समाज

बसको ठक्करबाट घाइते भएकी युवतीको निधन

सोमबार बिहान यात्रुवाहक बस र मोटरसाईकाल एकापसमा ठक्करबाट घाइते भएकी एक युवतिको उपचारको क्रममा निधन भएको छ। सोमबार बिहान १२ः३० बजे त्रियुगा नगरपालिका ७ चुहाडेस्थित मदन भण्डारी लोकमार्गमा बस र मोटरसाइकल ठक्कर खाँदा घाइते युवतिको विराटनगरमा उपचारको क्रममा निधन भएको हो।

सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ५३५२ नं.को यात्रुवाहक बसले विपरीत दिसाबाट आउँदै गरेको प्रदेश नं. ३–०२–००६ प ७०८६ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार गम्भीर घाइते भएकी अंशु राईको निधन भएको उदयपुर प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले दुर्घटनामा परी लिमचुङबुङ ४ बलम्ता स्थायी घर भई त्रियुगा नगरपालिका ५ श्रीपुर बस्दै आएकी १८ वर्षीया अंशु राई गम्भीर घाइते भएको र उपचारार्थ विराटनगर लगिएकोमा आर्या न्युरो अस्पतालमा उपचारकै क्रममा निधन भएको बताए।

मृतककी फुपू रेनुका राईलाई उद्धृत गर्दै प्रहरीले बताए अनुसार सोमबार राति ८ः३० बजे अंशुको निधन भएको हो। मोटरसाइकल चालक रौतामाई गाउँपालिका ७ मुकुचीका २२ वर्षीया जिपछिरिङ शेर्पा पनि घाइते भएको र उनको पनि सोही अस्पतालमा उपचार भइरहेको एसपी योगीले बताएका छन्। कुमको हड्डी भाँचिएको र हात र खुट्टामा चोट लागेका शेर्पाको अवस्था भने सुधारोन्मुख रहेको जनाइएको छ।

मृतकको शव कानुनी प्रक्रिया पुरा गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरिएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीले सर्जमिन मुचुल्का गरेपछि प्रादेशिक अस्पताल विराटनगरमा पोष्टमार्टम गरी शव आफन्तको जिम्मा दिने प्रक्रिया अघि बढाइने छ। 

घट्नामा संलग्न मोटरसाइकल, बस र बस चालक काभ्रेपलान्चोक जिल्लाको बनेपा पनौति नगरपालिका ६ का २६ वर्षीय भुवन दाहाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाले बताएका छन्। 

प्रकाशित: ६ कार्तिक २०८१ १२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App