समाज

सम्पर्कविहीन भएको १४ दिनपछि गुल्मीमा युवाको शव फेला

गुल्मीमा सम्पर्कविहीन भएको १४ दिनपछि एक युवा मृत फेला परेका छन्।

जिल्लाको इस्मा गाउँपालिका ६ अम्मरपुरका टीकाबहादुर कुमालको मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। २१ वर्षीय कुमाल गत माघ २५ गतेदेखि सम्पर्कविहीन थिए। उनको बुधवार बिहान शव भेटिएको हो।

लामो समय सम्पर्कविहीन भएपछि घर परिवारले फागुन १ खोजतलास गरिदिन आग्रह गर्दै धनार्जी प्रहरी चौकीमा उजुरी दिएका थिए। उनको शव इस्मा गाउँपालिकाकै बुल्म भिरको थाप्लोमा रुखमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए।

स्थानीयले उनको शव भिरमा अड्किएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। कुमालको शव सडकदेखि  १ सय ५० मिटर तल भिरमा फेला परेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०८० २०:०३ बुधबार