छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्न सक्ने बताइएको छ। चाइना मिडिया गुप्रको आयोजना तथा नेपाल–चीन युवामैत्री संघको सहआयोजनामा बुधबार यहाँ आयोजित ‘चीनको आर्थिक विकास र छिमेकी देशका लागि नयाँ अवसर’ विषयक अन्तक्र्रियामा वक्ताहरूले चीनको आर्थिक विकासले अन्य छिमेकी मुलुकलाई फाइदा पुग्ने बताएका हुन्।
कार्यक्रममा चीनका लागि नेपाली पूर्वराजदूत लीलामणि पौड्यालले चीनले लिएको आर्थिक नीतिले विश्वलाई नै प्रभाव पार्ने बताए। चीनमा स्थिरता र आर्थिक विकास हुँदा नेपाललाई फाइदा पुग्ने उनको भनाइ थियो।
‘सन् २००८ मा विश्वमा आएको आर्थिक मन्दीका बेलामा चीनले लिएको आर्थिक नीतिले विश्व अर्थतन्त्रमा केही सहयोग पुगेको थियो। नेपाल छिमेकी मुलुक भएको कारण चीनको नीतिले नेपाललाई प्रभाव पर्दैन भन्न मिल्दैन’, उनले भने।
कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले छोटो समयमा चीनले आर्थिक विकासमा ठूलो फट्को मारेको बताए। उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपालको विकासमा केही आशा जागेको उल्लेख गरे।
नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधि वाङ सीनले तीव्र औद्योगीकरणको विकास र अनुसन्धानका कारण चीनको अर्थतन्त्रले फट्को मार्न सफल भएको बताए। उनले सन् २०२३ मा चीनले विश्व अर्थतन्त्रमा ४२ प्रतिशत योगदान गरेको दाबीसमेत गरे।
निर्यात व्यवसायी महासंघका अध्यक्ष शंकर पाण्डे, नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाह, वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकार, नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली, चीन अध्ययन केन्द्रका सचिव प्रकाशबाबु पौडेललगायतले नेपाल र चीनबीचको सम्बन्ध जुन हिसाबले विकसित हुनुपर्ने हो त्यो हुन नसकेको बताएका थिए।
उनीहरूले दुई देशबीच भाषाको समस्या, चीनमा व्यापारको समयमा लेनदेनको समस्या, सामान पठाउनका लागि बोर्डरमा प्रयोगशाला नहुँदा नेपाली व्यवसायीले ठूलो समस्या झेल्नुपरेको बताएका थिए।
चाइना मिडिया गुप्र, दक्षिण एसिया ब्युरोका प्रमुख चाङ युए वर्षा, नेपाल–चीन युवामैत्री संघका अध्यक्ष विष्णु सापकोटाले नेपाल–चीन सम्बन्धबारे जनतामाझ रहेको भ्रम चिर्दै नेपालको विकासमा लाग्नुपर्नेमा जोड दिए। –रासस
प्रकाशित: २४ फाल्गुन २०८० ०९:४७ बिहीबार