विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने कोशी राजमार्गको सडक खण्डमा सिटी सफारी चलाउन रोक लगाएपछि शुक्रबार चालकहरूले विरोध प्रदर्शन गरेका छन्। उनीहरुले सिटी सफारी मुख्य राजमार्ग चलाउन पाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन्।
सिटी सफारी चालकले मुख्य राजमार्गमा निःशर्त सिटी चलाउन पाउनुपर्ने माग राख्दै विराटनगर महानगरपालिकाको कार्यालय अगाडि र मुख्य राजमार्गअन्तर्गत बरगाछी चोकमा एक–एक घण्टा चक्का गरेर प्रदर्शन गरेका थिए।
उनीहरुले सुरुवात महानगरपालिका अगाडि सडक अवरुद्ध पार्दै महानगरविरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले आफैले लगानी गरेर गरी खाने बाटो बनाएको सिटी सफारीलाई ट्राफिक प्रहरी र नगर प्रहरी (नगरपालिकाको प्रहरी) मुख्य राजमार्गमा चलाउन रोक लगाउँदा दुःख पाएकोले सहजै रुपमा चलाउन पाउनुपर्ने माग राखेको बताएका छन्।
महानगरको गेटअगाडि सफारी तेर्स्याएर प्रदर्शन गरिएको सफारी चालक अनिल रायले बताए। विराटनगरका मुख्य राजमार्गमा सफारी सञ्चालनमा रोक लगाएपछि चालकहरू आन्दोलित भएको जानकारी उनले दिए। विराटनगर महानगरपालिका एवं कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वयमा ट्राफिक प्रहरीले रानी नाकादेखि विराटनगरको ढाटसम्मको राजमार्गमा सफारी सञ्चालन गर्न बिहीबारदेखि रोक लगाएको छ।
त्यसको विरोधमा सफारी चालक आन्दोलित भएका हुन्। उनीहरुले राजमार्गमा सफारी गुड्न पाउनुपर्ने माग राखेका छन्। सडकमा गुड्न प्रतिबन्ध लगाउनुभन्दा पनि व्यवस्थित बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनीहरुले बताए।
आन्दोलनरत सफारी चालकले विराटनगरका मेयर नागेश कोइराला र प्रदेश सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका थिए। उनीहरुले ऋण गरेर किनेको सफारीलाई सडकमा गुड्न प्रतिबन्ध लगाएर गरिबमारा नीति लिएको निर्णय तत्काल नसच्याए आन्दोलन थप गर्ने चालकहरूले बताएका छन्।
सफारी चालकले राजमार्ग नै अवरुद्ध पारेर आन्दोलन गरेपछि मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेमप्रसाद भट्टराईले सफारी चालकहरूलाई शनिबार वार्ताका लागि आउन आग्रह गरेका छन्। सिडिओले वार्तामा बोलाएपछि तत्कालका लागि सफारी चालकले आन्दोलन फिर्ता लिएसँगै राजमार्गमा नियमित रूपमा सुचारु भएको हो।
ट्राफिक प्रहरीका अनुसार विराटनगर महानगरपालिकाभित्र ८ हजारभन्दा बढी सिटी सफारी गुड्ने गरेका छन्। धेरै संख्यामा रहेका सफारीका कारण सवारी आवागमन अस्तव्यस्त बन्दै गएको छ। जथाभाबी सफारी सञ्चालन गरिँदा र सफारीले नियम नमान्दा दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ। विराटनगर महानगरपालिकामा करिब २ हजारको संख्यामा मात्रै सफारी दर्ता रहेको छ।
सिटी सफारी सञ्चालनमा विशेष योजनासहित नयाँ नियम लागू गरेको बताउँदै, मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले भने, ‘महानगरभित्र कोशी राजमार्गमा सफारी सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको हो। सिटी चालकहरूलाई यसअघि नै सूचना जारी गरेर रोक लगाएका हौँ। सडक साँघुरो अनि दैनिक रुपमा सफारीको संख्या बढेका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ।’
प्रकाशित: १४ भाद्र २०८१ १६:४८ शुक्रबार