समाज

विराटनगरको सुधारगृहबाट दुईजना बालक फरार

विराटनगरको बाल सुधारगृहबाट दुई जना बालक फरार भएका छन्। सुनसरी घर भएका बालकहरु मंगलबार सुधारगृहबाट फरार भएका हुन्।

कानुनको विवादमा परेका उनीहरुलाई अदालतको फैसला र आदेश अनुसार विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा राखिएको थियो। 

सुधारगृहबाट दुवै जना मंगलबार दिउँसो ३ बजेतिर फरार भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार फरार हुनेमा एक जना कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर भएका र अर्का जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा पठाइएका बालक हुन्। 

सुनसरीको कोशी गाउँपालिका–२ र बराहक्षेत्र नगरपालिका–११ घर भएका बालक फरार भएको सुधारगृहका प्रमुख मिलन चौहानले बताए। 

उनका अनुसार कोशी–२ घर भएका बालकलाई अदालतले कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर गरेको थियो। 

अदालतले २०७९ माघ १६ गते पुर्पक्षका लागि बालसुधार गृहमा पठाएको थियो। ती बालकको मुद्दाको किनारा लगाउँदा १२ वर्ष ६ महिना कैद सजाय हुने फैसला भएको प्रमुख चौहानले बताए।

त्यस्तै, अदालतले बराहक्षेत्र–११ घर भएका बालकलाई जबरजस्ती करणी मुद्दामा गत असार २८ गते पुर्पक्षका लागि सुधारगृह पठाएको थियो।

अदालतमा विचाराधीन रहेकै अवस्थामा उनी भागेका हुन्। प्रमुख चौहानका अनुसार सुधारगृहभित्र रहेको विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला पर्खाल नाघेर दुवै जना भागेका हुन्। 

सुधारगृहभित्र रहेको दीपज्योति माध्यमिक विद्यालयमा बालकहरु पढ्छन्। त्यहाँ प्रत्येक मंगलबार मनोरञ्जनसहितको अतिरिक्त क्रियाकलाप हुन्छ। प्रत्येक मंगलबार ‘बुक फ्री डे’ हो।  

सुधारगृहभित्र रहेकाले कार्यक्रममा आआफ्ना प्रतिभाहरु देखाउँछन्। मनोरञ्जनात्मक कार्यक्रम चलिरहेका बेला दुई जना सुधारगृहको पर्खाल नाघेर भागेको पाइयो। प्रहरीसँग समन्वय गरेर खोजी भइरहेको प्रमुख चौहानले बताए।

सुधारगृहको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक (असई) टेकमणि खड्काको नेतृत्वमा १३ जना प्रहरी छन्। सबैतिर समन्वय गरेर फरार बालकको खोजी कार्य भइरहेको डिएसपी बस्नेतले बताए।

सुधारगृहमा क्षमताभन्दा बढी बालक राख्दा कष्टपूर्ण तरिकाले बस्नु परेको छ । सहज रुपमा सुत्ने व्यवस्था छैन। त्यहाँ राखिएकालाई खान, बस्न र सुत्न समस्या छ। 

चौहानका अनुसार ५० जनाको क्षमता रहेको सुधारगृहमा २ सय ३८ जनालाई राखिएको छ।

प्रकाशित: ५ भाद्र २०८१ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App