समाज

तरकारी खेतीमा रमाएका डिल्लीबहादुर

जुम्लाको तिला गाउँपालिका-६ रिपी गाउँका ३० वर्षका डिल्लीबहादुर रावतको दैनिकी तरकारी बेच्ने र स्याहारसुसारमै बित्ने गर्दछ। उनको आम्दानीको स्रोत नै खेतबारी हो।

डिल्लीका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न भारत तिर भौँतारिरहेका छन्। तर रावत भने गाउँमै तरकारी खेतीमा व्यस्त छन्। 

रावत तरकारी खेती छोडेर रोजगारी गर्ने सोच कहिल्यै नआएको बताउँछन्। उनी भन्छन्, 'मेरो जागिर भने पनि रोजगारी भने पनि यही तरकारी खेती हो। बिहानदेखि साँझसम्म यहीँ काम गर्छु। आफ्नो घरमा बसेर तरकारी खेती गर्दै आएको छु कुनै सिजनमा सोचेभन्दा राम्रो आम्दानी हुन्छ, कहिले अलि थोरै हुन्छ।' 

तरकारी खेतीबाटै जीवन निर्वाह गर्दै आएका उनले वार्षिक झन्डै ४ देखि ६ लाखसम्म कमाई गर्ने गरेका छन्। विगतमा उनले निर्वाहमुखी खेती मात्र गर्दै खाइरहेका थिए। त्यसलाई उनले व्यावसायिकता दिएको भने दुई वर्ष भयो।

उनले सदरमुकाम खलंगा (चन्दननाथ नगरपालिका-४ भारतीबाडामा) एनआर फलफूल तथा जडीबुटी नर्सरी उद्योग खोलेर व्यवसाय गरेका छन्।  १४ देखि १८ सय वर्ग मिटरको जग्गा लिजमा लिएका छन्। वार्षिक ३८ हजार भाडा तिर्छन्। बाह्रमासै उहाँको खेतबारी हराभरा देखिन्छ। उनले मौसमी र बेमौसमी तरकारी उत्पादन गर्छन्।

'परिवारसँगै हाँसी खेली काम गर्न पाइएको छ, परिवारमा दुःख पर्दा सहयोग हुन्छ', डिल्लीले भने, 'कोही बिरामी पर्दा विदेशबाट भनेकै बेला सहयोग गर्न घर आउँछु भन्न पाइँदैन, सबै परिवार घरमा हुँदा एक अर्काका लागि पनि निकै सहयोग पुगेको छ।'

अहिले उनको खेतबारीमा काँक्रा, गोलभेँडा, फर्सी, खुर्सानी काउली बन्दा, प्याज, धनीँया, साग, मुला गाजर लगायत तरकारी छन्। खुर्सानी, प्याज र टमाटर प्रति केजी १ सय रुपैयाँमा बिक्री हुन्छ भने फुल काउली, गाजर, बन्दा काउली र मुला प्रति केजी ८० रुपैयाँ र  बन्दा काउली प्रति केजी ५० रुपैयाँ बेच्छन्। यस्तै,भेन्टा,धनिया र साग प्रति मुठ्ठा १० रुपैयाँ बिक्री गरिरहेका छन्।

रोजगारीको खोजीमा युवा जनशक्ति विदेश पलायन बढ्दो छ। स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै विदेश पस्ने युवाका लागि रावत प्रेरणाको स्रोत बनेका छन्। उत्पादित कृषि उपज घरबाटै बिक्री हुने गरेको उनले सुनाए।

'मेहनत र काम गर्ने इच्छा शक्ति हुने हो भने पैसा कमाउन विदेश नै जानुपर्दैन। यहाँ पनि सम्भावना छन्। मेहनत गर्न सके बाँझो रहेको जग्गाबाटै लाखौँ आम्दानी गर्न सकिन्छ', डिल्लीले भने, 'धन आर्जनका लागि सरकारी जागिर खानैपर्छ वा विदेश पुग्नुपर्छ भन्ने सोच मसँग छैन।'

उनको परिवारका लागि मुख्य आयस्रोत भनेकै तरकारी खेती हो। 'विदेश बसेर भन्दा घरमा बसेर तरकारी खेती गर्दा आनन्द छ। परिवारसँग बस्न पाइएको छ, खान पाइएको छ, मेहनत गरे घरमै बसेर तरकारी खेतीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ', उनले भने, 'विदेशमा पसिना बगाएर कमाएको पैसा घर खर्च मै सकिने हुन्छ, तरकारी खेती गरेर वर्षमा लाख रुपियाँ बचत हुँदा किन विदेश गएर पैसा कमाउने सपना देख्ने रु विदेशमा पनि रुखमा पैसा फल्ने होइन, जहाँ गरेनि दुःख गर्नुपर्ने हो।'

उनको तरकारी खेती देखेर अहिले रिपी गाउँका अन्य किसान पनि व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन्। रोजगारीका लागि विदेश नै पुग्नुपर्छ भन्ने मानसिकता युवा पुस्ताले हटाउनुपर्ने उनी बताउँछन्।

यस्तै जुम्लाको चन्दननाथ नगरपालिका-६ छिना गाउँका चार जना युवाले पनि संयुक्त रूपमा तरकारी खेती गरिरहेका छन्। १२ रोपनी जग्गामा तरकारी खेती गरिएको  बसन्तनाथ योगीले बताए। कमल थापा,सुशील रावल, डम्बर थापा र बसन्तनाथ योगीले संयुक्त रूपमा गरेका हुन्। छिना कृषि उद्योग जुम्ला  खोलेका छन्।

प्रकाशित: १ कार्तिक २०८१ १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App