समाज

मेडिकल व्यवसायी प्रसाईंका ८ समर्थकलाई प्रहरीले कर्तव्य ज्यानमा मुद्दा चलाउने

झापामा भारतीय ट्रकमा आगजनी गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका ८ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यानमा मुद्दा चलाउने भएको छ। 

आगजनीबाट गम्भिर घाइते भएका एक चालकको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले घटनामा संलग्न उनीहरुलाई कर्तव्य ज्यान मुद्दा चलाउने भएको हो । प्रसाईं पक्राउ परेको विरोधमा आन्दोलनमा उत्रिएका उनीहरुले गत असोज ६ गते चालकलाई भित्रै राखेर ट्रकमा आगजनी गरेका थिए। 

पक्राउ परेका सबै प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति, नागरिक बचाउ महाअभियान’का कार्यकर्ता रहेको झापा प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार झापाको हल्दीबारी–१ का ४० वर्षीय भीम तुम्बापो लिम्बु, हल्दिबारी–१, का २४ वर्षीय विवश लिम्बु, हल्दिबारी १ कै ५१ वर्षीय विरबहादुर गुरुङ, विर्तामोड ७ का ३३ वर्षीय सुरेश चौधरी, विर्तामोड ३ का ३५ वर्षीय उदय लिम्बु, बुद्धशान्ति गाउँपालिका ४ का बलिहाङ माबो लिम्बु, मेचीनगर नगरपालिका–६ का ३४ वर्षीय राजेश महत र अर्जुनधारा नगरपालिका– ९ का ३८ वर्षीय रुद्र भुजेललाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ। 

उनीहरुले असोज ६ गते राति भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेका थिए।  

आगजनीबाट गम्भीर घाइते भएका चालक पोदो रायको भारतको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने अर्का चालक कुमार महतोले भने भागेर ज्यान जोगाएका थिए ।  

 

प्रकाशित: २२ आश्विन २०८१ ०९:२२ मंगलबार

#crime #nepalpolice