समाज

पोखरामा च्याङ्ग्रा अभाव, निरास उपभोक्ता रित्तै हात फर्किँदै

पोखरा–२७ भण्डारढीकका हेमराज आचार्य र उनका साथी दसैँको नवौं दिन अर्थात् महानवमीका दिन शुक्रवार च्याङ्ग्रा लिन पोखराको हरिचोक पुगे।

अघिल्ला वर्षहरुमा जस्तै यस वर्षपनि शुरुमा महँगो र नवमीदेखि सस्तो हुने आशामा उनीहरु च्याङ्ग्रा लिन महानवमीको दिन हरिचोक पुगे। तर, उनीहरुले त्यहाँ च्याङ्ग्रा देखेनन्। त्यसपछि च्याङ्ग्रा खोज्दै सिमपानी, याम्दी हुँदै हेमजा मिलन चोकसम्मै पुगे। तर, च्याङ्ग्रा कतै पाइन। च्याङ्ग्रा नभेटेपछि रित्तै फर्किँदै गरेका उनले भने, ‘घरमा च्याङ्ग्रा लिएर आउँछु भनेर आएँ, तर यहाँ त भेटिएन। यसपटक धोका खाइयो।’

पोखरा–२२ पुम्दीभुम्दीका भोजराज बरालपनि च्याङग्रा खोज्दै शुक्रवार च्याङ्ग्रा पाउने हरिचोक पुगे। तर त्यहाँ च्याङ्ग्रा नदेखेपछि उनीपनि भौतारिँदै हेमजा मिलन चोकसम्मै पुगे। तर उनले पनि च्याङ्ग्रा पाएनन् र निरास हुँदै रित्तै हात घर फर्किए।

च्याङ्ग्रा खोज्दै याम्दी पुगेका बेला भेटिएका उनले भने, ‘आज झन् सस्तो हुन्छ भनेर आएको च्याङ्ग्रा नै रहेनछ।’ उनले अघिल्लो वर्षजस्तै नवमीका दिन सस्तो हुन्छ भनेर आएको तर च्याङ्ग्रा नै नपाएर रित्तो हात फर्किनु परेको गुनासो गरे।

माथिका प्रतिनिधि पात्र मात्र हुन्। त्यसरी फर्किनेको संख्या ठूलो छ। हुनपनि अघिल्ला वर्षहरुमा पोखरामा बडादसैँको अघिल्लो दिन अर्थात् नवरात्रको नवमीका दिन च्याङ्ग्रा किन्नेको भिडभाड हुन्थ्यो। उक्त दिन पोखरा–१ हरिचोकदेखि पोखरा–२५ याम्दी हुँदै सापकोटा चोकसम्मै च्याङ्ग्रा किन्नेको भीड हुन्थ्यो।

नवमीभन्दा अगाडि च्याङ्ग्रा महँगो हुने भएकाले उपभोक्ताहरु च्याङ्ग्रा सस्तो हुने आशामा नवमीसम्म कुर्थे।

महँगो भन्दै च्याङ्ग्रा नकिनी उपभोक्ताहरु फर्किएपछि ग्राहकको पर्खाईमा नवमीसम्मै बस्थे। अष्टमीसम्म नबिकेपछि बिक्रेताहरुलेपनि नवमीका दिन च्याङ्ग्राको मूल्य ह्वात्तै घटाउँथे। च्याङ्ग्राको मूल्य घटेको हल्ला चलेपछि उपभोक्ताहरु लाम लागेर च्याङ्ग्रा खरिद गर्न पुग्थे। तर, यसपटक भने अघिल्ला वर्षहरुमा भन्दा ठ्याक्कै उल्टो भएको छ।

शुरुदेखि नै च्याङ्ग्रा बिक्री हुँदा नवमीका दिन पोखरामा च्याङ्ग्रा सकिएको छ। च्याङ्ग्राको अभावमा नवमीका दिन सस्तो हुने आशामा च्याङ्ग्रा खरिद पुगेका उपभोक्ताहरु च्याङ्ग्रा नपाएपछि हिस्सिएर निरास हुँदै फर्किनुपरेको छ। त्यतिमात्र होईन मूल्यपनि अघिल्ला वर्षहरुमा भन्दा यस पटक अष्टमी र नवमीका दिन बढेको छ।

अघिल्ला वर्षहरुमा शुरुमा महँगो र नवमीदेखि सस्तो हुनेगरेको च्याङ्ग्राको मूल्य यसपटक शुरुमा सस्तो र अष्टमीदेखि महँगो भएको छ।

हरिचोक प्रहरी विटका हवल्दार राजु बुढाथोकीले यस वर्ष अष्टमीदेखि नै च्याङ्ग्रा सकिएको बताए। अष्टमी बेलुकासम्म च्याङ्ग्रा लगभग सकिएको थियो,उनले भने, ‘आज नवमीका दिन विहान त्यस्तै २०–२५ वटामात्र थियो। त्योपनि एकाविहानै ग्राहकको भीड लाग्दा सकियो।’ च्याङ्ग्राको मूल्यपनि सप्तमीपछि बढेको उनको भनाइ छ।

‘अष्टमी बिहानसम्म २५–३० हजारमा बिक्री हुँदै थियो’, उनले थपे,‘तर नवमी विहानसम्म आईपुग्दा ३५–४० हजारमा बिक्री भयो।’ यसपटक सस्तो भएकाले चाँडै सकिएको उनले बताए।

पोखरामा यसपटक करीब ९ हजार च्याङ्ग्रा भित्रिएको थियो। कर नतिरी लुकीछिपी गरेर थप ३ हजार च्याङ्ग्रा गरेर कुल १२ हजार च्याङ्ग्रा भित्रिएको अनुमान गरिन्छ।

प्रकाशित: २५ आश्विन २०८१ १४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App