तराई मधेस क्षेत्रमा दाइजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन्। मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरीचेलीको विवाह गर्दा दाइजोमा गच्छे अनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो। हुन त हिन्दू नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ।
योभन्दा फरक प्रचलन पनि छ, जो सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। यस्तो आश्चर्य लाग्ने प्रथा हो यहाँका मरिक समुदायको, जहाँ आजपर्यन्त छोरीचेलीको विवाह गर्दा दाइजोमा गाउँ नै दिने गरिएको छ।
सुनसरीका विभिन्न क्षेत्रमा बसोबास गर्ने मरिक समुदायका व्यक्तिले अहिले पनि छोरीको बिहेमा गच्छेअनुसार गाउँ नै दाइजोको रूपमा दिने प्रचलन रहेको सुनसरी हरिनगर–२ का अगुवा भट्टाई मरिकले बताए।
मरिक समुदायका व्यक्तिले छोरीको बिहे गर्दा ज्याइँ गाउँमा नै बसोबासका लागि राजी भएमा एउटा गाउँ नै दाइजोस्वरूप दिने गरेको भट्टाईले सुनाए। उनको कुरा सुनेपछि हरिनगर–३ का चन्दन मरिकलाई यसबारे जिज्ञासा राखियाे। उनले भने,“हो नि हजुर ज्वाइँ राजी भएमा गाउँ नै दाइजोमा दिने चलन छ। यसको उद्देश्य भनेको छोरीचेली र भोलि जन्मिने सन्ततीलाई सहज होस् भन्ने हो।”
मरिक समुदायको मुख्य पेसा सरसफाइ गर्ने, बिहेबारीमा आफ्नो गाउँका यजमानलाई बाँसको सामग्री पु¥याउने, चाडबाडका बेलामा बाँसका सामग्री बनाएर बिक्रीवितरण गर्नु हो। चाडपर्व, व्रतबन्धलगायत अवसरमा बाँसको सामग्री प्रयोग अनिवार्य भएकाले एकजनाको गाउँमा अर्को मरिक समुदायका व्यक्तिले बिक्रीवितरण गर्न नपाइने आन्तरिक सहमति हुने गरेको छ। विशेष गरेर ग्रामीण भेगमा बसोबास गर्ने नागरिकले तोकिएका व्यक्तिबाटै विभिन्न सामग्री लिने गरिन्छ। यजमानले लिएको सामग्रीवापत मरिक समुदायका व्यक्तिले चामल, धान, गहुँ, नगद र बाँस लिने गरेका छन्।
विभिन्न किसिमका सामग्री बिक्रीका लागि बजारमा जानुपर्ने वा गाउँघरमै पसल गरेर बिक्री गर्नुपर्ने बाध्यता भए पनि मरिक समुदायका व्यक्तिले आफूले बनाएको सामग्री बिक्री गर्न गाउँ नै बाँडफाँट गरेको हुन्छ। कुन गाउँ वा टोलमा कुन परिवारले कारोबारको जिम्मा लिने भनेर आपसी समझदारी हुन्छ। एकले अर्काको गाउँमा सामग्री बिक्री गरेमा समाजले जरिवानासमेत गर्ने गरिएको छ। आफ्नो क्षेत्र बेच्न चाहनेले कारोबार अनुसारको रकम लिई बेच्नसमेत सक्ने चलन रहेको छ।
एक गाउँ बेच्दा तीन लाखदेखि चार लाख रूपैयाँ वा सामाजिक मूल्याङकन अनुसार रकम लिने दिने गरिन्छ। सोही गाउँ मरिक समुदायका व्यक्तिले छोरी–ज्वाइँलाई गाउँमै बस्ने सर्तमा दाइजो स्वरूप दिने गरिएको हरिनगर–२ का वीरेन्द्र मरिकले बताए। दाइजोमा दिएको गाउँमा उनीहरूले कारोबार गर्ने अनुमतिसमेत पाउने र मरिक समाजले त्यसलाई स्वीकार्ने चलन रहेको उनले सुनाए।
प्रकाशित: १९ कार्तिक २०८१ ०७:५९ सोमबार