प्लास्टिकका अत्यन्त ससाना कण अर्थात् माइक्रोप्लास्टिक पहिलोपटक मानिसको जनेन्द्रियको तन्तुमा देखिएको छ। पृथ्वीको धु्रवीय क्षेत्रदेखि समुद्रको गहिराइमा समेत दीर्घकालीन वातावरणीय प्रदूषणका लागि जिम्मेवार मानिने यी विषाक्त कणहरूले मानिसको लिंगको उत्तेजनात्मक क्षमतादेखि यौन स्वास्थ्यलाई समेत गम्भीर असर गर्ने वैज्ञानिक तर्क छ।
नपुंसकतासम्बन्धी अन्तर्राष्ट्रिय जर्नल (आइजेआइआर) मा गत साता प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार उत्तेजनाको बेला लिंगमा अत्यधिक रक्त प्रवाह हुने भएकाले यो प्रदूषणले लिंगलाई उच्च जोखिममा पार्ने देखिएको छ। यसअघिका अध्ययनले मानिसको वीर्य र अण्डकोषमा माइक्रोप्लास्टिकको उपस्थिति रहेको देखाएका थिए। मानिसमा शुक्राणुको संख्या लगातार घट्नुमा यो पनि एक कारण हुन सक्ने वैज्ञानिक तर्क छ। यसैगरी रगत प्रवाह गर्ने नली धमनीमा हुने माइक्रोप्लास्टिक प्रदूषणले मस्तिष्कघात (स्ट्रोक) र हृदयाघातको जोखिम बढाउने मानिएको छ।
वैज्ञानिकका अनुसार मानिसको प्रतिरक्षात्मक क्षमतालाई नकारात्मक प्रभाव पार्नेदेखि विभिन्न खाले क्यान्सरको संक्रमणका लागि माइक्रोप्लास्टिक जिम्मेवार मानिन्छ। १९ वैज्ञानिक संलग्न रहेको यो अध्ययनले मानवजन्य प्रदूषणले पुरुषको प्रजनन क्षमतालाई कसरी प्रभाव पार्छ भन्ने विषयमा नयाँ आयाम थपेको मानिएको छ। उत्तेजनात्मक समस्याका लागि लिंगको तन्तुमा रहेका यी माइक्रोप्लास्टिकको कति भूमिका छ भन्नेमा यसअघि यथेष्ट प्रमाणहरूको अभाव रहेको परिपे्रक्ष्यमा यो अध्ययनले बहुमूल्य अन्तर्दृष्टि दिएको शोधकर्ताको दाबी छ।
‘हामीलाई जानकारी भएसम्म पहिलोपटक गरिएको यो अध्ययनले लिंगका तन्तुमा माइक्रोप्लास्टिकको उपस्थिति देखिएको छ,’ शोधकर्ताहरूले उक्त प्रतिवेदनमा भनेका छन्। अमेरिकाको युनिभर्सिटी अफ मियामीको नेतृत्वमा गरिएको उक्त अध्ययनका क्रममा उत्तेजनात्मक क्षमतामा समस्या भएका पाँचजना रोगीको सर्जरीको बेला लिंगका तन्तुहरू (टिस्यु) निकालेर अध्ययन गरिएको थियो। अध्ययनका क्रममा संकलित ती तन्तुमा पोलिइथाइलेन टेरेफ्थालेट (पिइटी), पोलिप्रोपाइलेनलगायत सातथरी माइक्रोप्लास्टिक भेटिएका थिए। हलुका पेय पदार्थ (सफ्ट ड्रिंक्स) र जुसको प्याकेजमा प्रयोग गरिने प्लास्टिक, प्लास्टिकको बोतलमा पिइटी र पोलिप्रोपाइलेन प्रयोग गरिन्छ।
आकारका हिसाबले अध्ययनको दायरा सानो भए पनि माइक्रोप्लास्टिक प्रदूषणले प्रजनन स्वास्थ्यमा पार्न सक्ने प्रभावका हिसाबले यो अध्ययन महत्त्वपूर्ण रहेको अनुसन्धानकर्ताको दाबी छ। विशेषगरी उत्तेजनाको बखत विस्तारित हुने रक्तवाहिका नलीले परिसंरचण (सर्कुलेटिङ) गरिरहेका माइक्रोप्लास्टिकलाई लिंगका तन्तुसँग अन्तक्र्रिया गर्न र यी तन्तुमा जम्मा हुन सहज वातावरण बनाउने वैज्ञानिक तर्क छ।
माइक्रोप्लास्टिकका स्रोत अनेक छन्। दैनिक प्रयोगमा आउने प्लास्टिक, समुद्री माछा, सडकमा निस्किने टायरको धुलो, रङरोगन, बोतलबन्द पेय पदार्थ, जुस तथा अन्य सौन्दर्य प्रसाधन सामग्री, फेसवास, नङ पालिस, टुथपेस्टलगायत अन्य वस्तुहरू माइक्रोप्लास्टिकका स्रोत हुन्। ५ मिलिमिटरभन्दा कम व्यासका यी कणहरू पृथ्वीको विविध पारिस्थितिकीय प्रणालीमा फैलिएको हुँदा यसले समग्र पर्यावरण र मानव स्वास्थ्यमा गम्भीर असर पारेको वैज्ञानिक मत छ।
जैविक तथा रासायनिक प्रक्रिया (बायोकेमिकल प्रोसेस) मार्फत यस्ता प्लास्टिक ससाना टुक्रामा टुक्रिएपछि खाद्य शृंखला (फुड चेन) मार्फत प्राणीजगतमा पुग्ने गरेको वैज्ञानिक आकलन छ। विशेषगरी हावा, पानी र अन्य खाद्यवस्तुमार्फत मानिसले माइक्रोप्लास्टिक निल्छन्। कतिपय अध्ययनले मानिसको पाचन प्रक्रियाले यस्ता कणलाई शरीरबाट बाहिर निष्कासन गर्न नसक्दा यी विषाक्त कणहरू रगत र जीवकोषभित्र छिर्ने देखाएका छन्।
अध्ययनका प्रमुख लेखकसमेत रहेका अनुसन्धानकर्ता रन्जित रामास्वामीले लिंग पनि मुटुजस्तै धेरै नसा भएको अंग भएकाले यो अंगमा माइक्रोप्लास्टिक पाउनु आश्चर्यजनक नभएको बताउँछन्। ‘यो नतिजाले उत्तेजनात्मक क्षमता र पुरुष यौन स्वास्थ्यमा पार्ने प्रभावका विषयमा थप अध्ययन गर्न आवश्यक देखाएको छ,’ रामास्वामीले सिएनएनलाई भनेका छन्।
प्रकाशित: १० असार २०८१ ०६:४४ सोमबार