समाज

हाईकिङसँगै चुरे पहाडमा सन्तानेश्वरको दर्शन

नेपालगञ्जदेखी पुर्वमा हुलाकी सडक हुँदै करिव २५ किलोमिटर यात्रा पार गरेपछि बाँकेको नरैनापुर आउँछ। सडकको यात्रापछि त्यहाँबाट करिव ६ किलोमिटर उत्तरतर्फ जंगलको कच्ची बाटोमा मोटरसाइकल यात्रा गर्नुपर्छ। त्यसपछि करिव दुई किलोमिटर पैदलमा उकालो (पहाड) चढेपछि सन्तानेश्वर महादेव मन्दिरमा पुग्न सकिन्छ। चुरे पहाडको चुचुरोमा रहेको मन्दिर दर्शनसँगै प्राकृतिक मनोरमको दृश्यले यहाँ जो कोहीको मनलाई आनन्दित बनाउँछ। चुरे पहाडमा हाईकिङसँगै मन्दिरमा पुजाआजा गर्नेको यहाँ बाह्रै महिना घुईचो लाग्ने गर्छ। विशेषगरी हरेक वर्ष साउन महिनामा अझ धेरै दर्शनार्थीहरु आउने गर्छन्।

ब्रतालु महिलाहरु आएर शिव भगवानको पुजा र भाकल गर्छन्। नेपालसहित भारतका विभिन्न स्थानबाट चुरे हाईकिङसँगै मन्दिर दर्शन गर्नेहरु यहाँ आउँछन्। पछिल्लो समयमा यो ठाउँ निकै चर्चामा रहेको छ। मन्दिरमा वर्षेनी धार्मिक पर्यटकको चहलपहल बढ्दै गएको छ। शहरको ‘कोलाहल’ वातावरण भन्दा शान्त ठाउँ मन पराउनेहरुका लागि यो उपयुक्त स्थान मानिएको छ। त्यसैले यहाँ अन्य दिनको तुलनामा सार्वजनिक बिदाको दिन बढी भिडभाड हुन्छ। समय मिलाएर यहाँ नेपाल र भारतका विशिष्ट व्यक्तिहरु समेत पुग्ने गर्छन्।

छाटो समयमै मानिसको आर्कषण बढेकाले यहाँ धार्मिक पर्यटन विकासको प्रचुर सम्भावना रहेको देखिन्छ। मन्दिरको संरक्षण बाबा योगानन्द गिरीले गरिरहेका छन्। मन्दिर नजिकै उनको आश्रम रहेको छ। आवश्यक पुर्वाधार नबन्दा आश्रमको अवस्था दयनीय देखिन्छ। पुर्वाधार विकासका हिसाबले पछाडी परेपनि मन्दिरको महत्वका कारण यहाँ उल्लेख्य मात्रामा दर्शनार्थी आउने गरेको संरक्षक गिरी बताउँछन्। उनका अनुसार सन्तानेश्वर महादेव मन्दिरको महत्व बेग्लै रहेको छ। यहाँ सन्तान नभएकाहरुले भाकल गरी स्वच्छ मनले पूजा अर्चना गरे सन्तान लाभ हुने धार्मिक विश्वास रहेको छ। 

सन्तानेश्वरमा ‘ओम आकार’ पहाडको चुचुरोमुनिबाट गंगा, जमुना र सरस्वती प्रवाहित भएको हुँदा विशेष महत्व र पुण्य भुमी रहेको गिरी बताउँछन्। ‘गंगा, जमुना र सरस्वती सन्तानेश्वरको पहाडको तलबाट तीन वटा गंगा प्रवाहित भएका छन्,’ गिरीले भने ‘पुर्व एक, पश्चिम एक र दक्षिण एक। यहाँ तीन वटै चिज प्रवाहित भएको हुनाले यो विशेष महत्वपूर्ण र पुण्य भूमी छ।’

धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गएको यस क्षेत्रमा मन्दिरसम्म सडकको सुविधा, बिजुली, खानेपानी र भक्तजनहरुलाई एक रातसम्म बसाल्न मिल्ने विश्रामस्थल लगायतका पुर्वाधार आवश्यक रहेको उनी बताउँछन्। चुरे हाईकिङसँगै मन्दिर दर्शन गर्न पाउँदा यहाँ पुग्ने दर्शनार्थीहरु दंग पर्छन्। ‘हाईकिङसँगै पहाडको चुचुरोमा रहेको मन्दिर दर्शन गर्नका लागि यो ठाउँ एकदमै पवित्र छ,’ नेपालगञ्जबाट पुगेका दर्शनार्थी यमबहादुर खड्काले भने ‘पहाडको फेदसम्म पुग्नलाई बाटोको राम्रो सुविधा भयो भने माथी चुचुरोसम्म पैदल हिडेर जानलाई समस्या हुदैन।’

