समाज

गर्भवतीलाई हिँड्न नपरोस् भनेर टोलटोलमा नि:शुल्क एक्सरे सेवा

सहिद लखन गाउँपालिकामा टोलटोलमा पुगेर पालिकाभित्रका गर्भवतीलाई नि:शुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको छ। 

गाउँपालिका स्वास्थ्य शाखामार्फत पालिकाभित्रका विभिन्न वडामा पुगेर ४९ जना गर्भवतीको नि:शुल्क भिडियो एक्सरे गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए।  

“आमा र गर्भस्थ शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गाउँपालिकाले सबै वडाका टोलटोलमा तालिमप्राप्त स्वास्थ्यकर्मी परिचालन गरेर सेवा उपलब्ध गराउँदै आएको छ”, उनले भने।  

श्रेष्ठका अनुसार गाउँपालिकाको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत गर्भवतीका लागि हरेक महिना नियमित रूपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउँदै आएको छ।  

गाउँपालिकाले गर्भवतीलाई भिडियो जाँचका लागि हिँडेर आवतजावत गर्न नपरोस् भनेर टोलटोलमै पुगेर सेवा उपलब्ध गराउँदै आएको हो।  

गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमका लागि पालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी मनिला श्रेष्ठ, बुङ्कोट स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी ज्ञानु सेन्चुरी र बक्राङ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी समीक्षा दराईसहित तीन जनामात्र तालिमप्राप्त स्वास्थकर्मी छन्। रासस 

प्रकाशित: १२ मंसिर २०८१ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App