बागलुङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा किसान मर्कामा परेका छन्। वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेका छैनन्।
पर्याप्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा परनिर्भर हुनुपरेको हो। बर्सेनि जिल्लामा कृषि क्षेत्रका लागि करोडौँका बजेट परे पनि योजना समयमा सम्पन्न नहुँदा किसान मर्कामा परेका हुन्।
चालु आर्थिक वर्षमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट ८८ आयोजना परेका छन्। गण्डकी प्रदेश र सङ्घीय सरकारअन्तर्गतका उक्त आयोजनाका लागि प्रदेशको १४ करोड रुपैयाँ बजेट परेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी जीवन अधिकारीले जानकारी दिए। उनका अनुसार जिल्लाका १० वटै पालिकाहरूमा योजना परेका छन्।
अधिकारीले जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३० हजार नौ सय १९ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको जानकारी गराए। त्यसमध्ये २५ दशमलव ८७ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको उनको भनाई छ। उनका अनुसार बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार आठ सय ४१ हेक्टर रहेको छ।
गलकोट नगरपालिका–११ का कर्णबहादुर काउचा सिँचाइको सुविधा नहुँदा पछिल्लो समय धेरै खेतीयोग्य जमिन बाँझोमा परिणत हुन थालेको बताउँछन्। एक दशक अगाडिसम्म गाउँमा साना खोलाबाट कुलो निर्माण गरेर सिँचाइ गर्ने गरेको स्मरण गर्दै अहिले मुहान सुक्दै गएपछि धेरै जमिनमा खेतीपाती हुन छोडेको उनको भनाई छ।
निसीखोला गाउँपालिका–१ का तुलबहादुर खत्रीले सिँचाइ राम्रो नहुँदा धान उत्पादनमा कमी आएको बताए। सिँचाइको पर्याप्त सुविधा नभएको र वर्षा पनि समयमै नहुँदा किसानलाई बर्सेनि खाद्यबाली उत्पादनमा समस्या भएको छ।
उनले भने, “यो क्षेत्रमा धेरै ठाउँमा धान फल्ने जग्गा हुँदा पनि सिँचाइको समस्याले उब्जनी भएको छैन। धान रोपेपछि पानी पाउनै मुस्किल हुन्छ, आकाशे पानीको भरमा धान रोप्नुपर्ने अवस्था छ, खेतीयोग्य जमिनमा सिँचाइको राम्रो सुविधा नहुँदा परनिर्भर बन्नुपरिरहेको छ। सरोकार भएका निकायले यो समस्या समाधान गरी किसानलाई राहत दिनुपर्छ।” रासस
प्रकाशित: २५ मंसिर २०८१ १०:२७ मंगलबार