जोखिम देखिएको छ।मौसमविद्हरूका अनुसार जनवरी सबैभन्दा चिसो महिना मानिन्छ। डिसेम्बर, जनवरी र फेब्रुअरी महिनालाई हिउँदयाम मान्ने गरिएको छ।

प्रदूषणको हिसाबले वर्षायामभन्दा हिउँद तुलनात्मक रूपमा जोखिमपूर्ण मानिन्छ। हिउँदयाम अर्थात् चिसोमा प्रदूषणको मात्रा बढ्छ, जुन मानव स्वास्थ्यका लागि खतरनाक हुने विज्ञहरू बताउँछन्।

प्रकाशित: १२ पुस २०८१ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App