जिल्लामा अपाङ्गता भएकाहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण अभियान सञ्चालन भइरहेको छ। कोशी प्रदेश सरकार, करुणा फाउण्डेसन र स्थानीय सरकारको त्रिपक्षीय साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासङ्घ कोशी प्रदेशको प्राविधिक सहयोगमा अभियान सञ्चालन भइरहेको हो।
जिल्लाको छ स्थानीय तहमध्ये म्याङ्लुङ र लालीगुराँस नगरपालिका, मेन्छ्याययेम, छथर र आठराई गाउँपालिकामा शिविरमार्फत अभियान सम्पन्न भइसकेको छ। करुणा फाउण्डेसन नेपालका पालिका संयोजकका अनुसार एक हजार एक सय २२ जना अपाङ्गता भएका व्यक्तिको पहिचान भएको छ। दुई सय ८६ जनालाई नयाँ परिचयपत्र वितरण गरिएको फाउण्डेसनका संयोजक गणेश लामिछानेले जानकारी दिए।
म्याङ्लुङ नगरपालिका–९ शाब्ला सम्फरजुङकी ७८ वर्षीया धनमाया लिम्बूले अपाङ्गता भएको छ वर्षपछि परिचयपत्रस्वरूप रातो कार्ड पाएको बताइन्। पक्षघातले पूर्णअपाङ्गता बनाएको लामो समयपछि उनले यसपाली वडामा सञ्चालन भएको अपाङ्गता परिचयपत्र वितरण तथा स्वास्थ्य परीक्षण शिविरबाट ‘क’ वर्गको रातो परिचयपत्र पाएकी हुन्।
परिचयपत्र बनाउने स्थानसम्म बोकेर लान नसक्ने अवस्थामा रहेकाले यसअघि उनले परिचयपत्र पाएकी थिइनन्। यसपाली भने वडाको एम्बुलेन्सले घरबाट वडामा सञ्चालन भएको शिविरसम्म पुर्याएर परिचयपत्र दिँदा सहज हुनुका साथै खुसी बनाएको धनमायाकी बुहारी लक्ष्मी लिम्बूले सुनाइन्।
ज्येष्ठ नागरिकको सेवासुविधा लिइरहेकी धनमायाले रातो परिचयपत्र पाएपछि सरकारले दिने निःशुल्क स्वास्थ्य बिमाको सुविधासमेत पाएकी छिन्। सरकारले दिने सुविधा दोहोरो रूपमा लिन नमिल्ने भएकाले ज्येष्ठ नागरिकको सुविधा लिइरहेकी उनलाई पूर्णअपाङ्गता भएकाले प्राप्त गर्ने मासिक रु चार हजार भत्ता भने दिन नमिल्ने वडाध्यक्ष राकेश फुदोङले बताए।
त्यसैगरी आठ महिनायता ह्वील चियरमा रहेका म्याङलुङ–७ का ३७ वर्षीय गङ्गा गुरुङले पनि अपाङ्गता भएका व्यक्तिले पाउने ‘क’ वर्गको रातो परिचयपत्र पाएका छन्। हिँड्डुल गर्न नसक्ने उनलाई वडाको एम्बुलेन्समार्फत शिविरमा पुर्याएर परिचयपत्र वितरण गरिएको म्याङ्लुङ–७ का वडाध्यक्ष तारा कार्की गुरुङले बताइन्।
शिविरमा शारीरिक, मानसिक मनोसामाजिक, बौद्धिक, स्वर बोलाइ, सुनाइ, दृष्टि, अटिजम, हेमोफोलियासम्बन्धी अपाङ्गता भएका व्यक्तिको पहिचान भएको फाउण्डेसन संयोजक लामिछानेले बताए। मङ्गलबारदेखि फेदाप गाउँपालिकामा शिविर सञ्चालन गरिने उनले जानकारी दिए।
शिविरमा आँखा र कानसम्बन्धी विशेषज्ञ एक/एक, फिजियोथेरापिष्ट एक, मेडिकल अधिकृत गरी चार जना स्वास्थ्य प्राविधिकहरूले सेवा दिइरहेका छन्। रासस
प्रकाशित: ९ पुस २०८१ ०७:४२ मंगलबार