समाज

बर्दियामा स्कुटर दुर्घटनामा परि बाबु छोरीको मृत्यु

बर्दियाको गुलरिया नगरपालिका–६ स्थित हुलाकी सडकखण्डमा स्कुटर दुर्घटनामा परि बाबु-छोरीको ज्यान गएको छ।

आइतबार दिउँसो अस्पताल नजिकै सडक किनारमा रोकिराखेको ट्याक्टरको ट्रलीमा ठोक्किँदा सप्तरीको रुपनी गाउँपालिका–१ घर भई हाल गुलरिया नगरपालिका–६ आदर्श नगर टोलमा भाडामा बस्दै आएका ३७ वर्षीय रामकुमार साह र उनकी ६ वर्षीया छोरी विद्याको मृत्यु भएको हो।

दुर्घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ति मगरले जानकारी दिँदै भने, ‘स्कुटर साहले चलाएका थिए। दुर्घटनामा गम्भीर घाइते भएकालाई तत्काल बर्दिया अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा बाबु-छोरीको मृत्यु भयो।’

स्कुटरमा सवार रहेका साहकी ३२ वर्षीया श्रीमती रुबी शाह र २ वर्षीय छोरा प्रिन्स साहको बर्दिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भे १ त १०६२ नम्बरको ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्कुटरमा चार जना सवार रहेको र टेक्टर किनारमा रोकिराखेकै कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रकाशित: ३० मंसिर २०८१ १८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App