समाज

बागमतीका मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रीद्वारा नुवाकोटमा दुई पुलको शिलान्यास

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र भौतिक पूर्वाधार विकास मन्त्री ई. अमनकुमार मास्केले नुवाकोटमा दुई वटा पुलको शिलान्यास गरेका छन्। नुवाकोटको बेलकोटगढी, लिँखु र ककनी गाउँपालिकाको संगम स्थल समेत रहेको सुपारी खोल्ची बेलकोटगढी मोटरेबल पुल र कटरबोटे सिन्धुरे खोला जोड्ने सडक पुलको एकैपटक शिलान्यास भएको हो।

पूर्वाधार विकास कार्यालय नुवाकोटद्वारा निर्माण हुने कटरबोटे सिन्धुरे खोला पुल २०८२ साल असोज १९ गते निर्माण सम्पन्न हुने लक्ष्य राखिएको यो पुल पाँच करोड ८६ लाख ३३ हजार आठ सय अठार रुपैयाँमा २५.६ मिटर लम्बाइ र ८.४ मिटर चौडाइ हुनेछ। आठ करोड ४६ लाख ४२ हजार चार सय ७४ रुपैयाँ लागतमा निर्माण हुने सुपारी खोल्ची बेलकोटगढी मोटरेबल पुल २०८२ असोज २० गते सम्पन्न गरिने लक्ष्य राखिएको छ। यो पुलको लम्बाइ ४१.४ मिटर एवं चौडाई ८.४ मिटर हुने पूर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ।

पुल उद्घाटन गर्दै भौतिक मन्त्री ई. मास्केले पर्यटकीय महत्व एवं कृषि क्षेत्रको हब रहेको सो स्थानमा सडक निर्माणमा प्राथमिकता दिने बताए।

अधुरै रहेका पुराना बहुवर्षीय क्रमागत योजनालाई लयमा फर्काउनुका साथै सात रणनीतिक महत्वका सडक एवं पुलको स्तरोन्नति गर्दै सम्वृद्धि र विकासको सम्बाहक सडकलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखी काम गर्दै आएको इन्जिनियर रहेका मन्त्री मास्केले बताए।

उनले भने, 'भौतिक पूर्वाधार विकास मन्त्रालय ट्रष्ट, टिम वर्क र ट्रान्सपरेन्सी गरी ३ स को मान्यताअनुरुप जनताको विकासको अनुभूति हुने गरी काम गरिरहेको छ। नुवाकोटमा मुख्यमन्त्री लामासँगको समन्वयमा आवश्यकता र औचित्यता अनुरूप बजेट विनियोजन भइ विभिन्न पूर्वाधारको काम भइरहेको मन्त्री मास्केको भनाइ छ।

यस्तै भौतिक पूर्वाधार विकास मन्त्री ई. मास्केले रसुवामा पूर्वाधार विकास कार्यालय रसुवाको कार्यालय उद्घाटन गरेका थिए भने गोसाइँकुण्ड गाउँपालिकाद्वारा स्याफ्रुवेसीमा आयोजना गरिएको 'पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता' को समापन समारोहमा पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: ७ पुस २०८१ ०८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App