झिल्टुङ नेपाल समाजले ‘नेपाल’ बन्धु स्थानीय समाजसेवी र जनप्रतिनिधिलाई सम्मान गरेको छ।
नुवाकोटको बेलकोटगढीमा समाजको साधारणसभाका अवसरमा समाजसेवी मोहन नेपाल तथा बेलकोटगढी –७ का वडाध्यक्ष भुवनेश्वर नेपाल, विदुर –७ का वडाध्यक्ष रवीन्द्र नेपाल र विदुर –१० का वडाध्यक्ष गणेश नेपाल एवं बेलकोटगढी–५ का वडा सदस्य गोकर्ण नेपाल र विदुर–१२ का वडा सदस्य निर्मला रिमाल नेपाललाई सोमबार सम्मान गरेको हो।
त्यस अवसरमा वरिष्ठ पत्रकार किशोर नेपालले स्थानीय तहलाई बलियो नबनाएसम्म सङ्घीय गणतन्त्र सुदृढ नहुने जनाउँदै केन्द्रले पालिकाहरूलाई आफ्नो कब्जामा लिने रणनीति संविधानमै राखेको भनी असन्तुष्टि जनाए । उनले भने, “संसारमा कहीँ पनि केन्द्रका आदेशमा स्थानीय तहले काम गर्दैन र केन्द्रले पालिकालाई नियन्त्रण गर्न पनि सक्दैन।
स्थानीय तहलाई बलियो बनाउन जनप्रतिनिधिहरूले एक भएर आवाज उठाउन सक्नुपर्छ। ” बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले पालिकाका हरेक वडामा विकासका काम गर्न बजेटमा पूर्ण अधिकार नहुँदा समस्या भएको औँल्याए।
नुवाकोटको झिल्टुङमा जन्मेर सोही स्थानमा हुर्किएका तर कालान्तरमा छरिएर रहेका नेपाल बन्धुहरूलाई एकीकृत गरी समुदायका सबै वर्ग र क्षेत्रको विकासमा एकजुट हुने उद्देश्यले पाँच वर्षअघि समाज गठन गरिएको समाजका अध्यक्ष नारायणप्रसाद नेपालले बताए।
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित ‘कुञ्जिनी’ खण्डकाव्य र ‘लक्ष्मी निबन्धसङ्ग्रह’ मा सङ्गृहीत ‘पहाडी जीवन’ निबन्धको भावभूमि झिल्टुङ नै थियो जहाँ उनले आफ्नो मामाससुरालमा केही समय बिताएका थिए। हाल सोही स्थानमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा र स्थानीय उपभोक्ता समितिका पहलमा ‘कुञ्जिनी उद्यान’ निर्माणाधीन छ।
प्रकाशित: २२ आश्विन २०८१ १३:०७ मंगलबार