सन्तानेश्वर महादेव मन्दिर अवस्थित क्षेत्र निकै रमणीय रहेको उनी बताउँछन्। मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि आवश्यक पुर्वाधार निर्माण गर्न आवश्यक रहेको यहाँ पुग्ने दर्शनार्थी बताउँछन्। ‘यो मन्दिर र धर्मशालालाई व्यवस्थित गर्नुपर्ने देखिन्छ, बाहिरबाट आउने भक्तजनलाई बस्न र खाने सुविधाका लागि आवश्यक संरचना बनाइयो भने कम्तिमा पनि एक रात बसेर धार्मिक कार्य गर्ने दर्शनार्थीको बढी चहल पहल हुन्थ्यो,’ बर्दियाबाट आएका दर्शनार्थी मानबहादुर केसीले भने।

चुरे पहाडको चुचुरोसम्म पैदल हिडेर मन्दिर दर्शन गर्दा बेग्लै खालको आनन्द मिलेको उनी सुनाउँछन्। स्थानीय, प्रदेश र संघीय सरकारले सन्तानेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटनका रुपमा विकास गर्न आवश्यक रहेको यहाँ पुग्ने दर्शनार्थीहरुको सुझाव छ। मन्दिरको विकासका लागि स्थानीय सरकारले केही प्रयास गरेपनि पर्याप्त छैन। 

नरैनापुर गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्य स्थानीय सरकारको एक्लो प्रयासले मात्र सन्तानेश्वर महादेव मन्दिरको समग्र विकास गर्न सम्भव नरहेको बताउँछन्। ‘हामीसँग भएको बजेटबाट मन्दिरको विकास गर्न असम्भव नै छ, यसका लागि प्रदेश र संघिय सरकारले ठुलो बजेट विनियोजन गर्न जरुरी छ।’ मन्दिर क्षेत्रमा धेरै पुर्वाधार निर्माण गर्न आवश्यक देखिएको वडाअध्यक्ष मौर्यले सुनाए।  

योगानन्द गिरी

संरक्षक, सन्तानेश्वर महादेव मन्दिर

मेरो जन्म गोरखामा भएको हो। विगत चार वर्षदेखी म यहाँ सन्तानेश्वरको सेवामा उपस्थित छु । २०७० सालमा सन्तानेश्वरको मन्दिर बनेको हो। म पहिला भारतमा बस्थ्ये। यो मन्दिरको प्राण प्रतिष्ठा मेरो हातले गरेको हुनाले यहाँ भगवानको आरती चलाउने मान्छे नभएपछि ‘भोलेनाथ’ले मलाई सपना दिनुभयो र म यहाँ आएको हुँ।

भोलेनाथको सेवामा म यहाँ बसेको छु। भारतमा मैले चलाएको आश्रम अर्कैलाई जिम्मा लगाएर म यहाँ बसेको छु । यो ठाउँमा द्धापर युगमा यज्ञ भएको रहेछ। त्यसमा एउटा बनिरहेको बेदी बनेको थियो। त्यही बेदीमाथी ‘बेदिया’ पहाड भन्ने यसको नाम थियो। पछि १९३५ मा नरैनापुर, मटेहियाका एक जना स्थानीय दयाराम यादव आफ्नो बुवासँग खर काट्न आउँदा खेरी यहाँ बेदी देखेर भगवान यहाँ छन् भन्ने विश्वास गरेर उनले आफ्नो मनोकामना व्यक्त गरे। उनको त्यो मनोकामना पुरा भएपछि उनले यहाँ साधुहरुलाई बोलाएर भण्डारा खुवाए। ब्राम्हणलाई बोलाएर होम गरेर मन्दिरको पताका गाडेको हुनाले अहिले पनि यहाँ हरेक वर्ष यादव परिवारको तर्फको भण्डारा हुने गर्छ।

द्धापरमा पहिले यहाँ यज्ञ भएको रहेछ। त्यही भएर यो भूमी पवित्र भयो। अर्को कुरा ओम आकारको पहाड भएको हुनाले मैले यसलाई ‘प्रणो क्षेत्र’ भनेर नाम राखेको छु। राप्ती अर्ध चन्द्रको रुपमा र सन्तानेश्वर विन्दुको रुपमा भएको हुनाले प्राकृतिक छटा पनि यहाँ ८० प्रतिशत सम्म अक्सिजन पाइने भएको हुनाले महत्व छ।

यहाँ आउनलाई भरपर्दो यातायात सुविधा छैन। बाटो राम्रो छैन। बिजुली बत्ती छैन। खानेपानी त सबभन्दा जटिल समस्या छ। यि तीन चिजलाई ध्यान दिएर नेपाल सरकारले ब्यवस्था गरिदिन जरुरी छ। यसलाई स्थानीय स्तरबाट धार्मिक पर्यटन क्षेत्र, धार्मिक पर्यटक वन भनेर नामाकरण त गरिएको छ, तर कार्यान्वयन भएको छैन।

सबैतिरबाट पहल भईदियो भने यहाँ धार्मिक पर्यटन विकासको राम्रो सम्भावना छ । कुनै पनि तिर्थस्थलमा तिर्थालु गएपछि एक रात बस्नुपर्ने हुन्छ। तर, यहाँ हामीले चाहेर पनि एकै पटक धेरै संख्यामा तिर्थालुहरुलाई बास बसाल्न सक्ने अवस्था छैन । बस्ने ठाउँ छैन । तरपनि मैले जति गर्न सक्छु, भक्तजनको सेवामा ब्यस्त नै रहन्छु। 

प्रकाशित: १ भाद्र २०८१ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App