आधा किलो सुनसहित प्रहरीले दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोक नजिकै चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेट भएको कारमा लुकाइएको सुनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार उक्त कार भारतको उत्तर प्रदेश पलियाकला खिरीका ४४ वर्षीय दीपक गुप्ताले चलाइरहेका थिए। प्रहरीले गाडीभित्र रहेको ज्याकेटको खल्तीमा लुकाइएका सुनको दुई टुक्रा बरामद गरेको छ। जसको तौल ५४९.२०० प्रहरी निरीक्षक खड्काले जानकारी दिए।
पक्राउ परेका दुवै व्यक्ति भारतको उत्तर प्रदेश पलियाकला खिरी निवासी हुन्। उनीहरुमा एक ४४ वर्षीय दीपक गुप्ता र अर्का ३४ वर्षीय सुमित वर्मा रहेका छन्।
चेकजाँचका क्रममा प्रहरीले गाडीबाट एक ल्यापटप, दुई थान मोबाइल, नेपाली नगद ४४,८१०।- र भारतीय मुद्रा १,२८०।- समेत बरामद गरेको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।
प्रकाशित: ७ पुस २०८१ १५:०४ आइतबार