समाज

पहिरोले बैतडीमा ९ परिवार विस्थापित

बुधवार रातिदेखि शुक्रबार सम्म परेको अविरल बर्षाका कारण खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका-८ ढोलेमा ९ परिवार विस्थापित भएका छन्।

पहिरोले घर नै बगाउने जोखिम बढेपछि ९ परिवारलाई सुरक्षित स्थानमा सारिएको सुर्नया गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष भानबहादुर बोहराले बताए।

ढोलेको रातापानी टोलका ५ परिवार, मल्लो ढोलेका ३ परिवार र तल्लो ढोलेका एक परिवार गरेर ९ परिवार पहिरोका कारण विस्थापित भएका वडा अध्यक्ष बोहराले बताए। उनीहरु अहिले आफन्तको घरमा बसिरहेका छन्।

पहिरोका कारण रातापानी टोलमा उद्धव बोहरा, धनुवा बोहरा,रामसिंह बोहरा, गम्भीरसिंह बोहरा र कृष्ण बोहराको परिवार विस्थापित भएको छ।

यस्तै मल्लो ढोलेमा लाल लुहार, परमल लुहार र जहरे बोहराको परिवार विस्थापित भएको छ। यस्तै तल्लो ढोलेमा माने लुहारको परिवार पहिरोले विस्थापित भएको छ।

बर्षा रोकिएपनि पहिरो खस्ने क्रम नरोकिएको वडा अध्यक्ष बोहराले बताए। पहिरो प्रभावित क्षेत्रमा विस्थापित परिवारको व्यवस्थापनका लागि आफू खटिएको बताउँदै वडा अध्यक्ष बोहराले पालिकाबाट तत्काल त्रिपाल र खानेपानीको पाइप मगाएको बताए।

पहिरोले स्थानीयहरु खेतबारी बगाएको छ भने कठमडाका इन्द्र साउँद र तल्लो ढोलेका हरिबहादुर बोहराको घर पहिरोको जोखिममा परेको छ।

मल्लो ढोलेमा सडक भासिएर पहिरो खसेको बताइएको छ भने रातापानी टोलमा खेतबारी नै पहिरोले लगेको वडा अध्यक्ष बोहराले बताए।

प्रकाशित: ३० भाद्र २०८१ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App